सल्यान, २५ फागुन ।
मार्च ८ अर्थात ११३ औं अन्तराष्ट्रिय महिला दिवस सल्यानमा पनि मनाइयो । सल्यानका महिलाहरुले विविध कार्यक्रम गरि जिल्लाभरमा नै अन्तराष्ट्रिय महिला दिवसमा मनाएका हुन् । सरकारी कर्मचारी महिलाहरुले कार्यलयको जागिरबाट विदा पाएर घर–परिवार र साथीहरुसँग महिला दिवस मनाए । तर, श्रम गर्ने श्रमिक महिलाहरुकै लागि महिला दिवसले छोएन् ।
खास गरेर मजदुरी गरेर खाने महिलाहरुको लागि यो दिवसले नछोएको पाइएको हो । जिल्लामा महिलाहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाइरहदाँ केही महिलाहरु भने दिवस मनाउन भन्दा आफ्नै व्यापार गर्नमा व्यस्त देखिन्थेँ । बुधबार जिल्लाको शारदा नगरपालिकाको मुख्य आयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा टुडिखेलमा महिला दिवस मनाइरहदा अधिकांशको ध्यान काफल किनेर खानेमा बढी केन्द्रित थियो ।
चैत–बैशाखमा पाक्ने काफल फागुनमै पाकेपछि काफल किन्ने र बेच्नेको चहलपहल निकैँ थियो । शारदा नगरपालिका–५ कि प्रभा यरीले चैतमा पाक्ने चैते काफल आजभोली नै पाक्न थालेकाले बिक्रीका लागि बजारसम्म आउन थालेको बताउनुभयो । ‘यो काफल पाक्ने सिजन होइन्, तर पानी नपरेकाले चैतमा पाक्ने काफल आजभोली नै पाक्न थाले’ उहाँले भन्नुभयो ।
उहाँले एक माना काफलको एक सय रुपैँयामा विक्री भैरहेको बताउनुभएको छ । ‘यो बर्ष मैले भर्खर काफल बेच्न थालेको छु, दिनमा एक÷डेढ पाथी काफल विक्री हुन्छ, अहिलेसम्म करिब चार हजारका काफल बेचेँ’ उहाँले भन्नुभयो ‘घरायसी समस्या टार्न काफल आम्दानीको मुख्य स्रोत बनेको छ ।’ आज महिला दिवस भन्ने सुनेको भएपनि काफल बेच्नको लागि बजारसम्म आएको उहाँको भनाइ छ ।
अर्का स्थानिय सुशिला बुढाथोकीले महिला दिवसले आफुलाई नछोएको बताउनुभयो । ‘चैतमा पाक्ने काफल फागुनमै पाके, त्यसै खेर फाल्नुभन्दा पाकेका काफल बेचेमा २/४ हजार आम्दानी हुन्छ कि भनेर आएकी हँु’ उहाँले भन्नुभयो ‘महिला दिवस भएपनि के गर्ने होर ? घरमा बस्नुभन्दा काफल बेचे २/४ सय आम्दानी हुन्छ ।’ काफल बेचेर नै नुनतेलको जोहो देखी घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ ।
दिवसका अवसरमा बिबिध कार्यक्रम
अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा सल्यानमा पनि विविध कार्यक्रम गरिएको छ । ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ सदरमुकाम खलंगामा पनि दिवस मनाइएको हो । दिवसकै अवसरमा जिल्लाको सदरमुकाम खलंगामा र्याली समेत निकालिएको थियो । यस्तै कुर्सी दौड, एक सय मिटरको दौड, घैटो फोड लगाएका बिभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको थियो । शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल बार एसोसियन सल्यानका अध्यक्ष चन्द्र प्रकाश वली, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढा, मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य दिल्ली प्रसाद जैसी, मानवअधिकार रक्षक सञ्जाल सल्यानका संयोजक बुद्धि पुन लगाएतकाले बोल्नुभएको थियो । शारदा नगरपालिका–२ का वडासदस्य रमा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अधिकारकर्मी मिना बुढाथोकीले गर्नुभएको थियो ।