राष्ट्रपति रनिङ शिल्डको उपाधि दोस्रो पटक छत्रेश्वरीलाई

सल्यान, १९ फागुन ।
सल्यान जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दोस्रो पटक छत्रेश्वरी गाउँपालिकाले जितेको छ । विहीबार जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको हो । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको थियो । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका सहभागि भएको प्रतियोगितामा सबैभन्दा धेरै २७ पदक छत्रेश्वरीले जितेको हो ।

जसअन्र्तगत १० स्वर्ण, १५ रजत २ कास्य गरेर जम्मा २७ वटा पदक जितेर छत्रेश्वरी गाउँपालिका पहिलो भएको जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ । त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ भने ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका चौँथो भएको छ ।

यस्तै ५ स्वर्ण, ७ रजत र ६ कास्य सहित १८ पदक जितेर दार्मा गाउँपालिका पाँचौ, ५ स्वर्ण, २ रजत र २ कास्य सहित ९ पदक जितेर सिद्धकुमाख गाउपालिका छैटौँ, ३ स्वर्ण, ३ रजत र १० कास्य सहित १६ पदक जितेर कपुरकोट गाउँपालिका सातौँ, समान एक/एक रजत र एक/एक कास्य सहित २/२ पदक जितेर बन्गाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिका आठौँ तथा ४ कास्य पदक सहित त्रिबेणी गाउँपालिका नवौँ भएको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रछात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेल लगाएतका खेल सञ्चालन गरिएको थियो । पालिकास्तरबाट छनौट भएका करिब ५ सय खेलाडीहरुका विचमा प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा विभिन्न पदक हात पारेका तथा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरुलाई छनौट गरेर प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गराइने उहाँको भनाइ छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावलले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिनुभएको छ । खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएको उहाँले बताउनुभएको हो । कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख शिवराज अधिकारीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस