मानव संगतमा हुर्किंदै ‘च्यान्टे’

उहाँले भन्नुभयो– ‘अरु काम थाँती राखेर भए पनि च्यान्टेलाई दूध र कलिलो घाँस दिन्छु, मलाई देख्ने बित्तिकै यति खुशी हुन्छ कि, आफ्नै आमा भेटे झैं गर्छ ।’

सल्यान, २८ असार ।

डिभिजन वन कार्यालय सल्यानको परिसरमा वन्यजन्तु उद्धार केन्द्र छ । उद्धार केन्द्रमा रहेको छ रतुवाको बच्चा । ०८० वैशाख ७ गते बागचौर नगरपालिका–९ कोटमौला खोरबारेबाट रतुवाको बच्चाको उद्धार गरिएको हो । कुकुरले लखेट्दै गरेको अवस्थामा माउ रतुवा भागेपछि बच्चालाई स्थानीयले उद्धार गरेका थिए ।

आमाबाट एक्लिएपछि त्यही रतुवा वन्यजन्तु उद्धार केन्द्रमा रहेको छ । उद्धारको बखत बच्चा रतुवा करिब एक/डेढ हप्ताको थियो । वन्यजन्तु उद्धार केन्द्रमा राखिएपछि उसको नाम राखियो ‘च्यान्टे’ र शुरु भयो मानवसँगको संगत । वन कार्यालयका कार्यालय सहयोगी शिवकुमार चौधरी उद्धार केन्द्रमा पुग्ने बित्तिकै च्यान्टे उहाँलाई सुम्सुम्याउन पुगिहाल्छ । च्यान्टेका लागि शिवकुमार आमाजस्तै हुनुभएको छ । जब त्यो रतुवाले आफूलाई सुम्सुम्याउँछ र देख्ने बित्तिकै खोरबाट उठेर वरपर गर्दै हेर्न थाल्छ, तब उसलाई भोक लागेको शिवकुमारले बुझि हाल्नुहुन्छ । ‘दिनमा तीनपटक च्यान्टेलाई दूध खुवाउनुपर्छ, पहिले त कम खान्थ्यो, अहिले विहान, दिउँसो र साँझ गरेर दैनिक दुई लिटर दूध खान्छ’– उहाँले भन्नुभयो– ‘गत वैशाख ७ गते कुकुरले आक्रमण गर्दा च्यान्टेको आमा वेपत्ता भएपछि यसको उद्धार गरेका थियौं ।’

‘च्यान्टेलाई अहिले पनि निप्पलमा राखेर दूध खुवाउनुपर्छ, शुरुवातमा उद्धार केन्द्रबाट निस्केर कार्यालय परिसरमा जान्थ्यो । अहिले ठूलो भइसकेको छ, नचिनेका मान्छेसँग डराउँछ, कुकुरले देखे भने आक्रमण गर्न सक्लान्, त्यही भएर उद्धार केन्द्रमा राख्छौं’– उहाँले भन्नुभयो– ‘अरु काम थाँती राखेर भए पनि च्यान्टेलाई दूध र कलिलो घाँस दिन्छु, मलाई देख्ने बित्तिकै यति खुशी हुन्छ कि, आफ्नै आमा भेटे झैं गर्छ ।’ कार्यालयका प्रमुख जीतेन्द्र महतले सामान्यतः मान्छे देख्ने वित्तिकै डराउने जंगली जनावर मान्छेसँग घुलमिल भइसकेको बताउनुभयो ।

‘च्यान्टेले नियमित दूध खाइरहेको छ, उद्धार गरेयता ऊ बिरामी परेको छैन, यहाँका जंगलमा छोड्न सक्ने अवस्था छैन, मान्छेसँग घुलमिल भइसकेकाले जोखिम धेरै हुन्छ’– उहाँले भन्नुभयो– ‘राष्ट्रिय निकुञ्जमा पठाउने हाम्रो योजना छ ।’

अहिले सल्यान र निकुञ्ज क्षेत्रको हावापानी नमिल्ने भएकाले केही समयपछि मात्रै यसलाई निकुञ्जमा लगिने उहाँको भनाइ छ । उहाँका अनुसार यस वर्ष कार्यालयले चारवटा वन्यजन्तुको जीवितै उद्धार गरेको छ । कार्यालयको तथ्यांक अनुसार यस वर्ष सातवटा मृत वन्यजन्तु भेटिएका छन् भने चारवटाको जीवितै उद्धार गरिएको हो । जसअनुसार पाँचवटा घोरलमध्ये दुईवटा मृत, पाँचवटा रतुवामध्ये चारवटा मृत र एउटा हुँडार मृत भेटिएको थियो । उद्धार गरिएका तीनवटा घोरलको उद्धार गरिएकै जंगलमा पुर्नस्थापनाका लागि छोडिएको छ भने एउटा रतुवाको उद्धार केन्द्रमा संरक्षण भइरहेको छ । कार्यालय प्रमुख महतले मानवीय क्रियाकलापका कारण वन्यजन्तुहरु संकटमा पर्न थालेको बताउनुभयो ।

‘खडेरीका कारण जंगलमा भएका पानीका मुहान सुक्न थालेपछि पानी र आहारा खोज्दै बस्तीतिर जंगली जनावर आउँछन् । त्यसैबेला नै मानवीय कारण होस् या कुकुरको कारण होस्, जंगली जनावरमाथि आक्रमण हुँदै आएको छ’– उहाँले भन्नुभयो– ‘वन्यजन्तुको संरक्षणमा सबै लाग्नुपर्छ भन्ने चेतनाको विकास हुन आवश्यक छ ।’ विविध कारण बस्तीमै वन्यजन्तु आउन थालेपछि तिनीहरुको सुरक्षामा चुनौती बढेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस