चैते धान रोप्दै किसान

र्खे धानको खेती मात्रै गर्दै आएका कृषकहरुलाई चैते धानको खेतीमा आकृषित गर्दै उत्पादन वढाउने उद्धेश्यका साथ कुमाख गाउँपालिकाको रागेचौर स्थित मर्मखोला किनारमा रहेका खेतमा चैते धानको परीक्षण खेती शुरु गरिएको हो ।

सल्यान, १५ चैत ।

सल्यानको कुमाख गाउँपालिकामा चैते धानको परिक्षण खेती शुरु गरिएको छ । बर्खे धानको खेती मात्रै गर्दै आएका कृषकहरुलाई चैते धानको खेतीमा आकृषित गर्दै उत्पादन वढाउने उद्धेश्यका साथ कुमाख गाउँपालिकाको रागेचौर स्थित मर्मखोला किनारमा रहेका खेतमा चैते धानको परीक्षण खेती शुरु गरिएको हो । जिल्लालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानको आर्थिक सहयोगमा चैते धानको परिक्षण अन्र्तगत धान रोपाइ गरिएको हो ।

चैते धानको परिक्षणका लागि यस वर्ष जनमैत्री कृषक समूहका अध्यक्ष कुमारी बुढाथोकीको करिब ४ रोपनी खेतमा चैते धान लगाइएको छ । परियोजनाका नायब प्राबिधिक सहायक हेमन्त रावतले यसैबर्ष देखी चैते धानको परिक्षण थालिएको बताउनुभएको छ । कुमाख गाउँपालिकालाई २०७६ सालमा ‘धान जोन’का रूपमा घोषणा गरे पनि कोरोना भाइरसका कारण यसलाई विस्तार गर्न नसकिएको र अहिले चैते धानको परिक्षण थालिएको उहाँको भनाइ छ ।

उहाँले यस बर्ष १५ रोपनी क्षेत्रफलमा चैते धानको परिक्षण गर्ने योजना भएपनि हाल ४ रोपनीमा मात्रै परिक्षण थालिएको बताउनुभयो । उहाँले चैते धानको परीक्षण सफल भएमा कुमाख गाउँपालिकाको मर्मखोलाको आसपासमा भएका खेतीयोग्य जग्गामा दुई बाली धान लगाउन सकिने बताउनुभयो । धान उत्पादनबाटै जिल्लाबासी आत्मनिर्भर हुन सक्ने र दुई बाली धान लगाउँदा बढी भएको खाद्यान्न बाहिर बिक्री गर्न सक्ने भएकाले चैते धान परीक्षण थालिएको उहाँको भनाइ छ ।

जनमैत्री कृषक समूहका अध्यक्ष बुढाथोकीले सिँचाइ सुविधा भएकाले पहिलो पटक चैते धानको परिक्षण खेती थालिएको बताउनुभयो । ‘विगतका बर्षहरुमा बर्खे धानको खेती गर्दै आएका थियौँ, यसबर्ष चैतमै धानको रोपाई गर्न पाएकोमा खुसी छु’ उहाँले भन्नुभयो ‘यो बर्ष सुरुवात मात्रै गरेका छौँ, उत्पादन राम्रो भएमा अर्को बर्षदेखी व्यवसायिक रुपमा चैते धानको खेती गर्छौ ।’ पानी नपरे पनि सिँचाइ सुविधा भएका कारण कुमाख गाउँपालिकाको रागेचौर क्षेत्रमा मध्य चैतमै चैते धान रोपिएको उहाँको भनाइ छ ।

कृषक दिपक बुढाथोकीले बर्षमा तीन वाली उत्पादन भएमा खाद्यान्नमा कमी नआउने बताउनुभयो । ‘अहिलेसम्म त बर्षमा दुई वाली मात्रै उत्पादन हुदैँ आएको थियो, यो पटक तीन वाली उत्पादन गर्ने भनेर चैते धान रोपेका छौँ, यहाँको हावापानी चैते धानको लागि अनुकुल देखिएकाले राम्रो उत्पादन हुने अपेक्षा छ’ उहाँले भन्नुभयो ।

सल्यानमा बर्खे धान र चैते धान गरेर दुइ पटक धान खेती गरिदै आइएको छ । जिल्लाभर यसवर्ष ७ हजार ६६ हेक्टरमा बर्खे र साढेँ ४ हेक्टरमा चैते धानको खेति गरिएको थियो । जसबाट ३० हजार ५ सय ५६ मेट्रिकटन धान उत्पादन भएकोमा १४ मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि विकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम कुमार बस्नेतले जिल्लामा चैते धान खेतीको सम्भावना धेरै भएको बताउनुभएको छ ।

कालिमाटी गाउँपालिका–६ छरछरे आसपासमा अहिलेपनि चैते धानको उत्पादन भैरहेको उहाँको भनाइ छ । उहाँले किसानले गर्मी हुने ठाउँमा चैते धान फलाएर अन्य कृषकलाई उत्पादनमा जोडिन हौसला दिनुपर्ने बताउनुभएको छ । जिल्लाको त्रिवेणी, शारदा, छत्रेश्वरी, कुमाख, बन्गाड कुपिण्डे लगाएतका स्थानिय तह पनि चैते धान खेतीको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यसको खेतीविस्तार गर्नुपर्ने उहाँको भनाइ छ । अहिले जिल्लाका अधिकांश स्थानमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस