सल्यानमा छैन् ब्लड बैँक : रगत अभावमा छट्पट्टाउदैँ विरामी

तत्काल विरामीले रगत नपाउने तथा रक्त समुह नमिल्ने हुदा विरामीको ज्यान थप जोखिममा पर्ने गरेको छ । रगत कसलाई कुन समयमा कति चाहिन्छ भन्न सकिन्न । स्वयंसेवी रक्तदाताले दिएको रगतले नै रगत आवश्यक पर्ने विरामीको जीवन रक्षा गर्दछ ।

सल्यान, १३ फागुन ।

सल्यान सहित रुकुम र रोल्पाका विरामीको रोगको निदान हुने ठाँउ हो जिल्ला अस्पताल सल्यान । जिल्ला अस्पतालले सामान्य बिरामी जाँच देखी जटिल शल्यक्रिया सम्मका उपचार सेवा दिदैँ आएको छ । १५ शैयाको अस्पतालबाट ५० शैयामा स्तरोन्नती हुदैँ गरेको जिल्ला अस्पताल सल्यानमा अझै पनि ब्लड बैँक छैन् ।

जिल्ला अस्पतालमा मासिक रुपमा १ सय ५० बढी प्रसुति हुन्छन् । ती मध्ये ८ देखी १० वटा सम्मको शल्यक्रिया गर्नुपर्छ । यस्तै रक्त अल्पता, दुर्घटनाका बिरामी तथा अन्य जटिल खालको शल्यक्रिया गर्नुपर्ने विरामीलाई रगत चाहिन्छ । जिल्लामा मासिक वा बार्षिक कति रगत खपत हुन्छ ? त्यो तथ्यांक कसैसँग छैन् । तर जिल्लामा ब्लड बैक स्थापना नहुदाँ विरामी र बिरामीका आफन्तले भने ठुलो सास्ती भोग्दै आएका छन् ।

विरामी अस्पतालको शैयामा छट्पट्टाइ रहेको हुन्छ । तर आकस्मिक रुपमा रगत चाहिएको अबस्थामा बिरामीका आफन्त भने स्वयम्सेवि रक्तदाता, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ । तत्काल विरामीले रगत नपाउने तथा रक्त समुह नमिल्ने हुदा विरामीको ज्यान थप जोखिममा पर्ने गरेको छ । रगत कसलाई कुन समयमा कति चाहिन्छ भन्न सकिन्न । स्वयंसेवी रक्तदाताले दिएको रगतले नै रगत आवश्यक पर्ने विरामीको जीवन रक्षा गर्दछ ।

तर जिल्लामा ब्लड बैँक नहुदाँ रगतको लागि भौतारिनुपर्ने बाध्यता रहेको एक सुत्केरीका आफन्त सिता केसीले बताउनुभयो । ‘जिल्लामा नै ब्लड बैँक नहुदा रगतका लागि निकै दुःख पाइयो, गर्भवतिको अप्रेशन गर्नैपर्ने भयो, तर रगतको जोहो नहुदा सम्म अप्रेशन अघि बढ्न सकेन्’ उहाँले भन्नुभयो ‘सशस्त्र प्रहरीका एक जनाले रगत दिनुभयो, अप्रशेन पनि सफल भयो ।’

जिल्लामा रक्तदान गर्ने मान्छे नभएका होइनन् । तर रगत संकलन गरेर राख्र्ने ब्लड बैँक नहुदाँ समस्या भएको छ । पन्ध्रौ पटक रक्तदान गरेका रक्तदाता हिमाल यात्रीले जिल्लामा नै ब्लड बैँक नहुनु दुखःद पक्ष भएको बताउनुभएको छ । ‘जिल्लामा ब्लड बैँक स्थापनाका लागि हामीले पहिले देखी नै पहल गर्दै आएका हौँ, तर अझै पनि स्थापना हुन सकेको छैन्, यो जिल्लाको आवश्यकता हो’ उहाँले भन्नुभयो ।

उहाँले जिल्लामा संकलन गरिएको रगतलाई जिल्ला बाहिर पठाउने वातावरण मिलाउनुपर्ने बताउनुभएको छ । ‘अहिले जिल्लामा रगतको ठुलो माग छैन्, कतिपय रगतको सहजताको लागि दाङ्ग, नेपालगन्ज जाने गरेका छन्’ उहाँले भन्नुभयो ‘ब्लड बैँक स्थापना गरेर रक्तदाताबाट संकलन गरिएको रगत जिल्ला बाहिर पठाउने र आवश्यकताका आधारमा जिल्लामा ल्याउने व्यवस्था मिलाउनुपर्छ ।’

अहिले जलिट अप्रेशन गर्नुपर्ने बिरामी होस् या अन्य बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रक्तदान गर्नुपर्ने अवस्था छ । अस्पतालको शैयामा रगत नपाएर बिरामी छट्पटाइरहँदा रक्तदाताहरु खोज्नुपर्ने बाध्यता छ । गर्भवती, सुत्केरी र दुर्घटनाका गम्भीर घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेको जिल्ला अस्पताल सल्यानका डा. अभिषेक सिंहले बताउनुभयो ।

‘जिल्लामा दैनिक रुपमा रगतको आवश्यकता पर्दैन्, तर कुन बेला आवश्यकता पर्छ भन्न सकिन्न, दाताहरुबाट संकलन गरेर रगत राख्ने अवस्था पनि छैन्’ उहाँले भन्नुभयो ‘रक्तदान गर्न कतिपयले मान्दैनन्, कतिको रगत समुह नै मिल्दैन् ।’ उहाँले जिल्लामा नै ब्लड बैँक भएमा जिल्ला बाहिर रिफर गर्नुपर्ने कतिपय गर्भवति तथा विरामीको जिल्लामा नै शल्यक्रिया गर्न सकिने बताउनुभएको छ ।

भवन छ जनशक्ति छैन्

जिल्लामा नै ब्लड बैँक स्थापना गर्ने भनेर भवन निर्माण भएको करिब तीन बर्ष भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान मार्फत रु. २० लाखमा अस्पताल परिसरमा तीन कोठे भवन निर्माण भएको हो । ब्लड बैँक सञ्चालनको लागि केही उपकरण पनि खरिद गरिएको छ ।

ब्लड बैँक सञ्चालन गर्ने जनशक्ति नहुदाँ अझै पनि सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ब्लड बैँकका लागि जनशक्ति राख्ने वजेट कार्यालयसँग नभएको बताउनुभयो । ‘एक जना कर्मचारीले ब्लड बैँक सञ्चालन गर्नसक्ने सम्भावना छैन्, कम्तिमा तीन जना कर्मचारी हुनुपर्छ, कर्मचारीको तलव व्यवस्थापन नै मुख्य समस्या हो’ उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस