सल्यान, ६ बैशाख ।
आकाशे पानीको भरमा बर्षमा एक बालि मात्रै जसोतसो उत्रने सल्यानको कालिमाटी गाउँपालिका– ६ भैँसीदमारमा सिंचाई पुग्यो । बर्षमा तीन बाली सम्म फलाउन सक्ने फाँटमा सिँचाई नहुदा स्थानिय निकै पिरमा थिए । खहरे खोलाको भरमा बाली लगाउँदा कम्ती दुख थिएन् । खेतमा बाह्रैमास सिँचाई सुविधा हुने भएपछि स्थानीयहरु हर्षित छन् ।
त्रिबेणी गाउँपालिका–१ तल्लो काभ्राका स्थानिय खेतमा सिँचाई गर्न पालो पर्खनु पथ्र्यो । कुलो थियो तर कच्ची थियो । शारदा नदिबाट लगाएको पानी खेतसम्म पुग्दा आधा पानी त विचमै चिहावट हुन्थ्यो । जसका कारण सुख्खा समयमा स्थानिय खेतमा सिँचाई गर्न पालो पर्खनु पथ्र्यो । यस पटक नदि देखी खेतसम्म पक्की कुलो निर्माण भएपछि स्थानिय खुसी छन् ।
झण्डै एक दशकको प्रयास पछि बाह्रै महिना सिँचाई पुग्ने गरि खेतमा पानी आएको भैँसीदमारका हिमसरा पुलामीले बताउनुभयो । विगतमा यस क्षेत्रमा सिँचाइ नहुदा खेतीपाती गर्न समस्या हुने गरेको थियो । ‘गएको वर्षसम्म किसानको खेतमा वर्षाको पानीको भरमा मात्रै एक वालि धान उत्पादन हुने गथ्र्याे’ उहाँले भन्नुभयो ‘तर अव भने बाह्रै महिना पानी खेतमा पुगेपछि अरु बालि पनि उत्पादन हुने छ ।’
सिंचाइको अभावमा राम्रोसंग धान नफस्टाउने खेतमा अव भने सिंचाइले गर्दा धान बालि सप्रने उहाँको भनाइ छ । ‘अब त वेमौषमी तरकारी, गहुँ, मकै खेती पनि गर्ने योजनामा छौँ’ उहाँले थप्नुभयो ‘खोलामा गएर कुलो लगायो भने भएको सबै पानी खेतमा आइपुग्छ, सिँचाईका दुख सबै गए, मुहान संरक्षणका लागी तारजालि लगाइएको छ, सिंचाइ पानीको व्यवस्था भएपछि हामी अत्यन्तै खुसि छौँ ।’
अर्का स्थानिय टंक बहादुर घर्ती मगरले सिँचाइ आएपछि खेती विस्तार गर्न थाल्नुभएको छ । विगतमा जेनतेन धान रोप्दै आएपनि यसपटक खेतीपाती गर्न कुनै समस्या छैन् । सिँचाइ आएपछि बर्षमा तीन बाली उत्पादन गर्न सहज भएको उहाँको भनाइ छ । सिँचाईको व्यवस्थाले लाभान्वित भएपछि गाउँका युवा विदेशीनबाट समेत रोकिने भएका छन् । विदेश जान तम्सीएका उहाँ अव भने गाउँमै बसेर खेतमा तरकारी खेती गर्ने योजनामा हुनुहुन्छ ।
‘सिँचाई नहुदा खेतमा राम्रो उत्पादन भएन, म विदेश जाने तयारीमा थिएँ तर मेरो खेतमा सिँचाई पुगेपछि तरकारी खेती गरेर यहिँ केही गर्न सकिन्छ कि भन्ने लागेको छ’ उहाँले भन्नुभयो ‘बर्षमा तीन बाली लगाउन पाइयो भने त, यही अन्न बेचेर जीवननिर्वाह गर्न सकिन्छ कि भन्ने लागेको छ ।’ समयमा नै फल र विउ पाए उत्पादन राम्रो हुने उहाँको भनाइ छ ।
कृषि विकास कार्यालय सल्यानले यस बर्ष जिल्लाभरमा ८८ वटा सिँचाईका योजना सञ्चालन गरेपछि स्थानियका बाँझा खेतमा पानी पुगेको छ । यस बर्ष जिल्लाभर थप १ सय ८८ हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य सहित ७ करोड २४ लाख वजेटमा सिँचाइको काम गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।
‘यस बर्ष सम्पन्न भएका योजनाको रेखदेख, संरक्षण, मर्मतमा तपाइ स्थानियहरुले नै विशेष ध्यान दिनुहोला, वर्षाैँदेखि बाँझो रहेका तपाइको जमिनलाइ यो पटक धेरै राहत पु¥याएको मैले महशुस गरेको छु, पटक पटक यही ठाउँमा योजना र बजेट पर्दैन्’ उहाँले भन्नुभयो ‘योजनामा दिगोपना कायम गर्नुहोला ।’ उहाँले कार्यालयबाट सञ्चालन गरिएका सबै सिँचाई योजनाको पटक–पटक अनुगमणको काम गरिएको बताउनुभयो ।
कार्यालयका अनुसार जिल्लामा कुल खेतियोग्य जमिन ४५ हजार ५ सय ६७ हेक्टर छ । त्यस मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा खेती भैरहेको छ भने ६ हजार ६ सय ४१ हेक्टरमा खेती गरिएको छैन् । जिल्लामा ७ हजार ९ सय ९७ हेक्टर जमिनमा बाह्रै महिना र ७ हजार ७ सय ३ हेक्टरमा मौसमी रुपमा मात्रै सिँचाइ पुग्ने गरेको छ । जिल्लाको खेतियोग्य जमिन मध्ये अझै २३ हजार २ सय २६ हेक्टर क्षेत्रफलमा अझै सिँचाइ पुग्न सकेको छैन् ।