प्रारम्भिक बालविकासमा लगानी गर्ने प्रतिवद्धता

सल्यान, १३ चैत ।
प्रारम्भिक बालविकासमा लगानी गर्न प्रतिवद्धता गरिएको छ । गर्भावस्था देखी ८ वर्ष उमेरका बालबालिकाहरुको सर्वोत्तम हित, अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकार, जनप्रतिनिधि, विद्यालय, शिक्षाप्रेमी, सञ्चार क्षेत्र, नागरिक समाजबाट लगानीका लागि आपसी समन्वयमा सक्रिय भूमिका निर्वाहका लागि प्रतिवद्धता गरिएको हो ।

शारदा नगरपालिकाको आयोजना र युनिसेफ नेपाल तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त सहयोगमा सञ्चालित एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशालामा गर्भावस्था देखी ८ वर्ष उमेरका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि सामुहिक प्रतिवद्धता जनाइएको हो ।

नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना अन्तर्गत २ दिन सम्म आयोजना गरिएको कार्यशालामा प्रारम्भिक बालविकासको अवधारणा, महत्व, प्रारम्भिक बालविकासका पक्ष, प्रारम्भिक बालविकासका तत्व र एकीकृत प्रारम्भिक बालविकास कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

साथै प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गरी बालबालिकाहरुको सर्वाङ्गीण विकासमा स्थानीय सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड समेत दिइएको छ । यस्तै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा ९ सदस्यी प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । प्रारम्भिक बालविकासमा लगानी गर्न प्रारम्भिक बालविकासका कार्यक्रमलाई एकीकृत रुपमा सेवाप्रवाहको लागि वस्तीस्तरबाट नै प्रस्तावित कार्यक्रम र क्रियाकलाप कार्यान्वयन गर्न प्रस्तावित खाका निर्माण गरिएको छ ।

प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न निकाय/पक्षबाट भएका कार्यहरु एकीकृत गरी प्रारम्भिक बाल्यावस्थाका बालबालिकाको सर्वाङ्गीण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहको भूमिका र स्थानीय तहमा तर्जुमा गरिने वार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी अभिबृद्धि गरेर गुणस्तर अभिवृद्धि गर्न मद्धत पु¥याउने उद्धेश्यले कार्यशालाको आयोजना गरिएको बालविकास संयोजक राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा, थप गरौं लगानी प्रारम्भिक बालविकासमा भन्ने भनाईलाई आत्मसाथ गर्दै सञ्चालित कार्यशालामा बोल्दै नगरप्रमुख भण्डारीले प्रारम्भिक उमेरका बालबालिकाहरुको हित र विकासमा नगरपालिकाले लगानी बढाउने बताउनुभयो ।

कार्यशालामा नगरउपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख प्रशासकीय प्रमुख लिलाधर ववाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, वडा सचिव लगाएतको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका कार्यक्रम संयोजक शशी विसी र सिनीयर फिल्ड संयोजन अधिकृत रितिका दाहालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस