सल्यान, १० जेठ ।
गत वर्षको स्थानीय तह निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो एक वर्षको कार्यकाल सिकाइमा बितेको बताएका छन् । एक वर्षको अवधिमा भएको सिकाइ र बटुलेको अनुभवले आगामी दिनमा राम्रो काम गर्न सहज हुने जनप्रतिनिधिको बुझाइ छ । विभिन्न चुनौतीका बावजुद पनि स्थानीय तहमा राम्रो कामको शुरुवात भएको उनीहरुको भनाइ छ ।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले निर्वाचित भएको पहिलो वर्षमा केही राम्रा कामको शुरुवात भए पनि सोचेअनुसारको काम गर्न नसकेको बताउनुभयो । ‘म निर्वाचित भएर आइसकेपछि एक वर्ष बुझ्न र सिक्नमा बितेको छ, अबका वर्षहरुमा राम्रो गरेर जान सक्छौं भन्ने विश्वास बढेको छ’– उहाँले भन्नुभयो– ‘विद्युतीकरण, बालविवाह न्यूनीकरण अभियान, बेमौसमी तरकारीको उत्पादन प्रवद्र्धन, बजारीकरण जस्ता कैयौं राम्रा कामको शुरुवात गरेका छौं ।’
नागरिकको अपेक्षा धेरै हुनु तर सीमित स्रोत साधनका कारण सोचे जस्तो काम गर्न नसकेको उहाँको भनाइ छ । ‘बाहिर हुँदा म यस्तो गर्न सक्छु भन्ने लागेको थियो तर जिम्मेवारीमा पुगेपछि थोरै स्रोत साधन र नीतिगत समस्याका कारण धेरै गर्न नसकिने रहेछ’– उहाँले भन्नुभयो । उहाँले अबको चार वर्षमा जनताको जनजीविकामा परिवर्तन आउने गरी चुनावको बेला गरेको प्रतिवद्धता पूरा गर्ने गरी काम गर्ने बताउनुभयो ।
त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जनप्रतिनिधि सबैको साझा भएकाले सबै क्षेत्रलाई समेटेर विकासको थालनी गरिएको बताउनुभयो । ‘केही राम्रा प्रयासहरुको थालनी भएको छ, त्यसको परिणाम आउने क्रममा छ’– उहाँले भन्नुभयो– ‘पहिले पनि सामाजिक सेवामा सक्रिय भएकाले काम गर्न गाह्रो भएन ।’ शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाससँगै कृषि र पशुपालनलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ ।
शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले बाहिरबाट जसरी सहजरुपमा कल्पना गरिन्छ जिम्मेवारीमा पुगेपछि विविध कारणले काम गर्न केही असहज हुने गरेको बताउनुभयो । ‘स्रोत साधन थोरै छ, जनताका आशा अपेक्षाहरु धेरै छन्, यो दुईमा तालमेल मिलाउनै समस्या हुनेरहेछ’– उहाँले भन्नुभयो । उहाँले न्यायिक समितिमार्फत निष्पक्ष न्याय दिदै आएको बताउनुभएको छ ।
छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्धकुमारी खत्रीले आफूले धेरै काम गर्ने प्रयास गरे पनि समय, परिस्थिति, ऐन कानुनलगायतका कारण केही चुनौती थपिएको बताउभुयो । ‘पालिकामा भएको स्रोत साधनहरुको हामीले सही ढंगले उपयोग गरेका छौं’– उहाँले भन्नुभयो– ‘केही राम्रा कामको थालनी गरेका छौं तर सबैलाई सन्तुष्ट बनाउन सकिएन ।’ उहाँले गौशाला निर्माण, दलितको जीवन विमा, शैक्षिक सुधारलगायतका काम गरेको बताउनुभयो ।