सल्यानको लुहापिङमा यही जेठ १५ गते पढाइ मेला हुदैँ

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामग्रीको पहुँच बढाउदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पढाइ मेला गर्न लागिएको हो ।

सल्यान, १२ जेठ ।
सल्यानमा पढाइ मेला हुने भएको छ । यही जेठ १५ गते सोमबारको दिन जिल्लाको सदरमुकाम खलंगा लुहापिङस्थित त्रिभुवन जनता माद्यामिक बिद्यालयको परिसरमा एक दिने पढाइ मेला हुने भएको हो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र शारदा नगरपालिकाको आयोजनामा नगरस्तरीय पढाइ मेला हुने भएको हो ।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामग्रीको पहुँच बढाउदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पढाइ मेला गर्न लागिएको शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । शुक्रवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, लेखक, संचारकर्मी तथा अन्य सरोकारवाला गरी करिब एक हजार जनाको सहभागिता रहने गरेर पढाइ मेला गर्न लागिएको बताउनुभयो ।

पढाइ मेलामा नगरभित्रका ५७ वटा सामुदायिक र ११ वटा संस्थागत गरेर ६८ वटा बिद्यालयले सहभागिता जनाउने छन् । पढाई मेलामा नगरभित्रका २० भन्दा बढी बिद्यालयबाट विकास गरिएका बालकेन्द्रित, नविनतम र आक्रर्षक पठन सामाग्री, बाल खेलहरु सहितका स्टल रहने छन् । यस्तै बाल पुस्तकालय, पढाइ मापन तथा डिजिटल पुस्तकालय, सबै छोडी पढौँ, हिडाइ पढाइ र चौतारामा बसेर पढाइ लगाएतका क्रियाकलाप हुने छन् ।

यस्तै कक्षा पुस्तकालय र स्वतन्त्र पठन, लेखक तथा स्रष्टासँग बालबालिका, कथा वाचन, नाचगान तथा साँस्कृतिक कार्यक्रम हुने छन् । पत्रकार सम्मेलनमा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख संगीता बुढा, रुम टु रिडका सिनियर अधिकृत बाबुराम पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस