सल्यानमा किन कम खस्छ मत ?

मत कम खस्नुको कारण भिन्नभिन्न छन् । ‘जति भोट हाले पनि के भयो र, अब पनि के होला र, किन भोट हाल्नुपर्यो र’ यस्ता अभिव्यक्ति पनि कम भोट खस्नुमा जिम्मेवार छन् । धेरैजसो युवा विदेशका छन् । दैनिक गुजारा गरेर खानुपर्ने श्रमजीवीलाई निर्वाचनले छुन नसकेपछि स्वभाविक रूपमा कम मत खस्ने नै भयो ।

सल्यान, ५ मंसिर ।

हरेक नेपाली नागरिकले निर्वाचनमा निर्बाधरूपमा मतदान गर्न पाउनु उनीहरूको अधिकार हो । उम्मेदवारको मायाले नभएर विकास, समृद्धि र जनताप्रतिको उत्तरदायित्व सुम्पिन विश्वासिलो र उचित नेतृत्वलाई मतदान गर्नुपर्छ । १८ वर्ष उमेर पुगेका हरेक नागरिक मतदानको लागि योग्य हुन्छन् र आफूलाई भरोसा लागेको उम्मेदवार र पार्टीलाई मतदान गर्न पाउँछन् ।

तर सल्यानमा भने निर्वाचनप्रति मतदाताको उत्साह देखिएन् । फलस्वरुप कम मत खसेको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सल्यानमा करिब ६२ प्रतिशत मत खसेको थियो तर यो पटक भने ५३ प्रतिशत मात्रै मत खसेको छ । बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ६९ प्रतिशत मत खसेको थियो । स्थानीय निर्वाचनमा खसेको मतलाई पनि पर्याप्त भन्न मिल्दैन, तर तुलनात्मक रूपमा बढी हो ।
जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाभर ८४ हजार २२ मत खसेको छ । जसमा ४० हजार २१ पुरुष र ४४ हजार १ महिलाले मतदान गरेका छन् ।

मत कम खस्नुको कारण भिन्नभिन्न छन् । ‘जति भोट हाले पनि के भयो र, अब पनि के होला र, किन भोट हाल्नुपर्यो र’ यस्ता अभिव्यक्ति पनि कम भोट खस्नुमा जिम्मेवार छन् । धेरैजसो युवा विदेशका छन् । दैनिक गुजारा गरेर खानुपर्ने श्रमजीवीलाई निर्वाचनले छुन नसकेपछि स्वभाविक रूपमा कम मत खस्ने नै भयो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले राजनितिक दलहरुप्रति मतदाताहरुमा वितृष्णा भएकै कारण मतदान प्रक्रियामा कम मतदाता सहभागि भएको हुनसक्ने बताउनुभयो । ‘मतदान कसैको डर, कर र लोभलालचले नगरिने भएकाले मतदाता स्वतन्त्र छन्, यस्तो अवस्थामा उम्मेदवार र दलका एजेण्डा पुरानै हुनु, विकास र समृद्धिमा ध्यान नदिनु, पुरानै अनुहार उम्मेदवार भएर आउनु, स्थानिय तहको जसरी आफ्नै वडामा उम्मेदवार नहुनु जस्ता कारणले पनि केही मतदाताले मतदानमा भाग नलिएका हुनसक्छन्’ उहाँले भन्नुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले आममतदाताहरुमा निरासापैदा भएका कारण पनि कम मत खसेको हुनसक्ने बताउनुभयो । ‘दलहरुले गठबन्धन गर्दा आफ्नो उम्मेवार छैन्, अर्काको पार्टीको उम्मेदवारलाई किन मत दिने भन्ने सोच हुनु, राजनितिप्रति युवापुस्ताको चासो कम हुनु, मतदानस्थल अपांग बृद्धबृद्धा लगाएत सबै मतदाताको पायकमा नपर्नु जस्ता कारण जिल्लामा कम मत खसेको हुनसक्छ’ उहाँले भन्नुभयो ‘कतिपय मतदाताहरु भोट हालेर के नै हुन्छ र, भनेर मतदान गर्न नै नगएको पाइएको छ ।’

निर्वाचनमा आफूले दिएको भोटले देशको भाग्य र भविष्य कोर्ने छ भन्ने मनोभावले दिएको भोट नेता बनाउन मात्र प्रयोग भएपछि मतदानमा सहभागि हुनेको संख्यामा कमी आएको स्थानियको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस