सल्यान, १ बैशाख ।
राप्ती लोकमार्गको सुधारको लागि सल्यानमा हस्ताक्षर संकलन अभियान शुरु भएको छ । तीन जिल्लाको मेरुदण्डका रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतिको लागि सरोकारवाला निकायलाई दवाव सृजना गर्ने उद्धेश्यका साथ सल्यानमा हस्ताक्षर संकलन अभियान शुरु भएको हो । सल्यानी युवाहरुद्धारा नयाँ बर्षलाई रचनात्मक बनाउनको लागि भन्दै शुक्रवार खलंगामा हस्ताक्षर संकलन गरिएको हो ।
संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन घोरामीमा पेश गर्नको लागि प्रतिनिधिमुलक सल्यानीहरुको हस्ताक्षर संकलन गरिएको सल्यानी अभियान्ता धुव्रराज वलीले जानकारी दिनुभयो । राप्ती लोकमार्गको स्तरोन्नतिको लागि विभिन्न क्षेत्रबाट विभिन्न कार्यहरु भैरहेको भएपनि ती कार्यलाई समयमा नै सम्पन्न गर्न र नागरिकलाई सहज आवतजावत गर्ने व्यवस्था मिलाउन यो अभियान थालिएको उहाँको भनाइ छ ।
जिल्लामा संकलन गरिएका सल्यानीका हस्ताक्षरहरुलाई सरोकारवाला निकायहरुमा पेश गरिने छ । जसका कारण सम्बन्धित निकायलाई दवाव सृजना हुने र सडकको तत्काल स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।