औलोको जोखिममा ‘सल्यान’

‘गर्मीयाम शुरु भएपछि झुल विना सुत्न नै सकिदैन्, लामखुट्टेले टोकेर हैरान पार्छन्’ उहाँले भन्नुभयो ‘झुल र धुँवा प्रयोग नगरेसम्म राति सुत्न नै सकिदैन् ।’

सल्यान, १३ बैशाख ।
सल्यानको कालिमाटी गाउँपालिका २ का दल बहादुर वली सधैँ झुल लगाएर सुत्नुहुन्छ । उहाँकै छिमेकी नेत्र वली पनि गर्मीयाम शुरु हुन बित्तिकै झुल लगाएर सुत्नुहुन्छ । उहाँहरु मात्रै होइन् यहाँका स्थानियलाई लामखुट्टेले टोक्ने डर छ । गाउँमा वर्षेनि औलो रोग फैलिन सक्ने सम्भावना भएकाले यहाँका स्थानियले गर्मीयाम शुरु हुन वित्तिकै झुल तथा धुवाँ प्रयोग गरेर लामखुट्टे भगाउने गरेका छन् ।

जलवायु परिवर्तनसँगै तराइबाट क्रमशः पहाडमा पनि औलो बढ्न थालेपछि स्थानियले सावधानी अपनाउदैँ आएका छन् । दल बहादुरले पछिल्लो केही बर्षयता यसक्षेत्रमा लामखुट्टे बढ्न थालेको बताउनुभएको छ । ‘गर्मीयाम शुरु भएपछि झुल विना सुत्न नै सकिदैन्, लामखुट्टेले टोकेर हैरान पार्छन्’ उहाँले भन्नुभयो ‘झुल र धुँवा प्रयोग नगरेसम्म राति सुत्न नै सकिदैन् ।’

साँझ परेपछि लामखुट्टे धपाउनै हैरान हुने उहाँको भनाइ छ । ‘लामखुट्टेले टोक्न थालेपछि बालबच्चा रुन थाल्छन्, हातखुट्टामा टोकेको ठाउँमा असाध्यै चिलाउँछ, राति सुत्नै समस्या हुन्छ’ उहाँले भन्नुभयो ‘कोठा–कोठामा झुल टाँगे पछि लामखुट्टेबाट उन्मुक्ति पाइन्छ ।’ यसक्षेत्रमा जोखिम भएपनि सरकारले झुल वितरण लगाएत लामखुट्टे भगाउने कार्य नगरेको उहाँको भनाइ छ ।

वलीले घर वरपर सरसफाइ गरे, पानी जम्ने ठाउँ पुरे लामखुट्टेबाट बच्न सकिने बताउनुभयो । ‘सरसफाईमा बढी ध्यान दिनुपर्छ, सकेसम्म लामखुट्टे भगाउने अभियान थाल्नु नै उत्तम हो, बर्खामा बाहिर बसेर काम गर्न नै गाह्रो हुन्छ’ उहाँले भन्नुभयो ‘शरिर ढाक्ने गरेर कपडा लगाएमा पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।’ लामखुट्टेले टोकेमा बिभिन्न रोगको जोखिम हुने उहाँको भनाइ छ ।

जिल्लाभर नै लामखुट्टे पाइन्छन् तर जिल्लाको कालिमाटी क्षेत्र औलोको बढी जोखिममा छ । तराइका जिल्लासँग सिमाना जोडिएकाले पनि यस क्षेत्र औलोको बढी जोखिममा रहेको स्थानिय बताउँछन् ।

गत बर्ष २ जनामा औलो

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गत बर्ष जिल्लामा २ जनालाई औलो भेटिएको छ । तराई क्षेत्रमा बसेर फर्किएका कालिमाटीका २ जनामा औलो भेटिएको थियो । तर यसबर्षको हालसम्म भने औलो नभेटिएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँले औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउनुभएको छ ।

जलवायु परिर्वतन हुनु, लामखुट्टे पहाड उक्लनु, औलोको परीक्षण नहुनु, तराइका जिल्लासँग सिमाना जोडिनु जस्ता कारणले औलो निवारणमा चुनौती थपिएको उहाँको भनाइ छ । उहाँले विगतका वर्षहरुमा तराईका विभिन्न जिल्लाहरुमा मात्रै औलो रोगका बिरामीहरु भएपनि अहिले भने पहाड र हिमालका जिल्ला जोखिममा रहेको बताउनुभयो । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा औलो सर्ने गर्दछ ।

मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् । औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको एक/डेढ हप्ता भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन् । उहाँले औलोसँग मिल्दोजुल्दो लक्षण देखिएमा निशुल्क औलो जाँच तथा उपचार गर्न आग्रह गर्नुभयो ।

सुत्दा सधैं झुलभित्र सुत्नुपर्ने, घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानलाई नष्ट गरे लामखुट्टेको टोकाइबाट बच्न सकिने कार्यालयको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित