स्थानियको माग : ‘दाङ–सल्यान सडक स्तरोन्नति होस्’ (भिडियो सहित)

यहाँका अधिकांश नागरिकको माग एउटै छ ‘दाङ–सल्यान सडकको स्तरोन्नति होस्, ज्यान हत्केलामा राखेर राप्ती राजमार्गको यात्रा गर्ने दिनको अन्त्य होस् ।’

सल्यान, २९ चैत ।

तीन जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले वर्षेनि करोडौं बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन । सडक चौडा बनाउँदै स्तरोन्नति गर्न वर्षेनि करोडौं रुपैयाँ खर्च भए पनि सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । जीर्ण सडकका कारण नागरिकले सास्ती भोग्दै आएका छन् ।

बर्खामा पहिरो र हिलोका कारण सास्ती पाएका नागरिकले अहिले धुलोका कारण सास्ती पाउँदै आएका छन् । काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै यात्रा गर्न समस्या र सडक आसपासको क्षेत्रमा बस्न सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । सरकारले यस सडकको स्तरोन्नतिमा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । सल्यानबाट निर्वाचित सांसद प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकाले जिल्लाका स्थानीयले राप्ती राजमार्गको स्तरोन्नति हुनेमा आशा व्यक्त गरेका छन् । यहाँका अधिकांश नागरिकको माग एउटै छ ‘दाङ–सल्यान सडकको स्तरोन्नति होस्, ज्यान हत्केलामा राखेर राप्ती राजमार्गको यात्रा गर्ने दिनको अन्त्य होस् ।’

भिडियो

https://fb.watch/jR-mijjxPY/

खलंगाकी अस्मिता वलीले जिल्लाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाएकाले राप्ती राजमार्गको स्तरोन्नति हुने विश्वास व्यक्त गर्नुभयो । ‘हामीलाई अरु चाहिएको छैन, जीर्ण र कष्टकर यात्रा गर्नुपर्ने दाङ–सल्यान सडकको स्तरोन्नति होस्’– उहाँले भन्नुभयो– ‘यो जिल्लावासीको चाहना हो, जनताले यसैका लागि भोट दिएका हुन् ।’ त्रिवेणीका जहरसिंह वलीले अहिलेको अवस्थामा दाङ–सल्यान सडकको स्तरोन्नति नभए कहिल्यै पनि विकास हुन नसक्ने बताउनुभयो । ‘हामीले विकासका लागि भोट दिएका हौं, मन्त्रीको प्राथमिकतामा यो सडक होला, दुई लेनसहित स्तरोन्नति हुनै पर्छ’– उहाँले थप्नुभयो– ‘सल्यान–सुर्खेत, सल्यान–कोहलपुर, त्रिवेणी–कालीमाटी–सुर्खेत, थारमारे–चौरजहारी, सल्ली–चौरजहारी सडकको स्तरोन्नतिमा पनि ध्यान पुगोस् ।’

खलंगाकै अर्का स्थानीय मुना हमालले जिल्लामा थुप्रै सडकको ट्रयाक खोलिएको भए पनि स्तरोन्नति नहुँदा नागरिकले सास्ती पाएकाले नयाँ सडक निर्माणभन्दा पनि पुराना सडकको स्तरोन्नति नै अहिलेको प्राथमिकता हुनुपर्ने बताउनुभयो । ‘सडकको दुरावस्थाका कारण बिरामी, बृद्धबृद्धा तथा बालबालिकाहरु राप्ती राजमार्ग भएर आवतजावत गर्न सक्ने अवस्था छैन, सल्यानले मन्त्री पाएको बेलामा यो काम हुनेछ’– उहाँले भन्नुभयो ।

यस वर्षमात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा दर्जनबढी ठेक्का लागेका छन् । केही ठेक्का सम्पन्न भएका छन् भने केही अझै अलपत्र छन् । ठूला–ठूला खाल्टाखुल्टी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिदा दुर्घटनाको जोखिम समेत बढाएकाले सडकको स्तरोन्नति नै मुख्य प्राथमिकता भएको स्थानीयको माग छ ।

 

 

प्रतिक्रिया दिनुहोस