मन्त्री ज्वालाको पहलमा घाइते सुनितालाई उपचारको लागि काठमाण्डौँ लगिदैँ

सल्यान, १४ जेठ ।
सल्यानको कुमाख गाउँपालिका ७ जिमाली निवासी १८ बर्षिया सुनिता बोहोराको अव काठमाण्डौँमा उपचार हुने भएको छ । गएको असोज १५ गते भएको जिप दुर्घटनाबाट घाइते सुनिताको उपचार खर्च जुटाउन श्रीमान् राजेश पुन मगरलाई मुश्किल परेपछि विगत दुई महिनादेखी जिल्ला अस्पताल सल्यानमा नै राखिएको थियो ।

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एव्म भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बिशेष पहलमा सुनिताको काठमाण्डौँमा उपचार हुने भएको हो । मन्त्री ज्वालाकै पहलमा सुनितालाई थप उपचारको लागि आइतवार नेपालगन्ज हुदैँ काठमाण्डौँ लगिदैँ छ । सुनितालाई काठमाण्डौँको वीर अस्पतालमा उपचारको व्यवस्था मिलाइने छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. पुजा आचार्य सहित विभिन्न निकायको सहयोगमा स्वास्थ्य सेवा कार्यालयकै एम्बुलेन्समा दिउँसो २ वजे नेपालगन्ज लगिएको हो । घाइते सुनितालाई नेपालगन्जबाट हवाइजहाज मार्फत काठमाण्डौँ लगिदैँ छ ।

जीप दुर्घटनामा परी घाइते सुनिताको नेपालगन्ज, लखनउमा उपचार गर्दा आर्थिक अभाव भएपछि जिल्लामा फिर्ता ल्याइएको थियो । शुक्रवार सुनिताका श्रीमान राजेशले अर्धचेत अवस्थामा रहेकी श्रीमतीलाई लगेर जिल्ला प्रशासन कार्यालयमा गएपछि उपचारका लागि विभिन्न निकायको सहयोग प्राप्त भएको हो ।

यसैविच घाइते अवस्थामा रहेकी सुनिताको उपचारका लागि विभिन्न निकायबाट आर्थिक सहयोग समेत प्राप्त भएको छ । खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले सुनिताका श्रीमान् राजेशलाई दश हजार रुपैँया नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस