सल्यान, १५ जेठ ।
सल्यानमा मासु जाँच ऐन कार्यान्वयन सम्बन्धि अन्तरक्रिया गरिएको छ । जिल्लामा अव्यवस्थित रुपमा मासु पसल सञ्चालन भैरहेको अवस्थामा पशु बधशाला तथा मासु जाँच ऐन, नियम कार्यान्वयन गर्ने उद्धेश्यले शारदा नगरपालिका सल्यानको आयोजनामा आईतबार सदरमुकाम खलंगामा अन्तरक्रिया गरिएको हो । स्वच्छ सफा मासु उपभाोग गर्नको लागि ऐन नै बनाएर उचित कार्यान्वयन सहित अगाडि बड्नुपर्ने सहभागिहरुको भनाइ छ । ऐन कानुनको कार्यान्वयनमा मुल्यांकन र अनुगमण जरुरी रहेको समेत सहभागिहरुले बताएका छन् ।
कार्यक्रम बोल्दै नगरप्रमुख प्रकाश भण्डारीले मासु पसल सरसफाइ, मासु पसलमा हुनुपर्ने मापदण्ड, मासुको मुल्यसूची अनिवार्य राख्नुपर्नेमा नराखेको लगायतका विषयमा गुनासो आउने गरेको बताउनुभयो । पालिका भित्रका उपभोक्ताले शुद्ध मासु उपभोग गर्न नपाएको र यहाँ सञ्चालित अधिकांश मासु पसल मापदण्ड विपरीत रहेकाले मापदण्ड अनुसार नै सञ्चालनका लागि पहल गरिने उहाँको भनाइ छ ।
कार्यक्रममा पशु चिकित्सक सृजना खनालले पशु बधशाला तथा मासु जाँच ऐन नियम, पशु बधशाला तथा मासु जाँच नियमावली लगाएतका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनार, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।