छत्रेश्वरीमा विमानस्थल निर्माण : पुर्वसम्भाव्यता अध्ययनमै सीमित

कुरा भयो, काम भएन

सल्यान ३०, चैत ।
२०७५ असोज २१ गते सल्यानमा विमानस्थल निर्माण गर्ने चर्चा चल्यो । जिल्लामा पहिलोपटक छत्रेश्वरी गाउँपालिकाले वडा नं. ५ लेखपोखरा, लेखानाचौरमा विमानस्थल निर्माण गर्ने भनी विमानस्थल पुर्वसम्भाब्यता अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो । प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले आफ्नो कार्यकालमा लेखपोखरा विमानस्थलबाट जहाज उडाउने घोषणा गर्नुभयो ।

गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन अब एक महिनामात्रै बाँकी छ । लेखपोखरामा विमानस्थलको कामसमेत थालनी भएन । लेखानाचौरमा विमानस्थल निर्माण गर्ने भनेर गाउँपालिकाले विमानस्थल सम्भाब्यता अध्ययन प्रतितवेदनमै १५ लाख रुपैयाì खर्च गरेको छ । त्योबाहेक गाउँपालिकाले विमानस्थल निर्माणका लागि अन्य कुनै काम गर्न सकेन ।

स्थानीय धनबहादुर परियारले बजेटको सुनिश्चितताबिना नै हचुवाको भरमा विमानस्थल निर्माण गर्ने भनेर गाउँपालिकाले लाखौं रुपैयाँ खर्च गरेको बताउनुभयो । उहाँले लेखपोखरामा तत्काल विमानस्थल निर्माणको सम्भावना नै नभएको बताउनुभयो । ‘लान्ति लेखपोखरा बाह्रै महिना गाडी चल्ने बाटो छैन्, स्थानियको आम्दानीको स्रोत छैन्, उनीसँग गाडी चढ्ने हैशियत छैन्, गाउँपालिका भने जहाज चढ्ने सपना देखाउँछ’ उहाँले थप्नुभयो ‘आफ्नालाई काम दिनको लागि र चर्चा कमाउनको लागि जनताको माझमा गरिएको भ्रमको खेती हो ।’

स्थानीय शिवप्रसाद केसीले विमानस्थल बनाउन गाउँपालिकाको स्रोत र साधनले नै नभ्याउने बताउनुभयो । ‘जनताका माझमा कसरी लोकप्रिय बन्ने भन्ने मात्रै हेक्का राखियो, तर तत्कालै सम्भव नहुने सपना गाउँपालिकाले देखाएर स्थानिय जनताका माझमा भ्रम फिजियो, बोलेको बचन पुरा हुदैन् भने त्यो नेतृत्वसँग जनताले के अपेक्षा गर्ने ? उहाँले प्रश्न गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले भने गाउँपालिकाभित्र विमानस्थल निर्माण गर्ने भनेर सपना देखिएको र त्यो विस्तारै पूरा हुने बताउनुभयो । ‘यो ड्रिम प्रोजेक्ट हो, यो आफ्नो हैसियत अनुसार काम हुने हो, सपना देख्नु नै ठुलो हो’ उहाँले भन्नुभयो ‘हामीले त्यहाँ विमानस्थल बनाउने ठाउँ छ कि छैन् भनेर पुर्व सम्भाव्यता अध्ययन मात्रै गरेका हौँ ।’

विमानस्थल बनाउँदा धावनमार्गका लागि छ सय ३० मिटर जमिन चाहिने र त्यसका लागि जमिन रहेको अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ भने विमानस्थल निर्माणका लागि ८१ करोड ४७ लाख १५ हजार एक सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस