शुरु भयो सिजन : अदुवा रोप्दै किसान

प्राय : फागुन महिनाको दोस्रो सातादेखि चैत महिनाको अन्त्यसम्म अदुवा रोपिन्छ ।

सल्यान, २६ चैत ।

सल्यानमा अदुवा रोप्न शुरु भएको छ । अदुवा उत्पादक किसान अहिले अदुवा रोप्न ब्यस्त छन् । नगदे बाली अन्तर्गत पर्ने मसलादार खेती अदुवाको रोपाइँमा किसान ब्यस्त बनेका हुन् । नेपालमै अदुवाको लागि प्रसिद्ध माल्नेटा–ढारखानीसँगै सिद्धकुमाख, बागचौर, कालीमाटी लगायत अदुवा उत्पादन हुने क्षेत्रका किसानले अदुवा रोप्न थालेका हुन् ।

बिउ अदुवाको लागि खाल्टो खनेर भण्डारण गरेका जिल्लाका किसानहरुले अदुवा रोप्ने सिजन आएसँगै खाल्टोबाट अदुवा निकालेर रोप्न थालेका हुन् । प्राय : फागुन महिनाको दोस्रो सातादेखि चैत महिनाको अन्त्यसम्म अदुवा रोपिन्छ । जिल्लामा कोल्डस्टोर नहुँदा परम्परागत शैलीमा बिउ र घरायसी प्रयोजनका लागि बारीका डिलमा खाल्टो खनेर भण्डारण गरिएको अदुवा अहिले निकालिएको हो । प्रशस्त प्रांगारिक पदार्थ भएको मलिलो, पानीको निकासको व्यवस्था राम्रो भएको, राम्रोसँग हावा खेल्न सक्ने माटो अदुवा खेतीको लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

अदुवा खेतीको लागि जमिनलाई दुई पटक खनजोत गरी, डल्लालाई धुलो बनाई, झारपात हटाएर भिरालो जग्गा भएमा माटो नबग्ने गरेर तेर्सो क्यारीहरु बनाई आवश्यकता अनुसारको प्रांगारिक मललाई जोत्नुपूर्व राखेर जग्गा तयार गर्नुपर्दछ र पानी नजम्ने व्यवस्था मिलाउनुपर्छ । माटोको चिस्यान बचाई राख्न अदुवा रोपेपछि कुसुम वा स्याउलाले छापोको रुपमा ढाक्ने गरिन्छ । अदुवाबाट राम्रो आम्दानी हुने भएपछि मकै रोप्नुको सट्टा अदुवा रोपिएको शारदा नगरपालिका–१४ की इन्द्रा गिरीले जानकारी दिनुभयो ।

‘बिउको लागि मंसिर–पुसमा खाल्टोमा भण्डारण गरिएको अदुवा अहिले रोपेका हौं, रोपिएको अदुवालाई घाम र चिसोबाट बचाउनुपर्छ त्यसैले यो सिजन उपयुक्त हो’– उहाँले भन्नुभयो– ‘यस वर्ष छ क्वीन्टल बिउ रोपेका छौं ।’

उहाँले अहिले बिउ अदुवा प्रति क्वीन्टल आठ हजार रुपैयाँका दरले बिक्री भइरहेको बताउनुभयो । ‘पहिले त अदुवाले राम्रो फाइदा दिन्थ्यो, मूल्य पनि राम्रो पाउँथ्यो, विगत केही वर्षयता भने अदुवाले सोचेअनुसारको मूल्य पाउन सकेको छैन’– उहाँले भन्नुभयो– ‘तर मकैलगायतका अरु बालीभन्दा अदुवाबाट बढी फाइदा हुने भएकाले अदुवा खेती गर्न छोडिएको छैन ।’ अर्का किसान हरिहर गिरीले अदुवाले सोचेअनुसारको मूल्य नपाए पनि खेती गर्न नछोडिएको बताउनुभयो । ‘गत वर्ष अदुवाको उत्पादन राम्रो भएको थियो तर सोचेअनुसारको मूल्य पाउन सकेन, त्यही भएर यसपटक आठ क्वीन्टल मात्रै बिउ रोपेको छु’– उहाँले भन्नुभयो– ‘अदुवाको भाउ भने घटिरहेको छ तर कुनै न कुनै वर्ष मूल्य पाउला भनेर उत्पादन गर्न छाडेको छैन ।’ उहाँले अदुवा खेतीमा अरु खेती जसरी दुःख कम हुने बताउनुभयो । अदुवा रोप्न ढिला भएमा बोट पूरा बढ्न नपाउने र फलस्वरूप उत्पादन घट्ने भएकाले चाँडो गरी अदुवा रोपेको उहाँको भनाइ छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार गएको सिजनमा जिल्लाभर एक हजार छ सय ७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । जसबाट २७ हजार चार सय ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । अघिल्लो वर्ष भने जिल्लाभर एक हजार सात सय ३० हेक्टर क्षेत्रफलमा खेती गर्दा २८ हजार पाँच सय ६९ मेट्रिकटन अदुवा उत्पादन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस