कागती खेतीमा रमाउँदै पूर्ववडाध्यक्ष घर्ती

पुस्तौंदेखि मकै र गहुँ खेती गर्दै आएको बारीमा कागती खेती गर्नुभएका उहाँले भन्नुभयो– ‘खाद्यान्न रोपे गुजारा मात्रै चल्छ, यो परम्परागत खेती प्रणाली हो, त्यही भएर आम्दानी बढाउन नगदे बाली रोपेको हुँ ।’

सल्यान, ९ जेठ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष लीलाधर घर्तीले कागती खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । २०७४ सालमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष जनताको सेवा गर्नुभएका उहाँले अहिले कागती खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको हो । उहाँले २०७२ सालमा कागतीका विरुवा रोप्नुभएको थियो ।

अहिले त्यही कागतीका बोट आम्दानीको गतिलो स्रोत बनेका छन् । उहाँका बारीमा अहिले एक सय ८३ बोट कागतीले उत्पादन दिइरहेका छन् । केही बोट साना पनि छन् । पुस्तौंदेखि मकै र गहुँ खेती गर्दै आएको बारीमा कागती खेती गर्नुभएका उहाँले भन्नुभयो– ‘खाद्यान्न रोपे गुजारा मात्रै चल्छ, यो परम्परागत खेती प्रणाली हो, त्यही भएर आम्दानी बढाउन नगदे बाली रोपेको हुँ ।’ झण्डै आठ रोपनी क्षेत्रफलमा आफूले कागती रोपेको उहाँको भनाइ छ ।

‘मसँग भएको सबै बारीमा कागती रोपेको छु, बोट राम्रो भएमा तीन वर्षमा नै कागतीले उत्पादन दिने रहेछ’– उहाँले भन्नुभयो– ‘कागती खेती गर्नुपर्छ भनेर शुरुवात मैले गरें, अहिले यस आसपासका स्थानीयले पनि कागती खेती गर्न थालेका छन् ।’ ‘पदमा रहँदासम्म जनताको सेवा गर्ने हो, आफू आर्थिकरुपमा सक्षम नहु‘ँदासम्म सेवा गर्न गाह्रो हुन्छ, आर्थिक क्रान्ति नै अहिलेको आवश्यकता हो, श्रम र उत्पादनमा जोडिनुपर्छ ।’ उहाँले थप्नुभयो– ‘त्यही भएर कागती खेती गर्दै आएको छु ।’

उहाँले खेतीयोग्य जमिन खेर जान नदिन कागती खेती गरेको बताउनुभयो । ‘खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ, बाँझिएर खेर गएको जमिनको सदुपयोग गर्नुपर्छ, जमिन खेर जानुभन्दा कागती खेती गरी निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउन आवश्यक छ’– उहाँले भन्नुभयो । खेर गएको बाँझो जमिनको उपयोग हुने र बारीमा काम गर्दा आफ्नो शारीरिक स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर कागती खेती गरेको उहाँको भनाइ छ ।

उहाँले गएको वर्ष मात्रै कागती बेचेर एक लाख ७५ हजार बढी आम्दानी गर्नुभएको छ । ‘मैले स्थानीय जातकै कागती खेती गर्दै आएको छु, बजारीकरणको कुनै समस्या छैन’– उहाँले भन्नुभयो– ‘यो कर्मले बाँझो जमिन उपयोग गर्ने, युवालाई कृषिकर्मतर्फ प्रोत्साहन गर्ने र जमिन बाँझिने क्रम घटाउन सहयोग पुग्नेछ ।’ उहाँले आफूले उत्पादन गरेको कागती पोखरा समेत जाने गरेको बताउनुभयो ।

‘तुलसीपुर र घोराही मुख्य बजार हो, पोखरा, बुटवलमा पनि पठाएँ, जिल्लाकै श्रीनगरमा पनि खपत हुन्छ’– उहाँले भन्नुभयो– ‘उत्पादन हुनुप¥यो, बजार नपाउने भन्ने हुँदैन, सिजनको बेला भाउ प्रतिकिलो ५० रुपैयाँ भन्दा तल झरेन, बेमौसमा प्रतिकिलो एक सयबाट तल झरेन, भाउ राम्रो छ ।’ उहाँले कागतीको रस बनाउनु भन्दा दाना नै बिक्री गर्नु फाइदा हुने बताउनुभएको छ ।

उहाँले गएको वर्ष मात्रै दाना बाहेक करिब दुई सय लिटर तयारी कागतीको रस बिक्री गरेको बताउनुभयो । अधिकांश समय कागती सिंचाई गर्ने, खाडल खन्ने, मल हाल्ने काममा व्यस्त हुने गरेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित