समाज रुपान्तरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : अध्यक्ष पोख्रेल

सल्यानको पत्रकारिताको अवस्था र चुनौतीका बिषयमा छलफल

सल्यान, ९ फागुन ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले समाज रुपान्तरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले सूचना तथा समाचार आदानप्रदानको प्रक्रिया बन्द हुदा समाज रुपान्तरणको काम अघि बढ्न नसक्ने भएकाले समाज रुपान्तरणको एक हिस्सा पत्रकारिता भएको बताउनुभएको हो ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाले सोमबार महासंघको हलमा आयोजना गरेको सल्यानको पत्रकारिताको अवस्था र चुनौती बिषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष पोख्रेलले भन्नुभयो ‘पत्रकारितामा चुनौती र अवसर दुबै छन्, तर चुनौतीको सामाना गर्दै अघि बढ्न सकेमात्रै समाज रुपान्तरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण देखिन्छ ।’

उहाँले भौगोलिक विकटता, आर्थिक अभाव लगाएतका बिभिन्न समस्याहरु देखिएपनि रेडियो, पत्रिका, टेलिभिजन तथा अन्लाइन जस्ता सञ्चार माध्यमलाई जीवन्त राख्न सबैले सोच्न आवश्यक रहेको बताउनुभयो । तर पनि राज्यले मिडियाको विकास र मिडियाकर्मीको सवालमा अभिभावकको भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाइ छ ।

‘राज्यले मिडियाको बृद्धि विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ‘पत्रकारितालाई पत्रिकासँग मात्रै जोड्ने र विज्ञापन तथा सुचना पनि पत्रिकामा मात्रै दिने परिपाटीको अन्त्य गर्न आवश्यक छ, तीनै तहका सरकारले स्थानिय सञ्चारमाध्यमको भरपुर उपयोग गर्न तर्फ ध्यान दिनुपर्छ ।’

अध्यक्ष पोख्रेलले सल्यानको पत्रकारितामा राम्रो छवि रहेको बताउनुभएको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोगले सञ्चार माध्यममा केही समस्या सिजर्ना गरेपनि वास्तविक र सत्यतथ्य सुचना तथा समाचार पत्रकारले मात्रै दिन्छन् भन्ने विश्वासलाई कायम राख्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जिल्लाको पत्रकारिता क्षेत्रको छवि राम्रो भएकाले यो छविलाई भोलीका दिनसम्म पनि जोगाइ राख्न पत्रकारहरुलाई सुझाव दिनुभएको छ । जिल्लामा सार्वजनिक सरोकारका विषयहरु थुप्रै भएको र कयौँ बिषयहरु उठान गर्नुपर्ने पनि भएकाले सबैक्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

यस्तै जिल्लाको पत्रकारिताको अवस्था र सुनौतीका बारेमा प्रकाश पार्दै नेपाल पत्रकार महासंघ सल्यानका पुर्वअध्यक्ष रमेश कुमार गौतमले जिल्लाको पत्रकारिता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ ।  पत्रकारको संख्यामा बृद्धि, क्षमतामा बृद्धि, पहुँचमा बृद्धि भएको उहाँको भनाइ छ ।
उहाँले पछिल्लो समयमा व्यवसायिक पत्रकारिता गर्नेको संख्यामा केही कमी देखिएको बताउनुभयो । सामाजिक सञ्जालले पत्रकार र पत्रकारिताको वदनाम बनाउने र विश्वसनियता माथि कुरा उठाउने गरेको बताउँदै उहाँले सत्यतथ्य र वास्तविक सूचना नै आजको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरिता चलाउनेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस