नाम मात्रैको ‘बिरामी कुरुवा कक्ष’

सल्यान २८, जेठ ।
सल्यानको लेखपोखरामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रको विरामी कुरुवा भवन अलपत्र परेको छ । २०६६ सालमा निर्माण सम्पन्न गरेर स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको यस विरामी कुरुवा भवन प्रयोग नभएर नै जीर्ण बनेको हो । तर प्राथामिक स्वास्थ्य केन्द्रमा आउने विरामीका कुरुवाहरुले भने सास्ती पाउदैँ आएका छन् । अहिले २ कोठे बिरामी कुरुवा भवनको चारैतीर घास पलाएको छ । झ्याल र ढोका जीर्ण अवस्थामा छन् । कोठामा पुराना केही टेवुल, कुर्सी र दराज छ । त्यसैमा माखुराले जालो लगाएको छ ।

विरामी कुरुवाको सहजताको लागि भनेर निर्माण गरिएको यस भवन भने प्रयोग नभएरै जीर्ण बनेको छ । पूनः स्थापित संसद २०६३ मा सल्यान जिल्ला क्षेत्र नम्बर २ बाट राप्रपाका मनोनित सांसद नरेन्द्र कुमार चौधरीको संसद विकास कोषको रकमबाट भवन निर्माण गरिएको थियो । संसद विकास कोषको एक लाख ७० हजार अनुदान र स्थानियको एक लाख श्रमदान गरी कुल २ लाख ७० हजारमा भवन निर्माण गरिएको थियो । तर भवन निर्माण पश्चात प्रयोगमा आएको छैन् ।

स्थानिय सुनिल कवरले बिरामी कुरुवा भवन सञ्चालनमा नआउदाँ उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका विरामीका कुरुवाहरुले सास्ती भोग्दै आएको बताउनुभयो । ‘प्राथामिक स्वास्थ्य केन्द्रमा विरामीको चाप छ, सुत्केरी हुने लगाएत अन्य आकस्मिक विरामीहरुलाई लिएर आफन्तहरु यहाँ आउँछन्, तर बिरामी कुरुवाको लागि बस्ने ठाँउ छैन्, कुरुवाले पनि बिरामीको बेडमा बसेर रात विताउनुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘सरोकारवाला निकाय मौन छ, २०६६ सालमा निर्माण भएको कुरुवा भवन प्रयोगमा छैन्, संरचना मात्रै भएर काम नहुदो रहिछ, त्यसको उपोग गर्ने इच्छा शक्ति हुनुपर्ने रहिछ ।’

प्राथामिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज विर बहादुर वलीले विरामी कुरुवा भवनलाई सञ्चालन गर्ने तयारी गरिएको भएपनि सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘यो नितान्त आवश्यक छ, हामी सँग भवन पनि छ, तर प्रयोगमा आउन सकेको छैन्, तातोपानी तताउन मिल्ने भाँडाकुडा तथा ग्यास हामीसँग छ, तर बेड छैन्, केही बेड राखेर त्यसको मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सके राम्रो हुने थियो’ उहाँले भन्नुभयो ।

उहाँले प्राथामिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा बिरामी कुरुवा कक्ष नभएको पनि बताउनुयो । ‘अहिले यही नयाँ भवनमा भएका केही कोठामा बिरामीका कुरुवाहरुलाई रातको समयमा बस्न मिल्ने बनाएका छौँ, तर त्यो दिगो रुपमा होइन’् उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थासँग पैसा छैन्, नत्र भवनको मर्मत गरेर तत्कालै सञ्चालन गर्न पाए राम्रो हुनेथियो ।’

यता प्राथामिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले यसबारेमा आफुहरुलाई अहिले केही जानकारी नभएको र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो । स्वास्थ्यकर्मी अभाव देखी लिएर यस क्षेत्रमा थुप्रै समस्या रहेकाले वजेट सार्वजनिकपुर्व छलफल गरेर सोही अनुसारको वजेट विनियोजन गर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस