चार दिनमा २ सय ५ कुकुरको बन्ध्याकरण

सल्यान, १६ फागुन ।

सल्यानमा कुकुरको आतङ्क बढेपछि बन्ध्याकरण गरिएको छ । चार दिनसम्म जिल्लाको सदरमुकाम खलंगामा निशुल्क बन्ध्याकरण तथा रेविज बिरुद्धको खोप शिविर सञ्चालन गरेर २ सय ५ वटा कुकुरको बन्ध्याकरण गरिएको हो । जसमा १ सय ३५ वटा भाले र ७० वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।

शारदा नगरपालिकाको आयोजना तथा हार्ट नेपालको प्राविधिक सहयोगमा शनिवार देखी मंगलवार सम्म कुकुर विरालोको निशुल्क बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको थियो । रेविजको महामारीबाट बच्न र भुस्याहा कुकुरको व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण मार्फत कुकुरको नियन्त्रण गर्ने अभियान थालेको शारदा नगरपालिका पशु सेवा शाखाका सहायकस्तर पाँचौँ मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले कुकुरहरुले मानिसलाई झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने र दुर्घटनासमेत निम्त्याएकाले स्थायी बन्ध्याकरण गरिएको जानकारी दिनुभयो । कुकुरका समूहमा धेरै हुने, कृषकका घर–घर गएर साना पशु चौपायालाई आक्रमण गर्ने र मान्छेलाई समेत टोक्न सक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालिएको उहाँको भनाइ छ ।

कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप दिएर गरिने भएकाले रेबिजको जोखिम पनि कम हुने उहाँले बताउनुभयो । यसबाट कुकुरको सङ्ख्या नियन्त्रण हुने र कुकुरले टोकी हाले पनि रेविज लाग्ने खतरा नरहने भएकोले बन्ध्याकरण तथा रेविज बिरुद्धको खोप शिविर महत्वपूर्ण भएको उहाँको भनाइ छ । स्थायी बन्ध्याकरण गर्दा कुकुरहरूको आयु पनि बढी हुने, मोटाउने र स्वच्छ रहने जनाइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस