एकै दिनमा पुल !

एकैदिनमा पनि धेरै विकास गर्न सकिन्छ भन्ने उदाहरण सल्यानको छत्रेश्वरी–२ मा छ ।


सल्यान ५, भदौँ ।
विकास निर्माणका काम गर्न सरकारी वजेटको मुख ताकेर बस्ने चलन जताततै छ । सरकारी वजेटबाट नै सञ्चालन गरिएका विकास निर्माणका कयौँ योजना पनि बर्षौदेखी अलपत्र परेका तितोसत्य छर्लङ्ग छ । तर समस्या भएपछि र स्थानियहरु एकजुट भएपछि एकैदिनमा पनि धेरै विकास गर्न सकिन्छ भन्ने उदाहरण सल्यानको छत्रेश्वरी–२ मा छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–२ मा स्थानियको सक्रियतामा एकैदिनमा पुल निर्माण गरिएको छ । पुल बाँसको निर्माण गरिएको छ । यो पुल धेरै बर्ष टिक्दैन् तर तत्कालको लागि भने बर्षातको बेला जोखिम मोलेरै खोला वारपार गर्नुपर्ने स्थानियको बाध्यता हटेको छ । स्थानियको सक्रियतामा कालाखोलामा एकैदिनमा पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएपछि दादर, दहखोला, गोठीखोला, चोरडाँडा, लिरेडाँडाका गरेर करिब ५० घरधुरीलाई सहजता भएको छ । स्थानिय कृष्ण बहादुर बस्नेतको नेतृत्वमा पुल निर्माण गरिएको हो । पुल निर्माण पछि स्थानियलाई घरदेखी बजारसम्म जान, बिद्यार्थीहरुलाई बिद्यालय जान तथा घाँसदाउरा जान समेत सजिलो भएको बस्नेतको भनाइ छ ।

‘बर्खाको समयमा स्थानियलाई आउजाउ गर्न निकैसमस्या भैरहेको थियो, तत्कालै कुनै निकायबाट वजेट आएर पुल निर्माण हुने सम्भावना भएन, आखिर कति दिन ज्यान जोखिममा राखेर खोला तर्ने ? त्यही भएर शून्य लगानीमा नै बाँसबाट पुल बनाउने सोच आयो’ उहाँले भन्नुभयो ‘स्थानियहरुको सहकार्य र श्रमदान गरेर एकैदिनमा पुल निर्माण गर्न सफल भएको छौँ ।’

उहाँले हिउँद र गर्मीयाममा खोला सानोहुने भएपनि बर्खामा ठाडो खोला भएकाले वारपार गर्नको लागि समस्या हुने गरेको बताउनुभयो । बाँसको पुल कति समय टिक्ला र ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘सरकारी वजेट कहिले आउने हो थाहा छैन्, तर बर्खा लागि सकेकाले तत्कालको लागि समस्या समाधान गर्न यसले सहयोग गर्ने छ, करिब ३ बर्ष टिकाउ हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

स्थानिय शालिक राम खड्का, पोखर विक, राम बहादुर वली, इन्द्र केसी लगाएत डेढ दर्जन बढीको सक्रियतामा पुल निर्माण गरिएको हो । ‘बर्खाको बेला खोला ठुलो हुनेभएकाले बालबालिका बढी प्रभावित थिए, जोखिम मोलेर खोला वारपार गर्थे, अव त मकैँ गहुँ पिसानीको लागि घट्ट जान समेत सजिलो भएको छ’ बस्नेतले भन्नुभयो ‘आँट र जाँगर भएमा सामूहिक काम गर्न सजिलो हुने रहिछ, सबैको श्रम परेको हुँदा यसको संरक्षण र मर्मत सम्भार गर्न पनि सबैलाई मन लाग्छ ।’

पुल निर्माणका लागि स्थानिय सरकारले तीन ठाउँको लागि दुई लाख रुपैँया विनियोजन गरेको सुन्नमा आएको र त्यति वजेटले तीन वटा पुल निर्माण गर्न नसकिने स्थानियको भनाइ छ ।

तस्वीर : कृष्ण बहादुर बस्नेतको फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस