सल्यान अस्पतालमा थन्कियो अक्सिजन प्लान्ट : ‘उत्पादन भन्दा खर्च धेरै’

अक्सिजन प्लान्ट जडान गरेपछि आउँदा दिनमा बिरामीका आफन्त लगायत सम्बन्धित निकायले खाली सिलिन्डर बोकेर दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी भएका थिए ।

सल्यान, १४ बैशाख ।

गत असारमा जिल्ला अस्पताल सल्यानमा धुमधामका साथ अक्सिजन प्लान्टको उद्घाटन भयो । अघिल्लो पटक अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्टेटर जडान गरेको सार्वजनिक भएपछि कन्सन्टेटर फिर्ता गरेर अक्सिजन प्लान्ट जडान गरिएको थियो । कोरोनाले आक्रान्त बनाएको बेला फिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट जडान गरिएको हो ।

संघीय सरकारको ७१ लाख अनुदानमा ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्ट जडान गरेपछि आउँदा दिनमा बिरामीका आफन्त लगायत सम्बन्धित निकायले खाली सिलिन्डर बोकेर दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी भएका थिए ।

तर जडान गरेको झण्डै १० महिना हुदाँ पनि प्लान्टले नियमित अक्सिजन उत्पादन गर्न सकेको छैन् । जेनेरेटरबाट महिनामा एक/दुई पटक सञ्चालन गरिएपनि प्लान्ट सञ्चालनको लागि बिद्युत्को भोल्टेज नपुगेको भन्दै अक्सिजन प्लान्ट त्यसै थन्किएको छ । प्लान्ट नियमित सञ्चालन नहदा जिल्ला अस्पतालकै सिलिण्डर रिफिलका लागि नेपालगन्ज पठाउने गरेको पाइएको छ ।

सिद्धकुमाख गाउँपालिका–३ डाँडाकटेरीका बल बहादुर बुढाथोकी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको बारेमा मिडिया मार्फत थाहा पाएर खुसी हुनुभएको थियो । तर अस्पतालमा आउदा नियमित सञ्चालन नभएको देखेपछि उहाँ दुखी हुनुहुन्छ । ‘अक्सिजन प्लान्ट जोडेको त मिडियाबाट थाहा पाएको थिए, अस्पताल आउँदा त सञ्चालनमा रहेन छ’ उहाँले भन्नुभयो ‘जडान गरेर सञ्चालन नहुनु लापरवाही हो, तत्काल यसको सञ्चालन गरिनुपर्छ ।’

त्रिबेणी गाउँपालिका–६ लुहामका कमल वली कोरोनाको समयमा जिल्लामा नै अक्सिजन प्लान्ट नहुदाँ धेरैले ज्यान गुमाउनु परेको स्मरण गर्नुहुन्छ । अहिले फेरी कोरोना बढ्दै गएकाले यसको नियमित सञ्चालन हुनुपर्ने उहाँको भनाइ छ । ‘कोरोनाको बेला अक्सिजनको हाहाकार थियो, जिल्लामा नै प्लान्ट जडान गरेका छौँ, यसको नियमित सञ्चालन हुनुपर्छ’ उहाँले भन्नुभयो ‘अस्पतालमा प्लान्ट छ, सिलिण्डर रिफिल गर्न नेपालगन्ज जानु दुर्भाग्य हो ।’

अक्सिजन उत्पादनको खर्च धान्नै सकिएन्

जिल्ला अस्पताल १५ शैयाको भएपनि बिरामीको चापका कारण अहिले ३७ बेडमा सञ्चालन भैरहेको छ । अस्पतालमा अहिले दैनिक १ सय ५० बढी विरामी उपचारका लागि आउँछन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार अक्सिजन उत्पादनको खर्च धान्न नसकेपछि प्लान्ट सञ्चालन गर्न छोडेर सिलिण्डर रिफिलका लागि नेपालगन्ज पठाउन थालिएको हो ।

कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले बिद्युत्को भोल्टेज कम हुदा जेनेरेटरबाट सिलिण्डर रिफिल गर्नुभन्दा नेपालगन्ज लिनु सस्तो पर्ने बताउनुभयो । ‘प्लान्ट सुचारु अवस्थामा छ, प्लान्ट सञ्चालनका लागि २२० भोल्टेज आवश्यक पर्छ, तर यहाँ २०० भोल्टेज नै आउँदैन्, भोल्टेज नहुदाँ प्लान्ट चल्दैन्’ उहाँले भन्नुभयो । उहाँले जेनेरेटरबाट प्लान्ट सञ्चालन गर्दा खर्च धान्नै नसकिने बताउनुभयो ।

‘एउटा सिलिण्डर रिफिल हुन जेनेरेटरले ८ लिटर डिजेल खान्छ, त्यो जोड्दा एउटा सिलिण्डर रिफिल गर्न १४/१५ सय लाग्छ, नेपालगन्ज पठायो भने ११/१२ सयले रिफिल भएर आइपुग्छ’ उहाँले भन्नुभयो ‘विभिन्न उपाय अपनाएपनि भोल्टेज वढाउन सकिएन् ।’ अस्पतालमा अहिले १ सय ६२ वटा सिलिण्डर रहेका छन् भने झण्डै एक सय सिलिण्डर खालीभएपछि एकैपटक लिएर रिफिल गरेर ल्याउने गरिएको छ ।

अस्पतालका डा. जितेन्द्र भण्डारीका अनुसार दम, निमोनिया, मुटु तथा फोक्सो सम्बन्धि समस्या भएका विरामीलाई अक्सिजन बढी मात्रामा चाहिन्छ । तर अहिले कोरोनाको दर बढ्दै गएकाले अक्सिजनको माग पनि बढ्नसक्ने उहाँको भनाइ छ । ‘पुराना रोगहरु दम, दिर्घरोगी, मुटु रोगी, निमोनिया भएका विरामीका लागि अक्सिजन चाहिन्छ’ उहाँले भन्नुभयो ‘पहिलेको जसरी कोरोना बढ्यो भने, दिर्घरोगी, पहिलेदेखी अक्सिजन लिइरहेको विरामीको लागि अक्सिजनको माग थप बढ्न सक्छ ।’

हामी केही गर्न सक्दैनौँ  : बिद्युत् कार्यालय

बिद्युत्को भोल्टेज कम हुदा प्लान्ट सञ्चालनमा समस्या आएको बारेमा नेपाल बिद्युत्त प्राविधकरण सल्यान वितरण केन्द्र जानकार छ । तर जिल्ला अस्पतालमा जाने बिद्युत्को भोल्टेज बढाउनको लागि आफुले केही गर्न नसक्ने कार्यालको भनाइ छ । वितरण केन्द्र प्रमुख अशोक लोहनीले अस्पतालले ठुलो ट्रान्सफर्मर राखेमा प्लान्ट सञ्चालन गर्नसक्ने सम्भावना रहेको बताउनुभयो ।

‘हामीले पनि प्लान्टको अवस्थाका बारेमा अस्पतालमा नै गएर हेरेका छौँ, तर हामीले भोल्टेज बढाउने, घटाउने बनाउन मिल्दैन्’ उहाँले भन्नुभयो ‘प्लान्टको लागि कति भोल्टेज चाहिने हो, त्यो अनुसार ठुलो ट्रान्सफर्मर राखेमा सञ्चालन हुनसक्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस