बन्गाड कुपिण्डेको मेयर कपमा चर्को नारावाजी (भिडियो सहित)

सल्यान, २१ बैशाख ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा सञ्चालित दोस्रो मेयर कपको उद्घाटन कार्यक्रममा नारावाजी चलेको छ । बिहीबार देवस्थलमा शुरु भएको मेयर कपको उद्घाटन कार्यक्रममा नेकपा एमाले निकटका युवाबिद्यार्थीहरुले चर्को नारावाजी गरेका हुन् । नारावाजी चलिरहेको अवस्थामा मेयर निकटका केहीले हात हाल्न खोजेपछि झडपको स्थिती सिर्जना भएको थियो ।

प्रहरीले नारावाजी गर्ने युवाबिद्यार्थीहरुलाई हटाएको थियो । मेयरकप सञ्चालनको पुर्वसन्ध्यामा विभिन्न माग राखेर नगरपालिकामा बुझाएपनि मागको वेवास्ता गरेकाले नारावाजी गर्नुपरेको उनीहरुले बताएका छन् । पढाइ हुने समयमा विद्यालयमा खेलकुद सञ्चालन गरेको र विद्यालयलाई खेलकुद मैदानका रुपमा प्रयोग गरेकाले नारावाजी गर्नुपरेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो ।

भिडियो

मेयर कप खेलकुद विकास समिति मार्फत खेल खेलाउनु पर्ने, सबै वडामा वडाअध्यक्ष कप खेलाएर मात्रै मेयर कप खेलाउनुपर्ने, महिला पुरुष सबै खेलाडीको समान सहभागिता हुनुपर्ने, मेयरकपको पुरस्कार राशी बढाउनुपर्ने, रचनात्मक र अतिरिक्त क्रियाकलापलाई समावेश गरिनुपर्ने लगाएतका माग राखेर नारावाजी गरिएको जनाइएको छ ।

बैशाख २३ गते सम्म सञ्चालन हुने मेयर कपको उद्द्धाटन कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा प्रमुख अतिथिका रुपमा सहभागि हुनुभएको थियो । नगरप्रमुख कर्ण बहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य लगाएतको सहभागितामा सञ्चालन भएको प्रतियोगितामा विभिन्न विधामा खेल खेलाइने छ । यस बारेमा बुझ्न खोज्दा जनप्रतिनिधिको फोन लागेन ।

 

प्रतिक्रिया दिनुहोस