सल्यानमा वन डढेलो नियन्त्रण सप्ताह सुरू

वनजंगलमा डढेलो लागेमा रुखबिरुवा, चराचुरुगीं, जीवजन्तु मात्र नभइ मानिसको समेत ज्यान लिन सक्नेभएकाले आगलागी हुन नदिनको लागि वन डढेलो नियन्त्रण सप्ताह शुरु गरिएको हो ।

सल्यान, २ चैत ।
सल्यानमा ‘वन जंगललाई डढेलोबाट बचाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने मूल नारासहित वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजना र जिल्ला प्रशासन कार्यालय सल्यान, नेपाली सेनाको सवुज गण सल्यान, जिल्ला प्रहरी कार्यालय सल्यान र सशस्त्र प्रहरी वल नेपाल, आश्रित गुल्म सल्यानको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो ।

वनजंगलमा डढेलो लागेमा रुखबिरुवा, चराचुरुगीं, जीवजन्तु मात्र नभइ मानिसको समेत ज्यान लिन सक्नेभएकाले आगलागी हुन नदिनको लागि वन डढेलो नियन्त्रण सप्ताह शुरु गरिएको हो । डिभिजन वन कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख जीतेन्द्र महतले सल्लैसल्लाको वन भएका कारण सल्यानमा बर्सेनि आगलागीबाट पर्यावरणीय विनाश हुनको साथै करोडौँको भौतिक तथा मानवीय क्षति हुने गरेकाले डढेलो नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

जिल्लाका अधिकांश जंगलमा सल्ला प्रजातिको बाहुल्यता रहेको छ । आगलागीका हिसाबले उच्च जोखिममा रहेको यस जिल्लामा वनमा लागेको डढेलोबाट बस्तीमा समेत क्षति पुग्ने गरेको छ । आगलागीबाट रुखविरुवासँगै वन्यजन्तु तथा वन्यजन्तुको वास स्थान समेत सखाप हुने गरेको उहाँको भनाइ छ ।

उहाँले डढेलोलाई नियन्त्रण गर्न स्थानीय सामुदायिक वन र उपभोक्ताहरु नै धेरै जबाफदेही हुनुपर्ने बताउनुभयो । ‘डढेलो नियन्त्रणका लागि कार्यालयले काम गरी रहेको छ, विभिन्न निकायसँग समन्वय र प्रचारप्रसारका काम पनि गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘स्थानीय उपभोक्ता र सामुदायिक वन समूह बढी जिम्मेवारी बन्नुपर्छ ।’ डढेलो विरुद्ध सचेतना, अग्नीरेखा निर्माण, अग्नि रेखा सरसफाई लगाएतका कामको शुरुवात गरिएको उहाँको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले वन डढेलोबाट मानव, वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षति समेत हुने गरेको बताउनुभएको छ । ‘डढेलो नियन्त्रणमा समुदायको तदारुकता जरुरी छ, त्यसैले वन जोगाउन सामुदायिक वनका उपभोक्ताहरुको अहम् भूमिका रहेकाले सबै मिलेर वनलाई डढेलो लाग्नबाट जोगाउनु पर्छ’ उहाँले भन्नुभयो ।

आगलागीका विभिन्न कारणले वनमा हुने क्षति रोक्न पूर्वसजगता अपनाउन आवश्यक रहेको उहाँको भनाई छ । डिभिजन वन कार्यालय मातहत रहेका जिल्लाका ८ वटै सवडिभिजन वन कार्यालयबाट समेत डढेलो नियन्त्रण सम्वन्धि विविध गतिविधि सञ्चालन गरिएको छ । कार्यक्रमको सहजीकरण कार्यालयका फरेष्टर देवेन्द्र महतले गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित