बस्ती पस्दै जंगली जनावर

बस्तीतिर झरेका वन्यजन्तु कुकुरले लखेट्दै गर्दा स्थानिय, प्रहरी तथा वनका कर्मचारीले देखेपछि उद्घार हुने गरेको छ ।

घाइते अवस्थामा उद्धार गरिएको घोरल

सल्यान, ६ जेठ ।

जंगलमा आगलागी तथा खडेरीका कारण जंगली जनावर मानव बस्तीतिर झर्न थालेका छन् । सल्यानका बिभिन्न वन जंगलहरुमा खडेरी र आगलागी हुँदा सुरक्षा, आहारा र पानीको खोजीमा जंगली जनावर बस्तीतिर झर्न थालेका हुन् । गतबर्ष आधा दर्जनबढी वन्यजन्तुको उद्धार गरेको डिभिजन वन कार्यालयले यस बर्षको हालसम्म ४ वटा जंगली जनावरको उद्धार गरेको छ ।

जसमा जिल्लाको बागचौर नगरपालिका ८ कोटमौलाबाट कुकुरले लखेट्दै गरेको अवस्थामा स्थानियले उद्धार गरेर रतुवाको बच्चा बैशाखको दोस्रो साता डिभिजन वन कार्यालयमा बुझाएका थिए । यस्तै बन्गाड कुपिण्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिकाबाट पनि घोरलको उद्धार गरिएको थियो । विहीबार राती पनि जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा स्थानिय काली बहादुर वलीको घरमा पसेको भाले जातको घोरलको उद्धार गरिएको छ ।

कुकुरले लखेटेदै गर्दा घोरल घरमा पसेको स्थानियले खबर गरेपछि वन कार्यालयका कर्मचारी, प्रहरी र स्थानियको रोहवरमा घोरलको उद्धार गरिएको डिभिजन वन कार्यालय सल्यानका फरेष्टर देबेन्द्र महतले जानकारी दिनुभयो । खुट्टा भाँचिएको, आँखामा घाउ भएको अवस्थामा उद्धार गरिएको घोरल उपचारको क्रममा शनिवार बिहान मरेको छ ।

वन जंगलमा आगलागी हुदाँ बाँच्नकै लागि जंगली जनावर मानव बस्तीतिर झर्न थालेको डिभिजन वन कार्याल सल्यानका प्रमुख जितेन्द्र महतले जानकारी दिनुभयो । लामो समयको खडेरीका कारण जंगलमा भएका पानीका मुहान सुक्न थालेपछि पानी र आहारा खोज्दै बस्तीतिर जंगली जनावर झर्न थालेको उहाँको भनाइ छ ।

खडेरीका कारण सामुदायिक वनमा भएका केही मुहान सुकेको, भएका पानीका मुहानबाट खानेपानी योजना बनाइ बस्तीतिर पानी ल्याउने क्रम बढिरहेको, वनमा आगलागी हुदाँ बाँच्नकै लागि जंगली जनावर वस्तीमा आएको हुनसक्ने उहाँले बताउनुभयो । हालसम्म जिल्लाका दुई दर्जन बढी वनजंगलमा आगलागी भएको छ । वस्तीमा आएका जंगली जनावर मारेर खानुहुदैन् र यिनीहरुको संरक्षण गर्नुपर्छ भन्ने स्थानियमा चेतनाको विकास भएको उहाँको भनाइ छ ।

वन जंगलमा आगलागी र खानेपानी अभाव हुँदा रतुवा, घोरल, बँदेल लगायत जंगली जनावर बस्तीतिर झर्ने गरेका छन् । बस्तीमै जंगली जनावर आउन थालेपछि तिनीहरुको सुरक्षामा चुनौती बढिरहेको छ । बस्तीतिर झरेका वन्यजन्तु कुकुरले लखेट्दै गर्दा स्थानिय, प्रहरी तथा वनका कर्मचारीले देखेपछि उद्घार हुने गरेको छ ।

स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बुझाएका जंगली जनावरको उपचार गरेर जंगलमा छोड्ने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस