सल्यानमा ब्लड बैँक सञ्चालनका लागि अक्षयकोष स्थापना

जिल्लामै ब्लड बैँक स्थापना हुने खबर सुनेपछि बिरामी र आफन्तहरूमा खुसियाली छाएको छ ।

सल्यान, २६ फागुन ।

सल्यानमा ब्लड बैँक स्थापना गरिने भएको छ । ब्लड बैँक नहुदा बिरामी र बिरामीका आफन्तले सास्ती भोग्दै आएकोमा अव भने जिल्लामा नै ब्लड बैँक स्थापना गरिने भएको हो । १५ शैयाबाट ५० शैयामा स्तरोन्नतीको तयारीमा रहेको जिल्ला अस्पतालमा ब्लड बैँक स्थापना हुने भएपछि स्थानिय खुसी भएका छन् ।

जिल्लामा एउटा जिल्ला अस्पताल, दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, ४५ वटा स्वास्थ्य चौकी र दर्जनभन्दा बढी निजी अस्पताल रहेका छन् । जिल्लामै ब्लड बैँक स्थापना हुने खबर सुनेपछि बिरामी र आफन्तहरूमा खुसियाली छाएको छ । ५ औँ पटक रक्तदान गर्नुभएका रक्तदाता जयराम सिंहले ब्लड बैँक जिल्लाको आवश्यकता भएकाले छिटो भन्दा छिटो यसको सञ्चालन गरिनुपर्ने बताउनुभएको छ ।

ब्लड बैँक स्थापना संचालन तथा व्यवस्थापनका लागि अस्पताल परिसरमा तीन कोठे भवन निर्माणसँगै आवश्यक उपकरणको व्यवस्था भएको जिल्ला अस्पतालमा ब्लड बैँक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी सल्यानले अक्षयकोष स्थापना गरेको छ । फागुन १३ गते सल्यान टुडे डटकममा ‘सल्यानमा छैन ब्लड बैंकः रगत अभावमा छट्पटाउँँदै बिरामी’ शिर्षकको समाचार प्रकाशित भएको थियो ।

ब्लड बैँक स्थापनाका लागि नागरिकले दिएको दवाव र समाचारको प्रभावस्वरुप ब्लड बैँक स्थापनाका लागि अक्षयकोष स्थापना गरिएको हो । हालैसम्पन्न नेपाल रेडक्रस सोसाइटी सल्यानको बैठकको निर्णय अनुसार ब्लड बैँक स्थापनाका लागि नेपाल बैँक लिमिटेड सल्यान शाखामा अक्षयकोष स्थापना गरिएको हो ।

कोषमा तत्कालको लागि शारदा नगरपालिकाले उपलब्ध गराएको एक लाख पचास हजार रुपैँया राखिएको र अक्षयकोषमा सहयोग प्राप्त हुने क्रम शुरु भएको नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री इन्द्र कुमार शर्माले जानकारी दिनुभयो । उहाँले ब्लड बैँक सञ्चालनका लागि रेडक्रससँग आफ्नो छुट्टै वजेट नभएकाले अक्षयकोष मार्फत सञ्चालन गर्ने तयारी दिएको बताउनुभयो ।

‘जिल्लामा ब्लड बैँक स्थापना गर्नु आजको आवश्यकता हो, भवन र उपकरण भैसकेको अवस्थामा जनशक्ति व्यवस्थापन गर्नु चुनौती थियो’ उहाँले भन्नुभयो ‘अहिले अस्पताल १५ शैयाबाट सञ्चालन भैरहेको छ, यसलाई ५० शैयाको रुपमा विकास गर्ने लक्ष्य छ, त्यसो भए जिल्लामा रगतको माग पनि धेरै हुन्छ, त्यसैले सेवालाई थप व्यवस्थित गर्न अक्षयकोष स्थापना गरेका हौँ ।’

उहाँले अक्षयकोषलाई एक करोड बढी बनाउने लक्ष्य रहेको बताउनुभएको छ । ‘तीनै तहका सरकार, विभिन्न दातृनिकायसँग सहयोग माग गर्छौ, कोषलाई बढाएर एक करोड पुर्याउने लक्ष्य छ, त्यसैको व्याजबाट आएको रकमले पुग्नेगरी ब्लड बैँक स्थापना गर्दैछौँ’ उहाँले भन्नुभयो । विरामीलाई आवश्यक पर्ने रगतका लागि भौतारिनु पर्ने बाध्यताको अन्त्य हुने गरी अक्षयकोष मार्फत ब्लड बैँक सञ्चालन गरिने उहाँको भनाइ छ ।

जिल्लामा मासिक १ सय ५० भन्दा बढी सुत्केरी गराइने जिल्ला अस्पतालमा औषतमा १० जनालाई शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्छ । उनीहरुलाई मात्र होइन दुर्घटनाका घाइतेको उपचारमा पनि रगत चाहिन्छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले ब्लड बैँक स्थापनाका लागि भवन समेत निर्माण भैसकेको अवस्थामा रेडक्रसले अक्षयकोष स्थापना गरेसँगै ब्लड बैँक सञ्चालनमा टेवा पुगेको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस