सल्यान, १० फागुन ।
सल्यानमा खेलकुद क्षेत्रको विकास र खेलाडी प्रोत्साहनमा लगानी बढ्दै गएको छ । प्रदेश मातहत रहेको जिल्ला खेलकुद विकास समिती र जिल्लाका दश वटै स्थानिय तहले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रतियोगितात्मक कार्यक्रमलाई प्राथमिकता दिएका हुन् । स्थानीय सरकारले खेलक्षेत्रमा लगानी गर्न थालेपछि पालिकास्तरमा खेलकुदका गतिविधि पनि बढेका छन् ।
अहिले जिल्लाका केही पालिकाले वडास्तर हुदैँ पालिकास्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरेका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका, कालिमाटी गाउँपालिका, कुमाख गाउँपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाले पालिकास्तरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरेका छन् । यस्तै शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाले मंगलवारदेखी प्रतियोगिता सञ्चालन गरेका छन् ।
यस्तै बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकाले पनि यसैसाता राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेका हुन् । पालिकास्तरबाट छनौट भएका बिद्यार्थी खेलाडीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि बनाइने छ । यही फागुन १५ गतेदेखी बागचौर नगरपालिकाको थारमारेमा जिल्लास्तरको प्रतियोगिता सञ्चालन हुदैँ छ ।
जिल्ला खेलकुद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनको लागि स्थानिय तहले पनि लगानी गर्दै आएको बताउनुभएको छ । ‘अहिले सबै पालिकामा खेल गतिविधि भैरहेका छन्, फागुनको दोस्रो साता जिल्लास्तरको प्रतियोगिता सञ्चालन गरेर खेलाडी छनौट गरी प्रदेशस्तरको खेलको लागि सहभागि बनाइने छ’ उहाँले भन्नुभयो ।
उहाँले मेयर कप, अध्यक्ष कप, वडा कप जुनसुकै नाम दिएर खेल प्रतियोगिता सञ्चालन गरेपनि खेलकुदमा गरिएको लगानी भएको बताउनुभएको छ । ‘खेलक्षेत्रको विकासका लागि पुर्वाधार निर्माण देखी नयाँ खेलाडी उत्पादन गर्ने खालका कार्यक्रम पालिकाले सञ्चालन गर्दै आएका छन्, जिल्ला खेलकुद विकास समितीले पनि खेल र खेलाडीकै क्षेत्रमा काम गर्दै आएको छ’ उहाँले भन्नुभयो ।
पालिकाले पनि खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न लगानी बढाउन थालेका हुन् । जिल्लाका स्थानिय तहले ‘एक पालिका एक खेलमैदान’, ‘एक वडा एक खेलमैदान’ लगाएतका कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्लाको त्रिबेणी गाउँपालिकाले पालिकास्तरको खेलमैदान नै तयार पारेको छ ।
अरु पालिकाले पनि खेल क्षेत्रमा लगानी गर्दै आएका छन् । त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले खेल क्षेत्रलाई माथि उकास्न पूर्वाधार निर्माण गरिएको बताउनुभएको छ । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले खेल क्षेत्रमा गरेको लगानी जिवन्त रहनेभएकाले खेलक्षेत्रमा लगानी गर्न कन्जुस्याई नगर्ने बताउनुभएको छ ।
पालिकाले खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । खेलकुदमा युवाको आकर्षण बढाउने गरी थुप्रै योजना कार्यान्वयनमा लगिएको बताइएको छ । बिद्यालय तथा वडा तहबाटै प्रतिभावान् खेलाडी उत्पादन हुन् भन्ने उद्देश्यले खेलकुद पूर्वाधार निर्माणमा पनि जोड दिइएको अध्यक्ष पुनको भनाइ छ ।
हरेक वडामा खेल मैदान निर्माण तथा खेलकुदका सामग्री वितरणलाई अघि बढाइदा खेल गतिविधि प्रभावकारी बन्ने जनप्रतिनिधिको बुझाइ छ । सडक, शिक्षा र स्वास्थ्य जस्ता पूर्वाधारको विकासलाई मात्रै प्राथमिकता दिएका स्थानीय सरकारले अहिले भने खेलकुदका पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।