सल्यान कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी : कोलियामा नै सुत्नुपर्ने बाध्यता !

‘क्षमता भन्दा धेरै हुदाँ एउटै कोठामा कोच्चिएर धेरै कैदीबन्दी बस्नुपरेको छ’ सुत्ने ठाउँ नपुगेर कतिपय कैदीबन्दी कोलियामा सुत्दै आएका छन्’ उहाँले भन्नुभयो ‘कैदीबन्दीलाई बस्न र सुत्न नै ठाउँ पर्याप्त नहुँदा समस्या भएको छ ।’

सल्यान, २० बैशाख ।

कारागार कार्यालय सल्यानमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुदाँ समस्या भएको छ । २५ जना कैदीबन्दी राख्ने क्षमता भएको सल्यान कारागारमा अहिले १ सय ३० जना कैदीबन्दी र २ जना नाबालक सहित १ सय ३२ जना छन् । क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुदाँ उनीको व्यवस्थापनमा समस्या भएको छ । अहिले १ सय १६ जना पुरुष कैदीबन्दी, १४ जना महिला महिला कैदीबन्दी र आमासँगै २ जना नाबालक कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागार कार्यालयका निमित्त प्रमुख भिम बहादुर घर्तीले क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुदाँ उनीहरुको व्यवस्थापनमा समस्या भएको बताउनुभयो । ‘क्षमता भन्दा धेरै हुदाँ एउटै कोठामा कोच्चिएर धेरै कैदीबन्दी बस्नुपरेको छ’ सुत्ने ठाउँ नपुगेर कतिपय कैदीबन्दी कोलियामा सुत्दै आएका छन्’ उहाँले भन्नुभयो ‘कैदीबन्दीलाई बस्न र सुत्न नै ठाउँ पर्याप्त नहुँदा समस्या भएको छ ।’

कारागारमा कैदीबन्दी अटाउन नै नसक्ने अवस्था भएपछि केही कैदीलाई सरूवा गर्ने गरिएको उहाँको भनाइ छ । ‘कैदीबन्दीको सङ्ख्या बढेको बढ्यै छ, कैदीबन्दीलाई सुत्ने समेत ठाउँ छैन्, कोलियामा नै सुतेर हिउँद काटेका कैदीबन्दीले अहिले पनि कोलियामा नै सुत्दै आएका छन्’ उहाँले भन्नुभयो ‘जीर्ण र साँघुरो भवन भएकाले व्यवस्थापनमा समस्या भएको छ ।’

तर यहाँ रहेका कतिपय कैदीलाई सरूवा गर्दा पनि जिल्ला छोडी अन्यत्र जिल्ला जान नमान्ने गरेको उहाँको भनाइ छ । ‘बुधबारको तथ्यांक अनुसार ५ जना महिला कैदीबन्दी अट्ने क्षमता रहेकोमा अहिले ११ जना कैदी र ३ जना थुनुवा गरेर १४ जना महिला कैदीबन्दीका साथै २ जना आश्रित बालक गरी १६ जना रहेका छन्, २० जना पुरुष कैदीबन्दी अट्ने क्षमता रहेकोमा अहिले ६२ जना कैदी र ५४ जना थुनुवा गरेर १ सय १६ जना रहेका छन’ उहाँले भन्नुभयो ‘नयाँ भवन नबनाउँदा सम्म समस्या जस्ताको त्यस्तै हुने हो ।’

पालो कुरेर शौचालय जानुपर्ने बाध्यता

कारागार भित्र प्रर्याप्त शौचालय नहुदा पालो कुरेर शौचालय जानुपर्ने बाध्यता रहेको छ । अहिले कारागारभित्र रहेका १ सय १६ जना कैदीबन्दीले एउटै शौचालय प्रयोग गर्छन् । जिल्ला कारागार भित्र पुरूष र महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै दुई वटा शौचालय छन् । जसमध्ये १४ महिला कैदीबन्दी र २ नाबालक गरी १६ जनाले एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।

तर १ सय १६ जना पुरूष कैदीबन्दीका लागि एउटै शौचालय छ । उनीहरूले रातको समयमा एउटै चर्पी प्रयोग गर्नुपर्ने बाध्यता छ । दिउँसोको समयमा पुरूषहरूका लागि बाहिरका थप दुई वटा शौचालयको व्यवस्था गरिएको छ । तर रातको समयमा ती सबै पुरुष कैदीबन्दीले पालो लगाएर शौचालय जानुपर्ने बाध्यता रहेको कार्यालयका निमित्त प्रमुख घर्तीले जानकारी दिनुभयो ।

कारागार कार्यालयको भवन निर्माणका लागि केही बर्षअघि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेपनि टुंगोमा पुग्न सकेको छैन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस