बेमौसमी तरकारीको ‘कपुरकोट ब्राण्ड’

सल्यान, २८ बैशाख ।
यहाँ उत्पादित बेमौसमी तरकारीको ब्राण्डिङ गरिने भएको छ । जिल्लाका बिभिन्न क्षेत्रमा उत्पादन भएको तरकारीको परिमाणका आधारमा ब्राण्डिङ गरेर उत्पादन, प्रवद्र्धन र निर्यात गरिने भएको हो ।

कपुरकोट गाउँपालिकाले बुधबार कपुरकोटमा बृहत कार्यक्रम गरेर कृषि क्षेत्रको विस्तार र बजारीकरण गर्न १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, सल्यानका दशवटै स्थानीय तह र रोल्पाका रुन्टिगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकासहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सम्मिलित छलफलले तरकारीको ब्राण्डिङ गर्नेलगायतको साझा प्रतिबद्धता गरेको हो ।

बेमौसमी तरकारीका लागि कपुरकोट ब्राण्ड र अन्य जुडीबुटी, तरकारी, फलफूल, दूग्धजन्य पदार्थहरु, पशुजन्य उत्पादन र अन्नबालीको हावापानी, भूगोल र व्यवसायीकरणको सम्भावना अनुसार विशेष उत्पादन क्षेत्र निर्धारण गरी स्थान विशेष उत्पादन परिमाणको आधारमा ब्राण्डिङ गरी उत्पादन, प्रवद्र्धन र निर्यात गर्ने प्रतिबद्धता जनाइएको हो । यस्तै पालिकामा रहेका हाटबजारहरु बीचमा समन्वय र सहकार्य गरेर अघि बढ्ने, कृषि एम्बुलेन्स र ठूला शहरमा कपुरकोट तरकारी स्टल स्थापना गरी एकद्वार प्रणालीमार्फत निर्यात प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।

यस्तै एकरुपतासहितको समर्थन मूल्य तोक्ने, कृषकलाई कुनै पनि दायित्व नपर्ने गरी कर निर्धारण गर्ने, एकीकृत कृषि उपज निर्यात गर्न हाटबजार समन्वय समिति गठन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै माटो परीक्षण गर्ने, प्रांगारिक मल उत्पादन प्रवद्र्धन गर्ने, निर्यात हुने कृषि उपजमा प्रादेशिक विषादी प्रयोगशालाको सञ्चालन गरी विषादी परीक्षण मार्फत गुणस्तर चिन्ह राख्ने, नवीन कृषि विकास गर्नुको साथै मल, बिउ र विषादीमा लगानी बढाउने, कृषि क्षेत्रमा खोज तथा अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री शर्माले जिल्लामा बेमौसमी तरकारी खेती मात्रै नभएर हिउँदयाममा पनि तरकारी खेती विस्तारको योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । अहिलेसम्म प्रदेशका सात जिल्लामा कृषक तथ्यांक संकलन गरिएको बताउँदै उहाँले कृषकलाई अबका दिनमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । योजनामा दोहोरोपन हुन नदिन प्रदेशले विशेष जोड दिएको उहाँको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जीवराज केसीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस