काम नगर्ने ठेकेदारको म्याद थप हुँदैन : मन्त्री ज्वाला

बहसमा राप्ती राजमार्ग

सल्यान, ३० चैत ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकास निर्माणका कामको जिम्मा लिएर बिचमा नै छोड्ने ठेकेदारको सम्झौता म्याद थप नगर्ने बताउनुभएको छ । उहाँले जनताले विकास र समृद्धि खोजेको तर विकासका नाममा बेइमानी गर्ने ठेकेदारको सम्झौता म्याद थप नगर्ने बताउनुभएको हो । नेपाल पत्रकार महासंघ सल्यानले बिहिवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘यहाँ विकास निर्माणका थुप्रै योजनाको निर्माण कार्य अलपत्र परेका छन्, एउटै ठेकेदारले थुप्रै योजना होल्ड गर्ने तर काम नगरेर अलपत्र पार्ने काम जसले गर्छ, उसको ठेक्का सम्झौताको म्याद थप हुँदैन’ उहाँले भन्नुभयो । मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्र्तग दाङ–सल्यान–रुकुम सडकको स्तरोन्नतिसँगै विस्तार गर्नु आफ्नो प्राथामिकता भएको बताउनुभएको छ । उहाँले राप्ती राजमार्गको ममर्तको काम भैरहेको भएपनि यो दिर्घकालिन नहुने भएकाले राजमार्गलाई बहुबर्षिय ठेक्का मार्फत अघि बढाइने बताउनुभयो ।

‘राप्ती राजमार्गको अहिले अलग शिर्षक कायम गरिएको छ, सल्यान खण्डमा मात्रै १८ वटा ठेक्का लागेर काम अघि बढेको छ, केही बाहेक अरु ठेक्काको काम राम्रो भएको छ, असारसम्म अहिलेकै अवस्थामा सहज आवतजावतको लागि मर्मत गरिएको छ, तर यो दिर्घकालिन होइन्’ उहाँले भन्नुभयो ‘आगामी आर्थिक बर्षदेखी यस सडकलाई बहुबर्षिय ठेक्कामा लैजान्छौँ, र यसको स्तरोन्नतिको काम अघि बढाउँछौँ ।’ ठेक्का चलिरहेको अवस्थामा अर्को ठेक्का आह्वान्न गर्न नमिल्ने भएकाले अहिलेका ठेक्कालाई असारपछि म्याद थप नगर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस