सल्यानका हरेक प्रहरी युनिटमा ‘नागरिक सहजकर्ता’

प्रहरी कार्यालयमा काम वा सुरक्षा समस्या लिएर आउने नागरिकलाई सेवा प्रवाह छिटो छरितो र प्रभावकारी होस तथा अर्को कुनै व्यक्ति वा बिचौलियाको सहयोग लिन नपरोस् भन्ने उद्धेश्यले प्रहरी युनिटमा सहजकर्ता राखिएको उहाँको भनाइ छ ।

सल्यान, १ जेठ ।
सल्यानमा पहिलो पटक नागरिक सहजकर्ता स्थापना भएको छ । सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत जिल्लाभर रहेका सबै प्रहरी युनिटमा अब नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्न थालिएको हो । एक कार्यक्रमका बिच जिल्लाभर नागरिक सहजकर्ता स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अब प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन् ? सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको लागि सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक दामोदर केसीले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयमा काम वा सुरक्षा समस्या लिएर आउने नागरिकलाई सेवा प्रवाह छिटो छरितो र प्रभावकारी होस तथा अर्को कुनै व्यक्ति वा बिचौलियाको सहयोग लिन नपरोस् भन्ने उद्धेश्यले प्रहरी युनिटमा सहजकर्ता राखिएको उहाँको भनाइ छ । जसअनुसार जिल्ला प्रहरी कार्यालय सहित यस कार्यालय मातहतका १७ ठाँउमा नागरिक सहजकर्ता सेवा सुरु भएको छ ।

नागरिक सहजकर्ता प्रहरीले नागरिकलाई स्वागत गर्ने, बिनम्रताका साथ समस्याबारे सोध्ने, समस्याबारे सम्बन्धित फाँट वा कर्मचारी वा कार्यालय प्रमुखसँग भेट गराई समस्याबारे भनिदिने, सेवा लिएका नागरिकको अभिलेख राख्ने लगाएतको कार्य गर्ने छन् ।

आइतबार अभियानको सुरुवात कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का लगाएतकाले नागरिक सहजकर्ताको परिचालनलेसेवाप्रवाहमा नागरिकलाई प्रत्यक्ष फाईदा हुने र प्रहरीप्रति नागरिकको विश्वास बढ्नुका साथै पिडा लिएर प्रहरी कार्यालय आउने नागरिकलाई राहत हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस