सल्यान अध्ययन केन्द्र – एक प्रस्तावना !

सबै चेतको प्रबद्र्धन गर्ने संस्थाको रुपमा सल्यान अध्ययन केन्द्र बनिनुपर्छ ।

एउटा यस्तो थलो जहाँ एउटा पुस्तकालय होस । जहाँ समाज बिज्ञानका विभिन्न बिषयहरु ईतिहास, कला, साहित्य, सस्कृती, अर्थशास्त्र, ज्ञान, बिज्ञानको छलफल, विमर्श भइरहुन । जहाँ सङ्गित, रङ्गमन्च, नाटक, ललितकलाको नियमित अभ्यास भइरहुन । जहाँ ज्ञानको उत्पादन, संसोधन, नवीकरण र बिनिमय होस । जसले नियमित पुस्तक वा जर्नल प्रकाशन गरोस साथै स्थानिय नीति, योजना, कार्यक्रमको लागि एक ’थिङ्क ट्याङ्क’ रुपमा रहोस । यसकै लागि परिकल्पना गरिएको सस्था हो – सल्यान अध्ययन केन्द्र । समाजलाई साचो अर्थमा जीवन्त राख्न पनि यी उल्लेखित कर्म त अत्याबश्यक नै हुन्छन् ।

~~~

ज्ञान आर्जन वा सिकाइ एक निरन्तर प्रक्रिया हो । ज्ञान आर्जनको लागि बिद्यालय, बिश्वविद्यालय त एक औपचारिक संस्था मात्र हुन् । यस्ता औपचारिक सस्थाको ज्ञान मात्रले ज्ञानको असिमित आयतनलाई निखार्न सक्दैन । सिकाइका आयाम व्यापक छन् । सिकाइका कुनै निश्चित सुत्र वा सिमा हुँदैनन् तर सिकाइलाई तिखार्ने, सिकाइको भोक जगाउन उत्प्रेरकको भुमिका खेल्ने साधन चैँ अनेक हुन सक्छन् । त्यस्तै सिकाइको उत्प्रेरक साधनको रुपमा स्थानिय सापेक्षता अनुसार यो सल्यान अध्ययन केन्द्र रहन सक्छ ।

~~~

हामी संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ । संघीयताले स्थानियतालाई प्राथमिकता दिन्छ । तर हामिले स्थानीयताको अभ्यास त केबल नेतृत्व तहमा मात्र गरेको आभास हुन्छ । स्थानिय सस्थाहरु (ईन्स्टिच्युसन्स), स्थानिय ज्ञान, स्थानिय आबश्यकताको आधारमा तय हुनुपर्ने योजना, कार्यक्रमको अभ्यास निक्कै पातलो भएको देखिन्छ ।

~~~

यसलाई अलि बिस्तृतमा भनौं है । हामिले हाम्रा स्थानिय सस्थाहरुलाई कति बलियो बनायौँ ? जस्तो कि शारदा नगरपालिका भित्रका दुई क्याम्पस छन । क्याम्पस भनेका बिश्वबिद्यालयका लघु इकाइ हुन । यहाँका प्राध्यापकहरु बिषय बिज्ञ हुन । हामिले हाम्रो पालिका भित्रका हरेक योजना, नीति कार्यक्रम तय गर्दा सम्बन्धित बिषयका प्राध्यापकहरु सङ्ग परामर्श गर्ने वातावरण हुनुपर्यो । जस्तो कि पालिकाको बजेट निर्माणको लागि अर्थशास्त्र बिषयको प्राध्यापकले नेतृत्व गरोस न कि आयातित गैससले । पालिका भित्रको कुनै निश्चित सास्कृतिक पक्षको अध्ययन, अनुसन्धान गर्न इतिहास वा सस्कृती बिषयको प्राध्यापकलाई जिम्मा दिइयोस । यसमा उक्त प्राध्यापकले आफ्ना मेधाबी छात्र/छात्राको बनाइ अनुसान्धान गर्न सकोस । यसले क्याम्पसमा प्राज्ञिक, अनुसन्धानात्मक कर्ममा टेवा पुर्याउछ । यस्तो प्राज्ञिक कामको लागि प्राध्यापकहरुको क्षमता वृद्धि गर्न तालिम, सन्दर्भ सामाग्रीको उपलब्धता, ब्यबस्थित अनुसन्धान पद्दती आदिको लागि यस्तो केन्द्रले सहजिकरण गर्नेछ । स्थानिय सस्थाहरु बलियो बनाउने नै यसरी हो । संघीयताको अभ्यासको लागि यस्ता स्थानिय सस्थाहरुको सुदृढिकरण अत्याबश्यक छ ।

~~~

माथी उल्लेखित सबै कामको नेतृत्व गर्न एउटा स्वायत्त सस्थाले पो सक्छ कि । यस्तो सस्थाको बलियो पहलकदमी स्थानिय प्राध्यापकहरु, शिक्षकहरु, पत्रकारहरु, अधिबक्ताहरु, राजनीतिकर्मिहरु जसलाई आफ्नो ज्ञान वा सिकाइमा अध्याबधिक भइरहनुपर्छ, उनिहरुले लिनुपर्छ । अनि सस्थागत रुपमा यी पेशाकर्मिहरुको सङ्गठनले । त्यस्तै जन निर्वाचित सस्थाहरु पालिका, वडा आदिले सहजिकरणको रुपमा र विभिन्न कर्पोरेट कम्पनिहरुले ’सस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत योगदान गर्न सक्छन ।


सुरुवात कसरी गर्ने ? मार्ग चित्र के हुने ?

यस्तो प्राज्ञिक अभ्यासमा रुचि राख्ने लेखक, साहित्यकार, पाठक, पत्रकार, प्राध्यापक, शिक्षकको सामुहिकतामा एक सस्था गठन गर्ने । प्रारम्भमा पुस्तकालय सुरुवात गर्ने । पुस्तकालयको लागि सामाग्री जुटाउन कुनै गाह्रो नहोला । सानो इकाइमा सुरुवात गरेपछी क्रमशः सङ्कलन हुँदै जान्छन । स्थानको लागि एक कोठा बाट सुरु गर्न सकिन्छ । यस्तो एक कोठा स्कुल, पालिका वा क्याम्पसलाई उपलब्ध गराउनको लागि आग्रह गर्न सकिन्छ । यसमा सबैभन्दा ठूलो मदत गैह्र आबासिय सल्यानी (एनआरएस) हरुबाट लिन सकिन्छ । यस्तो परियोजनाको एउटा स्पष्ट खाका तयार भैसकेपछी र भौतिक रुपमै काम देखिएपछी विभिन्न सरकारी सस्था, गैह्र सरकारी सस्थाहरुबाट सहयोग लिन सकिन्छ त ब्यक्तिगत रुपमा पनि स्वस्फुर्त रुपमा सहयोग आउने नै छ ।

~~~

दुई बर्ष अगाडि दाङ्ग तुल्सिपुरमा सल्यान बहुमुखी क्याम्पस (तत्कालिन सल्यान क्याम्पस) का सुरुवाती कालका क्याम्पस प्रमुख बलबहादुर रोका सङ्ग मेरो भेट भएको थियो । ईतिहास कोट्याउँदै जादा सल्यान क्याम्पसको स्थापना, अनि उहाँको क्याम्पस सङ्गको आवद्धता, क्याम्पस सन्चालन गर्दाको कठिनाई हटाउन निकालिएका गज्जबका जुक्ती आदि को बारेमा निक्कै रोचक कुराकानी भएको थियो । पछि मैले त्यसलाई लेखकै रुपमा प्रकाशन पनि गरेको थिएँ । यस्ता अनेक प्रसङ्ग छन जुन लेखिनुपर्ने र संग्रह गर्दै आउँदो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने छ ।

~~~

हाम्रो इतिहासका नखोलिएका पाटाहरु धेरै छन । नलेखिएका इतिहासका साक्षीहरुबाट सङ्ग्रह गर्न बाकी धेरै बिषयहरु छन । शक्तीकेन्द्रलाई प्रश्न गर्ने बानी नहुँदा र आलोचनात्मक चेतको बिकास नहुदा जनसाधारणले दुख पाएका उदाहरण प्रशस्तै छन । सम्बिधानमै ’समाजबाद उन्मुख’ भनिसकेपछी हाम्रा स्थानिय अभ्यास, नीति योजना, कार्यक्रम व्यवहार त्यस दिशामा छन कि छैनन भनेर चनाखो हुन, नेतृत्वलाई प्रश्न गर्न र पुच्छर निमोठ्न हिच्किचाउनाले हामी सामान्यजन आफै दुख पाइरहेका छौँ । यो सबै चेतको प्रबर्दन गर्ने सस्थाको रुपमा सल्यान अध्ययन केन्द्र बनिनुपर्छ ।

~~~

यो सस्थाको आधार बलियो भैसकेपछी हामी आबधिक रुपमा साहित्य सम्मेलन, बिद्धत प्रबचन शृङ्खला, ललितकला सम्मेलन आयोजना गर्न सक्छौं । ललितकलाका विभिन्न बिधामा रुचि राख्ने कलाको भोकाहरुको लागि प्रशिक्षण नै बोलाएर ललितकला (चित्रकला, पेन्टिङ, बास्तुकला, मुर्तिकला) सिकाइ सप्ताह पनि चलाउन सकिन्छ । यो अभियानको छलफलको लागि बहस खुला छ । यसमा व्यापक बहसको अपेक्षा सहित बिट मार्दछु ।

000

[ सल्यानको शारदा नगरपालिकामा घर भएका लेखक आचार्यले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । ]

 

 

प्रतिक्रिया दिनुहोस