स्थानिय पाठ्यक्रम लागु गर्दै कालिमाटी गाउँपालिका

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सल्यान, २८ पुस ।

सल्यानको कालिमाटी गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गरेको छ । स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा आधारभूत तह (कक्षा १ देखी ८ सम्म) मा स्थानीय पाठ्यक्रम लागू गर्नेगरी हालै पाठ्यक्रम निर्माण गरिएको हो । स्थानीय तहमा माध्यामिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ ।

सोही अधिकार र निर्देशन बमोजिम जिल्लाको कालिमाटी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रममा कालिमाटी गाउँपालिका भित्रको वनजंगल, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगाएतका क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको हो ।

‘कालिमाटी गाउँपालिकाको सेरोफेरो’ नाम दिएर कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रम तयार पारिएको छ । पाठ्यक्रममा पालिका भित्रका विविध क्षेत्रहरुलाई समेटेर तयार पारिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख भरत चन्दले जानकारी दिनुभयो । ‘हाम्रो पाठ्यक्रम पालिकाभित्रै केन्द्रित छ, पालिकाले अगाडि सारेका आधारहरू पाठ्यक्रममा विद्यार्थी पढ्नेछन्’ उहाँले भन्नुभयो ‘शिक्षालाई समसामयिक, व्यवहारिक र उद्धेश्यमुलक बनाउन र शैक्षिक गुणस्तर बृद्धि गर्नका निम्ति स्थानीय पाठ्यक्रम निर्माण गरेका हौँ ।’

पाठ्यक्रममा पालिका भित्रको कृषि, उद्यमशिलता, पर्यटन, जडीबुटी, रहनसहन, कलासंस्कृति, सम्पदा, भाषा, धर्म, स्थानीय प्रविधी जस्ता विभिन्न ९/१० वटासम्म विषय क्षेत्र समेटेर स्थानीय तहले पाठ्यक्रम बनाएको र पाठ्यक्रमबाट नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । ‘पालिकाको आर्थिक बर्ष २०७८/०७९ को वजेट मार्फत पाठ्यक्रम निर्माण गरिएको छ, आउदोँ शैक्षिकसत्रबाट आधारभूत तहमा पाठ्यक्रम लागु गर्छौ’ उहाँले भन्नुभयो ।

‘स्थानीय तहले कक्षा १ देखि ८ सम्म अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम बनाउनुपर्छ, सोही अनुसार हामीले पनि पाठ्यक्रम निर्माण गरेका छौँ, पाठ्यपुस्तक छपाई गर्दा पालिकालाई व्ययभार पर्ने भएकाले पाठ्यक्रमकै आधारमा पठनपाठन गराउँछौँ, पालिका भित्रकै बिषयबस्तु समेटिएकाले शिक्षकबिद्यार्थीलाई गाह्रो नहोला भन्ने सोचेका छौँ, यदी शिक्षकबिद्यार्थीबाट गुणासो आयोभने पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक बनाएर पठनपाठन गराउँछौँ’ उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर केसीले पाठ्यक्रम निर्माण गर्दा स्थानीयतालाई नै प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले बिद्यार्थीको व्यवहार, सिप, नैतिकता, अनुशासन र आचरणमा परिवर्तन ल्याउने खालका बिषयबस्तुहरु पनि समेटिएको बताउनुभएको छ । यस पालिका भित्र सञ्चालित सबै ५२ वटै सामुदायिक बिद्यालयमा स्थानिय पाठ्यक्रम लागु हुने छ । आधारभूत तहमा मात्रै करिब ४ हजार बिद्यार्थी अध्ययनरत रहेका छन् ।

पाठ्यक्रमको लेखन तथा सम्पादन र छपाईँमा दलित विकास समाज सल्यानद्धारा सञ्चालित मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नविकरणिय ऊर्जामा पहुँच (रियलाइज) परियोजनाले सहयोग गरेको छ । परियोजनाका जिल्ला संयोजक महेश हिताङले पालिकाले निर्माण गरेको स्थानिय पाठ्यक्रममा सहजताको लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको बताउनुभएको छ ।

स्थानिय पाठयक्रम शिक्षा शाखा प्रमुख, लेखन कार्यदलका सदस्यहरु र रियलाईज परियोजनाले सयुक्त रुपमा कालिमाटी गाउपालिका अध्यक्ष दानबहादुर केसि समक्ष हस्तान्तरण गरिएको छ। यस पाठ्यक्रमको लेखन कार्य कालिमाटी गाउपालिकाले सुरुवात गरेको र थप प्राबिधिक सहयोग रिन्युवल वर्ल्ड, लिबिर्ड सङ्को समन्वयमा दलित बिकास समाज द्वारा संचालित रियलाईज परियोजनाको सयुक्त प्रयासमा तयार पारिएको थियो । उक्त पाठयक्रम लेखन र सम्पादानमा कालिमाटी गाउलालिकाको पाठ्यक्रम निर्माण कार्यदल, रियलाईज परियोजना र बन्यजन्तु सरक्षण नेपालले सहजीकरण गरेको थियो भने समग्र पाठ्यक्रम छ्पाईमा रियलाईज परियोजनाले सहयोग गरेको थियो । उक्त पाठ्यक्रम हस्तान्तरण कार्यक्रममा कालिमाटी गापाका अध्यक्ष दान बहादुर केसि, शिक्षा शाखा प्रमुख भरत कुमार चन्द, लेखन कार्यदलका रिम बहादुर खड्का, बिन्दुर केसि र रियलाईज परियोजना तर्फबाट परियोजना प्रबन्धक तृप्ति प्रजापती, परियोजना सयोजक ऋषिराज वलि, जिल्ला सयोजक महेश हिताङ लगाएत अन्य लेखन कार्यदलका सदस्यहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस