मर्कामा कृषक : ७ रुपैँया केजी पनि विकेन् ‘स्कुस’

‘मैले गरेको मेहनत र लगानी डुब्ने अवस्थामा पुगेको छ, बजारमा भारतीय तरकारी छ, अहिले बजारमा ४०/४५ रुपैयाँ प्रतिकिलो स्कुस पाइन्छ तर मैले उत्पादन गरेको स्कुस सात रुपैयाँ प्रतिकिलो पनि बिक्री भएन’– उहाँले भन्नुभयो– ‘बारीबाट आफै ढुवानी गरेर श्रीनगर बजारमा लग्योे, ढुवानी आफ्नै छ तर व्यापारीले सात रुपैयाँ प्रतिकिलो पनि किन्दैनन् ।’

सल्यान, ३१ बैशाख ।

सल्यानको शारदा–२ जोगिदेउखोलामा मोहनप्रकाश वलीले डेढ विगाह जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । बर्खे सिजनमा पुष्पखेती गर्दैै आउनुभएका उहाँले बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चार रोपनी जग्गामा स्कुस फलेर लटरम्म छ । छ रोपनी जग्गामा रोपेको बन्दागोभी बिक्रीका लागि तयार भइसकेको छ तर उहाँले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिन थालेको छ ।

बारीमा स्कुस अर्थात सानो फर्सी, बन्दागोभीलगायतका तरकारी बिक्रीका लागि तयार भए पनि बिक्री नहुँदा कुहिन थालेको उहाँको भनाइ छ । बारीमा अहिले ५० क्वीन्टलभन्दा बढी स्कुस छिप्पिन थालिसकेको छ । ओजी एग्रो एण्ड टुरिज्म प्रालि नै दर्ता गरेर उहाँले दुई वर्षदेखि पुष्पखेती र तरकारी खेती गर्दै आउनुभएको छ ।

करिब १२ लाख रुपैयाँ लगानी गरेर कृषि व्यवसाय सञ्चालन गर्नुभएका उहाँले जग्गाभाडा मात्रै वार्षिक डेढ लाखसम्म बुझाउनुहुन्छ तर उत्पादन भएको तरकारी बिक्री नहुँदा छिप्पिएर कुहिन थालेको छ । बजारमा भारतीय तरकारीको रजाइँ हुँदा आफूले उत्पादन गरेको तरकारी बिक्री नभएको उहाँको भनाइ छ । मूल्य नपाउँदा तरकारी बिक्री गर्नै छोडेको उहाँले बताउनुभयो ।

‘मैले गरेको मेहनत र लगानी डुब्ने अवस्थामा पुगेको छ, बजारमा भारतीय तरकारी छ, अहिले बजारमा ४०/४५ रुपैयाँ प्रतिकिलो स्कुस पाइन्छ तर मैले उत्पादन गरेको स्कुस सात रुपैयाँ प्रतिकिलो पनि बिक्री भएन’– उहाँले भन्नुभयो– ‘बारीबाट आफै ढुवानी गरेर श्रीनगर बजारमा लग्योे, ढुवानी आफ्नै छ तर व्यापारीले सात रुपैयाँ प्रतिकिलो पनि किन्दैनन् ।’ सात रुपैयाँले स्कुस बिक्री गर्दा आफ्नो लगानी नै नउठ्ने भएकाले हिजोआज तरकारी नै बजार पठाउन छोडेको उहाँको भनाइ छ । उहाँले आफूले उत्पादन गरेको ९० प्रतिशत तरकारी बिक्री नभएको बताउनुभयो ।

‘बन्दागोभी पनि १२/१३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएन, यही मूल्यमा बेचे हाम्रो २० प्रतिशत पनि लगानी उठ्दैन्, कति तरकारी कुहिएर खेर गयो, स्कुस मात्रै एक सय क्वीन्टल बढी उत्पादन भयो, झण्डै ५० क्वीन्टल त अहिले पनि बारीमा छ’– उहाँले भन्नुभयो । उहाँले तरकारी बिक्री नहुँदा स्थानीयले वस्तुभाउलाई दाना बनाउन प्रयोग गरेको बताउनुभयो ।

‘महंगीले आकाश छोएको छ तर तरकारीको भाउ बढेन, बजार अनुगमन भएन, किसानबाट लिएको तरकारीबाट पाँच/छ गुणासम्म व्यापारीले नाफा कमाउँदा पनि सरकार मौन छ’– उहाँले भन्नुभयो– ‘हाम्रो मात्रै होइन, यो क्षेत्रमा धेरै कृषकले रोपेको तरकारी कुहिएको छ ।’ कृषकले उत्पादन गरेको ताजा तरकारीको बजारीकरणमा सरकारले ध्यान नदिदा तरकारी सडेर गएको उहाँको भनाइ छ ।

जिल्लाका कृषकले उत्पादन गरेको तरकारी संकलन गरी बिक्री गर्ने व्यवस्था मिलाउन उहाँको माग छ । आफूले उत्पादन गरेको तरकारी बिक्री नभएकाले सरकारको ध्यानाकर्षण गराउन स्थानीयलाई सित्तैमा तरकारी बाँड्ने अभियान सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित