त्यो रैती म ! यो नागरिक म : सल्यान सन्दर्भ

--विचार--

२०५८ सालको दरबार हत्याकाण्डको परिणाम स्वरुप राजा हुने ‘भाग्य’ खुलेपछी माराज ज्ञानेन्द्रले ‘नेपाल’ म्यागेजिनमा ‘‘एक्टिभ हैन कन्स्ट्रक्टिभ हुन चाहन्छु, दाजु जस्तो चुपचाप बस्दिन” भनेर बयान दिए । यो साल २०५८ को उत्तरार्ध तिरको कुरो हो । तिनताक हाम्रो ठुलोबुवाको घरमा नियमित रुपमा नेपाल, हिमाल, मुल्यांकन लगायतका खबरपत्रीकाहरु (म्यागेजिन) आउँथे । हामी रिठ्ठो नबिराइ सबै पढ्थ्यौँ । अहिले सम्झी ल्याउँदा समाज, देश, बिदेश, राजनिती आदि बुझ्न हुटहुटी जगाउने भ्रुणको बिजारोपण तिनै म्यागेजिनले गरिदिए जस्तो लाग्छ ।

महाराज ज्ञानेन्द्रको यस्तो चुमुकचुमुक देखेपछी बुवा ठुलोबुवा हरुले  ‘‘कतै यिनले २०१७ को नयाँ सस्करण निम्त्याउने त हैनन”  भन्ने गाँइगुइँ पनि सुन्थ्यौँ । त्यो २०१७ भनेको त पन्चायती ब्यबस्थाको श्रीगणेश रहेछ भन्ने कुरो अलि पछि थाहा भयो । नभन्दै केही समयपछी २०५९ असोज १८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई घोक्रेठ्याक लगाउदै पन्चायतको दानापानी खाएर ढाडिएका लोकेन्द्र बहादुर चन्दलाई ‘बजिरे आजम’ बनाए ।

लोकेन्द्र बहादुर रस निख्रीएका फल जस्ता, ओज बिहिन, थकित र कब्जियतको ब्यथाले च्यापे जस्तो ठसठसी कन्दै बोल्ने एक आभा बिहिन प्रधानमन्त्री थिए । तर मक्किएको प्रजातान्त्रिक प्रणालीलाई पुनः ट्र्याकमा ल्याउने भन्दै पन्चायतका यिनै बफादार हर्ताकर्ता महाराजको रोजाइमा परे ।

त्यसपछी निकै हौसिएका महाराज ज्ञानेन्द्र देशबासिका ‘पिरमर्कामा मल्हम लगाउन’ भन्दै देशब्यापी नागरिक अभिनन्दनमा निस्किए । यो अभिनन्दन बिकास क्षेत्र अनुसार खण्डित थियो । बिकास क्षेत्रको सदुरमुकामको नागरिक अभिनन्दनमा उनी एउटा चिर्कटोमा केही लेखेर पढ्थे अनि अन्तिममा  ‘‘…….. पशुपतिनाथले हामी सबैको कल्याण गरुन !” भन्दै टुङ्ग्याउथे ।

अनि बिकास क्षेत्रको सदरमुकामलाई बसोबासको स्टेसन बनाइ दिनहुुँ ती बिकास क्षेत्रका जिल्लाहरुको नागरिक अभिनन्दनमा सरिक हुन्थे । जनता (रैती भनौं न)का हात बाट पुष्पगुच्छा लिन्थे अनि एक शब्दमा ‘बुझेँ’ मात्र भन्थे ।

तिनताक महाराज ज्ञानेन्द्रले टीका लगाउदै जिबिस सभापतीहरु नियुक्त गरेका थिए । त्यो नागरिक अभिनन्दन मुल समारोह समितिका मियो तिनै टिके जिबिस सभापती हुन्थे । तिनको चुरिफुरी राजाकै जस्तो हुन्थ्यो ।
तिनताक नेपाल टेलिभिजनमा बेलुका ८ बजेको समाचारमा रमा सिंह नाउँ गरेकी समाचार बाचिका हाजिर हुन्थिन । तिनको हुलिया बडामारानीकै जस्तो हुन्थ्यो – छोटो कपाल, मोतिको सेता दाना भएको माला ।

त्यो नागरिक अभिनन्दनको शृङ्खला सल्यान खलङ्गाको लुहापिङ्ग स्कुलमा पनि हुने भयो । बजार भरी ४७ गाबिसका स्वागतद्वार बने । झाँकिको लर्को लाग्यो । माओबादी द्वन्द्व उत्कर्षमा थियो । अनि नागरिक अभिनन्दनमा जानेलाई केरकार, चेकजाँच पनि कडै हुने भो । हतियारधारी सैनिकको हप्किदप्की सहेर पनि राजदर्शनको लागि लोक उर्लियो । दौरासुरुवालमा ठाँटिएका टिके जिबिस सभापती लगायत राजभक्तहरुको रवाफ बेग्लै छ । माराजको दर्शन गर्न जम्मा हुने भिडले लुहापिङ्गको चौर भरियो । उभिदा उभिदैँ नसनाडी गलिसके, ओठमुख सुकिसके, आँखा टट्टाइसके तर राजदम्पती लिएर आउने हेलिकप्टरको अत्तोपत्तो छैन ।

अलि बेर पछि बेपत्ता सङ्ग छारो (धुलो ) उडाउदै एउटा हेलिकप्टर हिवँल्चा तर्फको आकाशबाट आइ नजिकैको हेलिप्याडमा बस्यो । धुलोले आखा तिरमिर भए । हेलिकप्टरको पङ्खा रोकिएपछी कालो गगल्स, छोटो कपाल, अनि उहीँ मोतिको माला र छेउछाउमा हतियार धारी सैनिकको पहरामा एक महिला मन्च तिर अघि बढिन । सबैले बडामारानी कोमल भनेर झुक्किए । तर ती त उनै समाचारबाचिका रमा सिंह रहिछन ।

अनि अलिक बेरमा फेरि अर्को हेलिकप्टर आयो छारो उडाउँदै । यसमा सैनिक पोसाकमै माराज ज्ञानेन्द्र र उनकी अर्धाङ्गिनी कोमल सवारी भएर सिधै मन्चमा गइ बसे । त्यसपछी ‘निहुरिमुन्टी न’ को शैलिमा टिके जिबिस सभापतिले शब्दकोषमा भए भरका चाकरीका शब्दहरुले सुसज्जित नागरिक अभिनन्दन मन्तव्य सुनाए ।

एकछिन पछि माराज र महारानी जनताका पिरमर्का बुझ्न मन्चबाट ओर्लिबक्स्यो । त्यो बेला उनको र मेरो बिचमा देखि दुरि ३/५ फिट हुँदो हो तर वास्तविक दुरि उत्तरि र दक्षिणी ध्रुब जत्तीकै थियो । त्यो ‘पिरमर्का बुझ्ने’ क्रममा सैनिक पोसाक अनि छड्के छत्रे टोपिमा लत्रीएको चिउडो हल्लाउँदै एक शब्दमा बोलिबक्स्यो ‘बुझेँ’। तर उनले खासमा के चाहिँ बुझेका हुन त्यो अझै सम्म थाहा भएन । अनि फेरि हेलिकप्टरको छारो उडाउदै माराज मध्यपश्चिमाञ्चल पृतनापतिको ब्यारेक (सुर्खेत हो वा नेपालगन्ज )मा सवारी होइबक्स्यो ।

यी राजा ती ब्यबस्थाका स्थायी सामन्त शासक हुन जसलाई छुन, चलाउन, आलोचना गर्न आबधिक निर्वाचनबाट हटाउन म सक्दिनथे । तर अहिलेका केपि, माकुने, प्रचण्ड, झलनाथ, शेरबहादुर अस्थायी सामन्त शासक हुन ।

इतिहासका पन्नाहरु पल्टाउँदा पनि यो ब्यबस्थामा आफ्नै परिवार भित्र षड्यन्त्र, जालझेल, दाजुभाइ, काका भतिजा, देवर भाउजू बिचको शक्ति संघर्ष , मारकाटको शृङ्खला मात्र भेट्छु । अनेक अन्धबिस्वास, कु–सस्कार, उचनिच र सामन्ती ब्यबस्थाको जड म त्यहि राजशाही ब्यबस्थामा भेट्छु । यिनै बिरक्तलाग्दा तथ्य देखेर पनि म यो राजब्यबस्थाको पक्षमा कहिल्यै अटाउन सकिन । जे काम म ज्ञानेन्द्रको विरुद्धमा गर्न सक्दैनथे त्यो काम म यी अस्थायी शासको बिरुद्धमा गर्न सक्छु । म त्यो ब्यबस्थाको रैती थिएँ तर यो ब्यबस्थाको नागरिक हुँ ।

सामाजिक सन्जालमा धेरैले फेरि ‘म रैती बन्न पाँउ’ भनी रुवावासी गरेको देख्दा चै उदेक लाग्छ । आफ्नो शक्ति चिनौँ ।

 

000

[ सल्यानको शारदा नगरपालिकामा घर भएका लेखक आचार्यले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । ]

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस