तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन : उपमहासचिव ज्वाला

सल्यान, १७ फागुन ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीसँग एकताको सम्भावना नभएको बताउनुभएको छ । उहाँले संसदमा प्रतिनिधित्व गर्ने केही पार्टीसँग एकताको तयारी गरिएपनि तत्कालको लागि त्यो सम्भावना पनि नभएको बताउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) सल्यानको जिल्ला कमिटी बैठकलाई मंगलवार खलंगामा सम्बोधन गर्दै ज्वालाले भन्नुभयो ‘माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग एकताको लागि थालिएको पहलले तत्काल सार्थकता पाउने सम्भावना छैन् ।’

तत्काल पार्टी एकता नभएपनि केही दलसँग मोर्चा वनाएर अघि बढ्न सकिने उहाँको भनाइ छ । एकीकृत समाजवादी र एमालेका बिचमा राष्ट्रपति निर्वाचनले केही दुरी घटेपनि बाहिर आशंका गरिएजस्तो एमालेसँग पनि एकता सम्भव नभएको उहाँले बताउनुभयो । ‘हिजोका दिनमा पार्टी भित्रैको थिचोमिचो सहन नसकेर नयाँ पार्टी वनाएका हौँ, अब फेरि थिचोमिचो सहनका लागि तत्काल कुनै पनि पार्टीसँग एकता हुदैन्’ उहाँले भन्नुभयो ‘बरु निति विचार मिल्नेसँग मोर्चाबन्दी गरेर अघि बढ्छौँ ।

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ज्वालाले फुट र बिभाजनले कम्युनिस्ट आन्दोलनलाई घाटा भएकाले पार्टी एकता नभएपनि मोर्चाबन्दी गर्नुपर्ने बताउनुभयो । गएको निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि निराश हुनुपर्ने अवस्था नरहेको र राष्ट्रपतिको निर्वाचनको मतभार हेर्दा चौथो शक्तिका रूपमा आफ्नो पार्टी रहेको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्नभन्दै नेकपा एमालेले ढिला गरेर पत्र पठाएको बताउनुभएको छ । ‘हिजोसम्म हाम्रो पार्टीलाई पार्टी नै नठान्ने एमालेले राष्ट्रपतिको निर्वाचनमा मतभारको आधारमा चौथो शक्तिका रुपमा देखेर नै मत दिनभन्दै पत्र पठाएको हो, तर एमालेले ढिला गरेर पत्र पठायो, केही दिन पहिल्यै पत्र पठाएको भए परिस्थिती फरक हुन्थ्यो होला’ उहाँले भन्नुभयो ‘अहिले एमालेबाट राष्ट्रपति पदका उम्मेदवारलाई मत दिनसक्ने अवस्था छैन् ।’

उपमहासचिव ज्वालाले अहिलेकै गठबन्धन भत्काउन केहि शक्ति सक्रिय रहेको दावी गर्नुभयो । पाँच बर्षसम्म अहिलेकै गठबन्धन कायम रहने दावी गरेका ज्वालाले आफ्नो पार्टी सरकारमा सहभागि हुने वा नहुने बारेमा भने केही खुलाउनु भएन् । विगतका दिनमा जिल्लामा पार्टीलाई बलियो बनाउन धेरै दुःख गरेको बताउदैँ उहाँले उत्साह र उर्जाका साथ पार्टी र संगठन निर्माणमा जोडदिन नेताकार्यकर्तालाई निर्देशन दिनुभयो ।

बैठकमा पार्टीका जिल्ला इन्चार्ज तथा राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरा, पार्टीका केन्द्रिय सदस्य भद्रसिंह बुढा, लोक बहादुर डाँगी र शारदा परियार लगाएतकाले बोल्नुभएको थियो । पार्टीका जिल्ला अध्यक्ष हरी केसीको अध्यक्षता एवम् जिल्ला उपाध्यक्ष भोला केसीको स्वागत मन्तव्यबाट शुरु भएको बैठकको सहजीकरण पार्टी सचिव रमेश गौतमले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस