सल्यान, १७ बैशाख ।
देशको अर्थतन्त्र सुधारका लागि सहकारीको भूमिका महत्वपुर्ण रहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय देशमा परेको आर्थिक संकटलाई माथि उकास्दै आर्थिक रुपमा सक्षम र सवल बन्नको लागि सहकारीको भूमिका महत्वपुर्ण रहेको उनीहरुले बताएका हुन् ।
जिल्लाको सदरमुकाम खलंगामा नेफ्स्कूनको प्राविधिक सहयोग तथा ग्रामिण वचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यानको आयोजनामा १८ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाका सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले वजार क्षेत्रमा मात्रै नभएर ग्रामिण क्षेत्रमा पनि सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले देशमा आर्थिक संकट पैदा भएको बेलामा सहकारीले अर्थतन्त्र सुधारमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ । सहकारी क्षेत्रले नेतृत्व विकासमा मात्रै नभएर स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुगेको उहाँको भनाइ छ ।
‘अर्थतन्त्रमा सहकारी बलियो खम्बाको रुपमा रहेको छ, दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी छ’ उहाँले भन्नुभयो ‘आर्थिक क्षेत्रलाई वलियो बनाउन हरेक व्यक्ति आर्थिक क्रियाकलापमा जोडिनुपर्छ, नागरिकको आवश्यकताका आधारमा सहकारी निर्माण गरिएको हो ।’
उहाँले सहकारीमा आर्थिक सुशासन र पारदर्शिकता आवश्यक रहेको बताउनुभएको छ । ‘अहिले सहकारी समस्यामा छन्, सबै मिलेर समाधान खोजौं’ नगर प्रमुख भण्डारीले भन्नुभयो ‘केही सहकारीमा समस्या आउँदा सिंगो सहकारी बदनामी बन्न पुगेको र प्रश्न उठेको छ, सुरक्षित अवतरणका लागि सबै लागौं, मूख्यत ः वित्तिय सुशासन कायम राखौँ ।
उहाँले सहकारीको अनुगमण गर्ने, मुल्यांकन गर्ने, सहकारीमा आर्थिक सुशासन र पारदर्शिकता कायम राख्ने, राम्रा सहकारीलाई प्रोत्साहित गर्ने, नराम्रो काम गर्नेलाई दण्डित गर्ने खालका कार्य गर्न आवश्यक रहेको बताउनुभयो । सहकारीको व्यवस्थापन, सञ्चालनको गुणस्तर सेवा, बाह्य पक्ष, चेक एण्ड ब्यालेन्स लगायतमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।
यस्तै नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले निति, विधि र विधान अनुसार चलेमात्रै सहकारीलाई जीवन्त राख्न सकिने बताउनुभयो । वित्तीय दिगोपना, कर्जा प्रभावको अवस्थामा हेर्न सके सहकारीमा समस्या नआउने उहाँको भनाइ छ । उहाँले केही सहकारीका कारण सिंगो सहकारी जगतमा आँच आउने भएकाले बिगे्रका सहकारीलाई सही ट्रयाकमा ल्याउनुपर्ने बताउनुभयो ।
यस्तै जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशवसिंह श्रेष्ठले ग्रामिण भेगमा आर्थिक अवस्था सुधारका लागि सहकारीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । ‘सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, केही सहकारीको बदमासीका कारण सहकारीप्रतिको बुझाइ फरक हुनथाल्यो’ उहाँले भन्नुभयो ‘सहकारी आफैले करेक्सन गर्ने, गल्ती नदोहो¥याउने गर्नुका साथै सहकारीको सुधारका लागि प्रभावकारी नियमन गर्नुपर्छ ।’
कार्यशालामा सल्यानसहित सुर्खेत, बर्दिया र प्यूठानका सहकारीकर्मीहरुको सहभागिता रहेको छ । ग्रामिण सहकारीका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रविन विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण सचिव सनत कुमार शर्माले गर्नुभएको थियो ।