८२ वर्षको उमेरमा पनि छैन नागरिकता

माइती पक्षको पहिचान, जन्मदर्ता र विवाह दर्ता नहुँदा शारदा नगरपालिका–१ शान्तिनगरकी ८२ वर्षीया पुनी नेपालीले नागरिकता नपाउनुभएको हो ।

 

सल्यान, ३ चैत ।

 सल्यानमा ८२ वर्षीया एक बृद्धाले अझै नागरिकता पाउनुभएको छैन । माइती पक्षको पहिचान, जन्मदर्ता र विवाह दर्ता नहुँदा शारदा नगरपालिका–१ शान्तिनगरकी ८२ वर्षीया पुनी नेपालीले नागरिकता नपाउनुभएको हो । नागरिकता नहुँदा उहाँ सरकारबाट पाउने सामाजिक सुरक्षा भत्तादेखि सरकारी सेवा सुविधाबाट समेत बञ्चित हुनुभएको छ ।

१६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने हरेक नेपाली नागरिकको नैसर्गिक अधिकार हो । पुनीका श्रीमान डब्बले वादीसँग २०५५ सालमा बनाएको नागरिकता छ तर पति वर्षौंसम्म भारतमा बस्दा विवाह दर्ता नभएको र माइती पक्षको समेत पत्ता नलाग्दा जन्मदर्ताको प्रक्रिया रोकिएपछि पुनीले अझै नागरिकता नपाएको उहाँका आफन्तहरुले बताए ।

नागरिकता नहुँदा सरकारी सेवासुविधा पाउनबाट आमा बञ्चित भएको छोरी गीता नेपालीले जानकारी दिनुभयो । ‘म जन्मिएको दुई महिनापछि बुवा कालापार जानुभएछ, तर ३०/३५ वर्षसम्म पनि उहाँ घर फर्कनु भएन, मेरै नागरिकता बनाउन समेत समस्या भएको थियो, बुवा घर हुनुभएन, आमाको नागरिकता थिएन’– छोरी गीताले भन्नुभयो– ‘बुवा अहिले घर फर्किसक्नुभएको छ, आमाको नागरिकता भने अझै हुन सकेको छैन ।’

पुनी यसअघि नागरिकता बनाउन पटक–पटक वडा कार्यालयमा धाउनुभएको पनि थियो । प्रमाण जुटाउन समस्या भएपछि उहाँ नागरिकता नै नलिई बस्नुभएको थियो । अहिले त बुढेसकाल लागेर आमा बोल्न र हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न । आमाको नागरिकता बनाउनको लागि सिफारिस लिन वडा कार्यालयमा दुई पटक गएँ, वडा कार्यालयले कि विवाह दर्ता, कि जन्मदर्ता लेऊ भन्यो, त्यो बेला जन्मदर्ता हुँदैन्थ्यो, विवाह दर्ता गर्ने बुवा घर हुनुभएन’– गीताले भन्नुभयो– ‘हारथाक भएर नागरिकता नलिई बस्नुभएको हो ।’

मादल बनाउने र माछा मारेर जीवन निर्वाह गर्दै आएको वादी परिवारले अहिले गिट्टी कुटेर, बालुवा चालेर दैनिकी चलाउँदै आएको छ । ‘आमाको उमेर ८२ पुगिसक्यो तर अझै नागरिकता छैन, यदि नागरिकता भएको भए, सामाजिक सुरक्षा भत्तावापत आएको रुपैयाँले नै बुढेसकालमा मिठोमसिनो खाने हुन्थ्यो होला’– छोरी गीताले भन्नुभयो । आमाको माइतीघर डाँडाकटेरी भएको थाहा पाए पनि माइती पक्षका आफन्त कोही नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

शारदा नगरपालिका–१ का वडाअध्यक्ष प्रदीपकुमार पाण्डेले पुनीको विषयमा आफूले सहजीकरण गर्ने बताउनुभयो । ‘यस बारेमा अहिलेसम्म मलाई थाहा थिएन, हाम्रै वडाको नागरिक नेपाली नागरिकता पाउनबाट छुट्नु हँुदैन, वडा कार्यालयमा आउनुभयो भने नागरिकता बनाउनको लागि समन्वय गरेर प्रक्रिया अगाडि बढाउँछु’– उहाँले भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले वडा कार्यालयको सिफारिसका आधारमा मात्रै नागरिकता बनाउन सकिने बताउनुभयो । उहाँले नागरिकता लिने व्यक्तिको जन्ममिति र जन्मस्थान प्रमाणित नहुँदा समस्या हुने बताउनुभयो । माइतीपक्ष भए नागरिकताका लागि सहजीकरण गर्न सक्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित