सल्यान, १२ बैशाख ।
तीन बर्षअघि सम्म सल्यानको शारदा नगरपालिका–५ रातामाटाका ३५ बर्षिय पोस्करजंग बुढाथोकीको दैनिकी गज्जवले चलिरहेको थियो । बस्ने घर, खाने गाँस, साथमा श्रीमती र छोराछोरी थिए । सायद त्यो बखत पोस्कर जतिकै खुसी कोही थिएन् होला । परिवारको इच्छा र सपना पुरा गर्न पोस्कर कतार र मलेसिया गएर फर्किए । घरको चाँजोबाँजो मिलाएर साउदी जाँने तयारीमा थिए उनी । त्यसका लागि भिसा समेत लगाइसकेका थिए ।
बिस्तारै उनको स्वास्थ्यमा समस्या देखियो, एक्कासी पिसाव रोकिने । उनको पेटको दुखाई कम भएन, बरु उल्टै पिसावबाट घाउ पाके जस्तै गरेर पिप बग्न थाल्यो । अत्तालिएर परिवारले उनलाई अस्पताल लगे । जाँच गर्दा मुत्रथैलीमा भेटियो ३ सय ७५ ग्रामको पत्थरी । दाङको घोराहीमा उनको शल्यक्रिया भयो । त्यस बखत उनको स्वास्थ्यमा प्रेसरको समस्या पनि देखिन थालेको थियो । प्रेसरको औषधि एक पटक सेवन गरे, जिन्दगीभर खानुपर्छ भन्ने सुनेका उनले त्यसैलाई भर माने र अन्तत प्रेसरकै सिकार भए । रातको समयमा प्रेसरले हानेपछि आधा शरिर चल्नै छोड्यो ।
पहिले पत्थरीको शल्यक्रिया पछि प्रेसरको सिकार भएका उनलाई सल्यान, दाङ, सुर्खेत, नेपालगन्जमा उपचारका लागि लगियो । उताबाट साउदी जान मेनपावर कम्पनीले फोन गर्छ, यता पोस्कर रोगसँग लडिरहेका छन् । एकैपटक दुई रोगको सिकार हुदाँ पोस्करकी श्रीमति सम्झना बुढाथोकी, घरमा भएको, आफन्तबाट ऋण कारेर र घरसमेत बैँकमा धितो राखेर श्रीमानको उपचारमा लाग्नुभयो ।
अहिले घरमा ६ जना छन् । जग्गाजमिन छैन् । घर धितोमा छ । आम्दानीको स्रोत छैन् । पोस्कर वरपर गर्न सक्दैनन् । टाढा आँखा देख्दैनन्, बोली प्रष्ट बुझिदैन् । भित्रबाहिर श्रीमतीले बोकेर बनाउनुपर्छ । खाना बनाउने, खुवाउने, शौच गराउने, भित्र बाहिर गराउने सबै काम श्रीमतिकै हो । श्रीमानलाई छोडेर कतै जान मिल्दैन् । हातमा सिप छैन् । कहिकतै मजदुरी मिलेमा उनी दिउँसो काम गर्न जान्छिन्, मजदुरी गरेर कमाएको पैसाले नुन तेलको जोहो गर्छिन् ।
सम्झनाले ऋण तिर्ने, आफ्नो र परिवारको खुसी खोज्न थालेको झण्डै तीन बर्ष भयो । तर उनलाई साँझविहानको गासँ जुटाउन नै धौँधौँ छ । खानबस्न समेत गाह्रो भएपछि २ वटा छोरी अहिले नेपालगन्जमा बस्छन् । उनीहरु साँझविहान काम गर्ने र दिउँसो बिद्यालय जान्छन् । मिठो मसिनो खाने त परको कुरा हो, शरिर ढाक्न अरुले लगाएका कपडा बटुलेर लगाउन थालेको बर्षौ भएको सम्झनाको भनाइ छ ।
अहिले पोस्करको बर्तमान मात्रै अन्धकारमा छैन् । उनका सन्ततिको भबिष्य पनि अन्धकारमा छ । ‘बाँचे ऋण तिरौँला, अरु कुनै चाहाना छैन्, तर श्रीमान ठिक हुनुपर्छ, पकाएको खाना आफै खाने, भित्रबाहिर र शौचालय आफै जानसक्ने भए, हाम्रो परिवारको खुसी त्यो बाहेक अरु छैन्’ सम्झना भन्नुहुन्छ ‘बिहे गरेदेखी माइतीघर देखेको छैन्, परिवार पाल्न मैले गर्नुपर्ने संघर्ष त सबै गरिरहेकी छु ।’
पत्थरी र प्रेसरकै कारण एउटा परिवारको उदाउदैँ गरेको खुसीमा पुर्ण विराम लागेको छ । नियमित थेरापि गरेमा पोस्कर आफैले भित्रबाहिर सम्म गर्नसक्ने परिवारको अपेक्षा छ ।