सेवा, सुविधा माग गर्दै सल्यानका विद्यालय कर्मचारी धर्नामा

सल्यान, २१ जेठ ।
सल्यानका सामुदायिक विद्यालयमा कार्यरत बिद्यालय कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले हाल उपलब्ध गराउदैँ आएको सेवासुविधा बृद्धिको माग गर्दै नेपाल बिद्यालय कर्मचारी परिषद्ले धर्ना सुरु गरेको हो । २०७९ साल भदौँमा संघिय सरकारसँग बिद्यालय कर्मचारीको सेवासुविधा बढाउने सम्बन्धमा भएको लिखित सम्झौताको सरकारले पालना नगरेको भन्दै उनीहरुले धर्ना शुरु गरेका हुन् ।

राष्ट्रिय कार्यक्रम अन्र्तगत आइतवार शिक्षा विकास तथा समन्वय इकाई सल्यानको परिसरमा बिद्यालय कर्मचारीले धर्ना दिएका हुन् । बिद्यालय कर्मचारीको तलव बढाउने सम्बन्धमा भदौँमा सम्झौता हुदा आगामी आर्थिक बर्षको वजेटमा सम्बोधन गर्ने सहमति भएपनि हालै सार्वजनिक गरिएको वजेटमा तलव बृद्धि नभएको बिद्यालय कर्मचारीहरुको भनाइ छ ।

अहिले मासिक लेखापालले १३ हजार ५ सय र कार्यालय सहयोगीले ७ हजार ५ सयमा काम गर्दै आएका छन् । न्यूनपारिश्रमिकका कारण आधारभूत आवश्यता नै पुरा गर्न समस्या भएकाले तलव बृद्धिको माग गर्दै धर्ना दिइएको नेपाल बिद्यालय कर्मचारी परिषद् सल्यानका अध्यक्ष मदन बस्नेतले जानकारी दिनुभयो ।

सरकारले आफ्नो मागको बेवास्ता गरेकाले आइतवार आज देखी २६ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना, जेठ २७ गतेदेखी असार १ गतेसम्म काठमाण्डौँमा अनसन बस्ने र माग सम्बोधन नभए त्यसपछि अनिश्चित कालिन बिद्यालय बन्द गरिने उहाँको भनाइ छ । सल्यानमा करिब ५ सय बिद्यालय कर्मचारी रहेका छन् । धर्ना कार्यक्रममा परिषद्का केन्द्रिय उपाध्यक्ष रामप्रसाद कुमाई, केन्द्रिय सदस्य खड्क विक, जिल्ला कार्य समितीका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित