सल्यान, २४ बैशाख ।
सल्यान । परम्परागत कृषि प्रणालीमा अभिन्न अंग मानिएको हलो र गोरुलाई हिजोआज आधुनिक प्रविधि ट्रेक्टरले विस्थापित गर्न थालेको छ । त्यही भएर कृषकले विस्तारै गोरु पाल्न पनि छोडेका छन् तर सल्यानका कृषक भने परम्परागत हलो र गोरुकै भरमा खेती गरिरहेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा टे«क्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि जिल्लाका कृषकले गोरुको प्रयोग गर्दै आएका हुन् ।
टे«क्टर किन्न महंगो पर्ने र भिरालो जमिन जोत्न नसकिने भएकाले कृषकले पुस्तौंदेखि गोरुको प्रयोग गर्दै आएका हुन् । कालीमाटीका कृषक जीतबहादुर घर्तीले गाउँसम्म आउने सडक भए पनि बारीमा टे«क्टर जान नसक्ने भएकाले वर्षौंदेखि गोरुले नै खेतवारी जोत्दै आएको बताउनुभयो । ‘पहिले त गाईगोरु धेरै थिए, तर घाँस र चरिचरणको समस्याले अहिले एक हल गोरु मात्रै पालेका छौं’– उहाँले भन्नुभयो– ‘अहिले गोरुकै प्रयोग गरेर मकैं रोप्न थालेका छौं ।’
भौगोलिक अवस्थाका कारण सबै ठाउँमा टे«क्टर लैजान गाह्रो हुने मात्र होइन खेतबारी गहिरोसँग टे«क्टरले नखन्ने र मर्मत गरिरहनुपर्ने, तेल प्रयोगका कारण महंगो हुने जस्ता समस्याका कारण गोरुकै प्रयोग गर्दै आएको उहाँको भनाइ छ । उहाँले गोरुको प्रयोगले मकै रोप्दा केही समय लागे पनि उत्पादन राम्रो हुने बताउनुभयो ।
टे«क्टर प्रयोग गर्दा प्रांगारिक मलको अभाव हुने भएकाले आफूहरुले पुस्तौँदेखि नै गोरुकै प्रयोग गर्दै आएको छत्रेश्वरीका कृषक इन्द्रा पुनले बताउनुभयो । ‘घाँसकै अभावले गाईभैंसी पाल्न छोडियो तर गोरु पाल्न कहिल्यै छोडेनौं’– उहाँले भन्नुभयो– ‘खेती गर्ने सिजनमा कसको गोरु माग्नु रु त्यही भएर पनि एक हल गोरु पाल्दै आएका छौं, बारीमा राख्ने मल पनि उत्पादन भइरहेको छ ।’
यान्त्रिकीकरणमा जोड दिदै सरकार
पछिल्लो समय कृषि विकास कार्यालय र यहाँका स्थानीय तहले यान्त्रिकीकरणमा भने जोड दिदै आएका छन् । परम्परागतरुपमा कुटो, कोदालो गर्ने र हलोले जोत्ने कृषकहरुलाई आधुनिकीकरण र यान्त्रीकिकरणमार्फत व्यावसायिक बनाउन मेसिनरी सामग्रीको प्रयोग बढाउँदै लगिएको छ तर जिल्लाका सबै कृषकहरुको पहुँच पुग्न सकेको छैन । कृषकको मागको आधारमा कृषि कार्यालय र यहाँका स्थानीय तहले मेसिनरी सामग्री अनुदानमा उपलब्ध गराउँदै आए पनि सबै कृषकको पहुँच पुग्न सकेको छैन । कृषि विकास कार्यालयका निमित्त प्रमुख रेशमकुमार बस्नेतले जिल्लाका सबै कृषकसम्म कार्यालयको अनुदान र कार्यक्रम पुग्न नसकेको बताउनुभयो ।
कृषि सहकारी, समूह, फर्मलाई ट्रेक्टर, मिनी टिलर, थ्रेसर जस्ता औजार उपलब्ध गराउँदै आइएको छ तर सबै कृषकको पहुँच पुग्न सकेको छैन । ‘जिल्लामा परम्परागत तरिकाले खेती भइरहेको छ, हामीले आधुनिक र व्यावसायिक खेतीमा जोड दिदै आएका छौं, आधुनिक कृषि औजारको प्रयोग गर्न सुझाव दिदै आएका छौं’– उहाँले भन्नुभयो– ‘कार्यालयले पनि वर्षेनि बीउ, उपकरणमा अनुदान दिदै आएका छौं ।’ कृषि क्षेत्रलाई समयसापेक्ष यान्त्रिकीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले बाली रोप्ने, काट्ने तथा प्रशोधनमा समेत प्रविधिको प्रयोग गर्दा बढीभन्दा बढी फाइदा लिन सकिने बताउनुभयो ।
कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाएर थोरै लागतमा उत्पादन बढाउन र आम्दानी गर्न कृषकको मागका आधारमा कृषि सामग्री वितरण गरिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर १२ वटा, माहुरी घार ५७ वटा र ७५ प्रतिशत अनुदानमा ५६ वटा स्प्रे ट्यांकी वितरण गरिएको छ । यान्त्रिक उपकरण कृषकको खेतबारीमा नपुगेसम्म वैज्ञानिकढंगले कृषि क्षेत्रको विकास सम्भव हुन नसक्ने उहॉँको भनाइ छ ।