फेरिदै खैराबाङ

जिल्लाको शारदा नगरपालिका–११ मा अवस्थित ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटन क्षेत्रको हवको रुपमा रहेको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम थालिएको हो ।

सल्यान, ३ जेठ ।

सल्यानको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गर्न थालिएको छ ।

जिल्लाको शारदा नगरपालिका–११ मा अवस्थित ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटन क्षेत्रको हवको रुपमा रहेको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम थालिएको हो । झण्डै चार दशकअघि पुनर्निर्माण गरिएको यस मन्दिरको पुरातत्व विभागको सहयोगमा प्यागोडा शैलीमा पुनर्निर्माण भइरहेको छ । पहिले मन्दिर निर्माणमा छड र सिमेन्ट प्रयोग गरिएको थियो । झ्याल ढोका साना थिए । मन्दिरको आकार सानो थियो ।

मन्दिरका चारैतिरका खम्बा छड सिमेन्टकै थिए । तर अहिले भने ढुंगामाटो र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माण गर्न थालिएको छ । ‘मन्दिर पुनर्निर्माणमा छड सिमेन्ट प्रयोग गर्दैनौं, ढुंगामाटो र काठको प्रयोग मात्रै गर्छौं’– खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले भन्नुभयो ।

उहाँले बहुवर्षीय योजनामार्फत मन्दिरको पुनर्निर्माण भइरहेको बताउनुभयो । ‘मन्दिरको पुनर्निर्माण र केही संरचना निर्माणका लागि हामीले डिपिआर तयार पारेका थियौं, सोहीअनुसार अहिले प्यागोडा शैलीमा मन्दिरको पुनर्निर्माण भइरहेको छ’– उहाँले भन्नुभयो– ‘यस वर्ष मन्दिर ठड्याउँछौं, आउँदो वर्ष मन्दिरमा छाना राख्नेलगायतका थप काम गर्छौं ।’

यस मन्दिरको पुनर्निर्माणका लागि एक करोड ५२ लाखको लागत अनुमान गरिएको भए पनि यसवर्ष ८० लाख रुपैयाँ प्राप्त भएको उहाँको भनाइ छ । ‘मन्दिरको पुनर्निर्माण नै अहिलेको प्राथमिकता हो, धर्मशाखा निर्माण, पाटीपौवा, घेराबार निर्माणका काम सञ्चालन गर्नुपर्नेछ’– उहाँले भन्नुभयो– ‘मन्दिरलाई आकर्षक बनाउने काम भइरहेको छ, २०८१ को असार मसान्तसम्म सबै काम सकिन्छ ।’ उहाँले मन्दिरमा आउने भक्तजनको लागि पूजापाठ गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

यस मन्दिरमा विशेष गरेर आश्विन शुक्लपक्ष र चैत्र शुक्लपक्षसँगै अरु समयमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ । खैराबाङ भगवती मन्दिरमा वर्षेनि करिब दुई लाख भक्तजनले दर्शन गर्दछन् । धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न दाङ, रुकुम, रोल्पा, प्युठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् ।

स्थानीय दीपेन्द्र बुढाथोकीले यस मन्दिरमा पूजाआजा गर्दा मनले चित्ताएको मनोकांक्षा पूरा हुने विश्वास लिएर पूजाआजा गर्न आउनेको संख्या धेरै भएको बताउनुभयो । ‘धार्मिक शास्त्रअनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ पीठमध्येको एक पवित्र मन्दिरका रुपमा चिनिन्छ’– उहाँले भन्नुभयो– ‘दर्शन गर्न र पूजाआजा गर्नकै लागि देश तथा विदेशबाट समेत भक्तजन आउनुहुन्छ ।’

१४८० देखि पूजाआजा

खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनको घुइँचो लाग्छ ।

भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोकांक्षा पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने मन्दिर वरिपरि चण्डीपाठ गरिन्छ । पौराणिककालबाट बलि दिने चलन शुरु भएको बताइन्छ । खैराबाङमा पञ्चवलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.स. १४८० देखि मन्दिरमा पूजाआजा शुरु गरेको किम्बदन्तीमा उल्लेख छ ।

परापूर्वकालमा एक महिलाले घाँस काट्न जाँदा जंगलमा नौमती बाजा बजेको सुनेपछि सबै गाउँलेलाई बोलाइन् । बाँझको रुखमुनिको फेदैमा खड्ग निसानाको खुडा तलमाथि गर्दा आवाज आइरहेको देखेर उनीहरू सब आश्चर्यचकित भए । त्यही रात गाउँको एक पण्डितको सपनामा समेत देवी प्रकट भएसँगै त्यहाँ मन्दिर बनाई पूजाआजाको शुरुवात भएको किंवदन्ती छ । वि.सं. १८०० को भाद्रमा ढुंगाको छानो हालेको मन्दिर निर्माण गरिएको उल्लेख छ ।

पछि २०४० सालमा वीरेन्द्रको मध्यपश्चिम भ्रमणको क्रममा खैरावाङ भगवतीको दर्शन गर्दा मन्दिर बनाउनु भनी निर्देशन दिएपछि पुनर्निर्माण गरिएको थियो । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र रानी कोमलले २०६० फागुन ३ गतेका दिन दर्शन पूजा र पञ्चवलि संकल्प गरी टीका प्रसाद ग्रहण गरेका थिए । खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट एक हजार छ सय फिट उचाइमा अवस्थित छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित