स्वरोजगारको माध्यम ब्यूटिपार्लर

पछिल्लो समय विवाह, पार्टी तथा उत्सवमा जानुअघि ब्यूटिपार्लर जाने चलन बढेको छ । पार्लर सञ्चालन गर्नेमा अधिकांश युवती नै छन् । कतिपय ब्यूटिपार्लरले आधुनिक प्रविधि समेत भिœयाएका छन् । ब्यूटिपार्लरबाट राम्रै आम्दानी भएको व्यवसायी बताउँछन् । अहिले गाउँ–गाउँमा पार्लर खुल्ने क्रम बढ्दै गएको छ । सिक्ने पनि उत्तिकै छन् ।

सल्यान, २३ बैशाख ।

सल्यान । सल्यानका महिलाहरुका लागि ब्यूटिपार्लर व्यवसाय स्वरोजगारको माध्यम बनेको छ ।

पछिल्लो समय युवापुस्तामा सौन्र्दयप्रति आकर्षण बढ्दै गएसँगै बजारदेखि ग्रामीण भेगसम्म नै ब्यूटिपार्लर व्यवसाय फस्टाएको हो । जसका कारण महिलाहरु सौन्दर्यका पसलबाटै स्वरोजगार बन्ने क्रम बढेको छ । विगतमा ब्यूटिपार्लर जान हिच्किचाउने महिलाहरु अहिले ब्यूटिपार्लर जान थालेसँगै रोजगारी मिलेको छ भने आम्दानीको गतिलो स्रोतसमेत बनेको छ ।

पछिल्लो समय विवाह, पार्टी तथा उत्सवमा जानुअघि ब्यूटिपार्लर जाने चलन बढेको छ । पार्लर सञ्चालन गर्नेमा अधिकांश युवती नै छन् । कतिपय ब्यूटिपार्लरले आधुनिक प्रविधि समेत भिœयाएका छन् । ब्यूटिपार्लरबाट राम्रै आम्दानी भएको व्यवसायी बताउँछन् । अहिले गाउँ–गाउँमा पार्लर खुल्ने क्रम बढ्दै गएको छ । सिक्ने पनि उत्तिकै छन् । जिल्लाको सदरमुकाम खलंगासँगै श्रीनगर, थारमारे, सल्लीबजार, कपुरकोट र स्थानीय तहका मुकाममा पनि पार्लर खोल्ने क्रम बढेको छ ।

केही स्थानीय तह, जिल्लाका सरकारी तथा गैरसरकारी निकायले पार्लरसम्बन्धी तालिम दिन थालेपछि व्यवसाय सञ्चालन गर्ने होडवाजी नै चलेको हो । ब्यूटिपार्लरमा बजारक्षेत्र भन्दा गाउँ–गाउँबाट आउने बढी रहेका छन् । अधिकांश अनुहार र कपालको श्रृंगारका लागि पार्लरमा आउने गरेका छन् । विगतमा पार्लर व्यवसाय खासै नचलेपनि पछिल्लो केही बर्षयता व्यापार बढ्न थालेको खलंगामा रहेको हिरा कस्मेटिक ब्यूटिपार्लरका सञ्चालक हिरा योगीले बताउनुभयो । शुरुमा व्यवसाय नै धरापमा परे पनि अहिले आफ्नो आम्दानीको स्रोत नै पार्लर व्यवसाय बनेको उहाँको भनाइ छ । उहाँले अहिलेसम्म ६०/७० जनालाई ब्यूटिपार्लरसम्बन्धी तालिम समेत दिनुभएको छ । ‘शुरुमा ६ महिनाको तालिम लिएर व्यवसाय सञ्चालन गरेकी हुँ’– उहाँले भन्नुभयो– ‘व्यावसायिकरुपमा पार्लर खोल्नलाई जति धेरै तालिम लियो, त्यति नै सहजरुपले सेवाग्राहीलाई सेवा दिन सहज हुन्छ ।’

श्रीनगरमा रहेको मनिषा ब्यूटिपार्लरका सञ्चालक मनिषा बुढाथोकीले पार्लरमा कमाइ राम्रो हुने बताउनुभयो । साउनमा मेहेन्दी लगाउने, बेहुली श्रृंगारको काम गर्ने, विवाह, पार्टी तथा उत्सवमा सहभागी हुनुअघि पनि पार्लर जाने चलन बढेको उहाँको भनाइ छ । ‘ब्यूटिपार्लरमा हेयर स्टेट, हेयर कर्ली, थे्रटिङ, फेसियल, कटिङलगायत काम हुने गरेको छ’– उहाँले भन्नुभयो– ‘ब्यूटिपार्लरमा पाका उमेरका पनि आउने गरेका छन्, कहिलेकाहीं त दैनिक दश हजारसम्म आम्दानी हुन्छ ।’ सामान्यतया एकजनाले एकपटक सेवा लिदा पाँच सय रुपैयाँदेखि तीन हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्छ । अहिले सौन्दर्यप्रति सबै सचेत हुन थालेको र पार्लरमा युवती तथा महिलाको भीड लाग्ने गरेको उहाँको भनाइ छ ।

जिल्लाभर दर्ता गरेका र दर्ताबिनाका सबै ब्यूटिपार्लर कति सञ्चालनमा छन् भन्ने एकिन तथ्यांक छैन । तर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा हालसम्म जिल्लाभर गरेर झण्डै ७० वटा ब्यूटिपार्लर दर्ता भएका छन् । केही पार्लर दर्ता भएर बन्द भए पनि सोही अनुपातमा नयाँ खुलेकाले यो पेशाप्रति महिलाहरुको आकर्षण बढ्दो छ । थोरै समयमा सीप सिकेर ब्यवसाय गर्न सकिने र यसबाट आम्दानी पनि राम्रो हुने भएकाले पार्लरप्रति आकर्षण बढ्दै गएकोे कार्यालयको भनाइ छ ।

अहिले सदरमुकाम या अन्यत्रबाट तीन महिने आधारभूत कोर्स गरेर कतिपयले पार्लर सञ्चालन गरिरहेका छन् । कार्यालयका प्रशासन सहायक पार्वती गिरीले जिल्लामा ब्यूटिपार्लर सञ्चालन गर्नेको संख्या बढ्दै गएको बताउनुभयो । अहिले ब्यूटिपार्लरबाट नै महिलाहरु स्वरोजगार बनेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस