कपुरकोट गाउँपालिकाको एक वर्ष : अँध्यारोमुक्त र बालविवाह न्यूनीकरण मुख्य उपलब्धि

कपुरकोट गाउँपालिकालाई पाँच वर्षभित्रमा समृद्ध बनाउनका लागि बालविवाह न्यूनीकरणको अभियानदेखि कपुरकोटको तरकारीलाई ब्राण्डिङ गर्ने योजनालाई अघि सारिएको उहाँको भनाइ छ ।

सल्यान, ९ जेठ ।

 कपुरकोट गाउँपालिकाले एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकामा दोस्रो कार्यकालका लागि गतवर्ष निर्वाचित जनप्रतिनिधिले एक वर्षको अवधिमा गरेका मुख्य उपलब्धि सार्वजनिक गरिएको हो ।

एक वर्षको अवधिमा अँध्यारोमुक्त पालिकाका लागि विद्युतीकरणको योजनादेखि बालविवाह न्यूनीकरणलाई उपलब्धिको रुपमा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले गाउँपालिकाका छवटै वडामा विद्युत नपुगेका वस्तीमा करिब दुई वर्षभित्र विद्युत विस्तार गर्ने योजना अनुरुप काम अघि बढेको बताउनुभयो ।

उहाँले गाउँपालिकामा विद्युतीकरणका लागि चालु वर्षमा नेपाल विद्युत प्राधिकरणसँग सात करोड बराबरको विद्युतीकरण कार्यक्रम सम्झौता गरेको बताउनुभयो । कपुरकोट गाउँपालिकालाई पाँच वर्षभित्रमा समृद्ध बनाउनका लागि बालविवाह न्यूनीकरणको अभियानदेखि कपुरकोटको तरकारीलाई ब्राण्डिङ गर्ने योजनालाई अघि सारिएको उहाँको भनाइ छ ।

उमेर पुगेकाले पनि विवाह गर्दा वडाको सिफारिस लिनुपर्ने व्यवस्था गर्ने कपुरकोट गाउँपालिका पहिलो पालिका बनेको उहाँले बताउनुभयो । ‘कपुरकोटको तरकारीलाई हरेक भान्सामा लैजानका लागि १२ बुँदे घोषणापत्र जारी गरिएको छ, एक वर्षे मुख्य उपलब्धिमा गाउँपालिकाका सबै स्वास्थ्यसंस्थाबाट सार्वजनिक विदाका दिनमा पनि उपचार पाउने व्यवस्था गरिएको छ, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरदैलोमै पुगेर नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको र सामान्य औषधिको व्यवस्था गरेको, सुत्केरी हुने आमालाई सहजताका लागि सबै वडामा वर्थिङ सेन्टरको व्यवस्था गरेको, पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौं’– अध्यक्ष पुनले बताउनुभयो ।

एकीकृत योजनाको अवधारणालाई साकार पार्न टुक्रे योजना ५० प्रतिशत कम गरेको, योजना सम्झौता र बैंकिङ खाता सञ्चालन वडाबाटै हुने गरेको, भुक्तानी प्रक्रियामा सबै पक्षलाई जिम्मेवार बनाउन योजना सम्पन्न भएपश्चात भुक्तानी हुनुपूर्व सात दिनभित्र दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्ने गरिएको उहाँको भनाइ छ ।

राजश्व र योजना व्यवस्थापन अनलाइनबाट शुरु गरिएकोलाई मुख्य उपलब्धिको रुपमा लिइएको छ । यस्तै कर्मचारी पदपूर्ति गर्दा योग्यता र क्षमताको आधारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गरी लोक सेवा र शिक्षक सेवा आयोगको परीक्षा प्रणाली लागु गरी स्वच्छ र निष्पक्षरुपमा कर्मचारी छनोट गर्ने गरेको, गाउँ प्रहरी ऐन जारी गरी प्रहरी सेवा गठन गरी सुरक्षा, विपत व्यवस्थापन र राजश्व संकलनमा परिचालन गरिएको, शैक्षिक सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना र शैक्षिक पाश्र्वचित्र योजना निर्माण गरिएको, कक्षा १ देखि ८ सम्म हाम्रो कपुरकोट नामक स्थानीय पाठ्यक्रम लागु गरिएको, पालिकाभित्र दक्ष जनशक्ति उत्पादन र प्रतिस्पर्धी जनशक्तिका लागि निःशुल्क लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकाको पाँच वर्षे आवधिक योजनाको निर्माण र मध्यावधि खर्च संरचना निर्माण अन्तिम चरणमा रहेको, गाउँपालिकामा चालु आर्थिकवर्षमा १८ वटा नयाँ ऐन र कानुन तयार गरी कार्यान्वयनमा आएको, पूर्वाधारका योजना चालु वर्षमा ८२ दशमलव २० प्रतिशत काम भएको उपलब्धिको रुपमा सार्वजनिक गरिएको छ । यस्तै ११८ वटा योजना सम्झौता भएको, ९७ वटा सम्पन्न भएको र २१ वटा सम्पन्न हुने चरणमा रहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले न्यायिक समितिमा परेका मुद्दालाई दुबै पक्षलाई जीतको महसुस हुने गरी जतिसक्दो छिटो टुंग्याउने गरेको बताउनुभयो । ‘न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने बाहेकका मुद्दा पनि आउँछन् तर हामीलाई त्यस्ता मुद्दा हेर्ने अधिकार नभएकाले सम्बन्धित निकायको बारेमा जानकारी गराई पठाउने गरेका छौं ।’– न्यायिक समितिका संयोजक समेत रहनुभएका भण्डारीले भन्नुभयो– ‘नागरिकको चाहना अनुसार न्यायिक समितिबाट कार्यसम्पादन हुने गरेको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले गाउँपालिकाको कार्यालयबाट योजना सम्झौता गरिरहेको भए पनि जनप्रतिनिधिको चाहना र नागरिकको सुविधाका लागि गाउँपालिकाले पहिलोपटक वडास्तरमै गएर योजना सम्झौता गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस