सल्यान, १२ बैशाख ।
गर्मीयाम शुरु भएसँगै सल्यानका उच्च ग्रामीण भेगमा खानेपानीको संकट भएको छ ।
खानेपानीका मुहान सुक्दै जानु र नयाँ खानेपानीका योजना निर्माणमा ढिलाइ हुँदा उच्च भेगमा खानेपानीको संकट भएको हो । उनीहरुलाई पानी भर्नकै लागि राति नै उठेर लाइन बस्नुपर्ने बाध्यता छ । शारदा नगरपालिका–१४ र १५ का विभिन्न गाउँमा खानेपानीको समस्या देखिएको हो । मानववस्ती माथि हुनु तर खानेपानीका स्रोत बस्तीदेखि तल हुँदा खानेपानीको समस्या भएको हो । बर्खायाममा खानेपानीको समस्या नभए पनि हिउँदयाम शुरु हुनेबित्तिकै खानेपानीको अभाव चुलिदै जाने गरेको स्थानीय बताउँछन् ।
सुख्खापन शुरु भएसँगै खानेपानीको हाहाकार मच्चिएको शारदा नगरपलिका–१४ ढारखानीका गोपाल गिरीले बताउनुभयो । ‘यस वर्ष गतवर्षको भन्दा धेरै खानेपानीको समस्या भएको छ’– उहाँले भन्नुभयो– ‘गत वर्ष हिउँदयाममा पानी पर्दा मुहानको पानी बढ्थ्यो, पालो कुर्नु परे पनि केही सहज हुन्थ्यो तर यो वर्ष पानी परेको छैन, बिहानको समय पानीको पालो कुर्दैमा बित्ने गरेको छ ।’
उहाँले एक गाग्री पानी लिनको लागि घण्टौं लाइन लाग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘बिहानै २–३ बजे धारामा गए पनि पानी पाइ‘ँदैन, वर्षायामका तीन महिनाबाहेक सधैं खानेपानीको हाहाकार हुन्छ, वस्ती आसपासका मुहान सुकेपछि एक गाग्री पानीका लागि एक घन्टा हिँड्नुपर्छ, उकालो बाटो भएकाले पानी ल्याउन पनि ठूलो सास्ती भोग्दै आएका छौं’– उहाँले भन्नुभयो ।
अर्का स्थानीय कमला गिरीले यहाँका वस्तीमा खानेपानी सुविधा पु¥याउने गरी शुरु गरिएको बृहत् लिफ्ट खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको बताउनुभयो । लिफ्ट खानेपानी आयोजनामा करिब डेढ किलोमिटर तल पर्ने शारदाबाट पानी तान्न थालिएको हो । काममा ढिलाइ हुँदा आफूहरुको समस्या जहाँको तहीं रहेको उहाँको भनाइ छ । ‘योजनाको काममा ढिलासुस्ती भएको छ, अहिलेकै अवस्था हेर्दा अबको दुई वर्षमा पनि गाउँमा खानेपानी पुग्दैन’– उहाँले भन्नुभयो ।
शारदा नगरपालिका–१४ र १५ मा खानेपानी सुविधा पु¥याउने गरी विश्व बैंकको सहयोगमा शुरु भएको लिप्mट खानेपानी आयोजनाको काम शुरु भएको दुई वर्षसम्म झण्डै ५५ प्रतिशत काम सम्पन्न भएको छ । करिब २१ करोडको लागतमा खानेपानी योजना निर्माणको काम शुरु भएको थियो । यस क्षेत्रका झण्डै नौ सय घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको लिफ्ट खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष यादव उपाध्यायले जानकारी दिनुभयो ।
खानेपानी आयोजनाको अहिलेसम्म ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको खानेपानी आयोजनाका सब–इन्जिनियर लक्ष्मणप्रसाद कलौनीले जानकारी दिनुभयो । ११ वटा खानेपानी ट्यांकीमध्ये अब दुईवटा मात्र निर्माण हुन बाँकी रहेको उहाँको भनाइ छ । यस्तै मुख्य पाइप लाइनको काम सम्पन्न भइसकेकोे, वितरण पाइप लाइनको काम शुरु भएको र अरु पाइप लाइनको काम हुन बाँकी रहेको छ ।
आगामी असारभित्रमा मूल ट्यांकीमा पानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ । खानेपानी आयोजनाको निर्माणको ठेक्का लिएको सगरमाथा ड्रिलिङ निर्माण सेवाले शुरुवात चरणमा पर्याप्त उपकरण, निर्माण सामग्री, प्राविधिक र कामदार पु¥याउन नसक्दा केही ढिलाइ भएको थियो ।