सल्यान, ३१ असार ।
सल्यानको छत्रेश्वरी गाउँपालिका १ हलहलेमा औषधिजन्य गुण भएको बोझोको संरक्षण गरिएको छ । छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र रोल्पाको गंगादेव गाउँपालिकासँग जोडिएको हलहलेमा आयुर्वेद्धिक गुण भएको वनस्पति बोझोको संरक्षण गरिएको हो । जंगलको विच भागमा पर्ने खोलाको दलदलक्षेत्रमा बर्षौ पहिले रोपिएको बोझोको अहिले संरक्षण गरिएको छ ।
यहाँको तीनक्षेत्रमा गरेर करिब ३ रोपनी क्षेत्रफलमा रहेको बोझोको स्थानियले संरक्षण गरेका हुन् । बोझोको संरक्षण गरिएपछि अहिले यहाँ हेर्न जाने, घुम्ने, फोटो खिच्ने स्थानियको जमात बढ्दो छ । स्थानियबासीले संरक्षण गरेको बोझो बिक्री गर्न तथा उखेलेर अन्यत्र लग्न भने प्रतिवन्ध लगाइएको छ ।
दलदल क्षेत्रमा बोझो खेती गरेर संरक्षण गरेसँगै माटोको संरक्षण, घरपालुवा तथा वन्यजन्तुको दलदलमा फस्ने जोखिम कम हुनुका साथै आन्तरिक पर्यटनको सम्भावना बढेको स्थानिय बताउँछन् । अहिले बोझोको संरक्षण मात्रै नभएर यसको उपयोगमा समेत स्थानियले ध्यान दिन थालेका छन् । बोझो एक भएपनि यसका गुण अनेक छन् ।
स्थानिय क्षेत्र केसीले स्थानियबासीको सक्रियतामा बोझोको संरक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार करिब चार दशक अघि यसक्षेत्रमा बोझो रोपिएको थियो । ‘पहिले यहाँ दलदल नै थियो, खेतीपानी गर्न सकिदैन्थ्यो, पानीको आसमा बस्तुभाउ दलदलमा गएभने निस्किन नै गाह्रो हुन्थ्यो, सायद चार दशक अघि होला, यहाँ बोझो रोपिएको हो, अहिले सबै दलदलक्षेत्रमा बोझोले ढाँकेको छ’ उहाँले भन्नुभयो ।
अघिल्लो पुस्ताले बोझो रोपेको भएपनि अहिलेको पुस्ताले त्यसको संरक्षण गरेको उहाँको भनाइ छ । ‘बोझो रोपेपछि माटोपानीको संरक्षण भएको छ, बोझो फैलिएको छ, दलदल हराएको छ, यसले नै यहाँको सौन्दर्यता बढाएको छ’ उहाँले भन्नुभयो ‘यहीँनिरबाट सडक निर्माण भएकाले ओहोरदोहार गर्नेले यहाँ घुम्ने, हेर्ने, फोटो खिच्ने र आनन्द लिने गरेका छन् ।’
केसीले बोझोको संरक्षण गर्न थालेको बर्षौ भैसकेकाले यसको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । ‘बोझोमा औषधिजन्य गुण हुने भएकाले यसलाई संरक्षणसँगै बिक्री गर्न आवश्यक छ, बोझो स्वास्थ्यका लागि लाभदायक छ, शुरुवातमा यो क्षेत्र कसले भोगचलन गर्ने भन्नेमा विवाद थियो, तर अहिले शिव मन्दिर क्षेत्रभित्र रहने निर्णय भैसकाले समस्या छैन्’ उहाँले भन्नुभयो ।
आयुर्वेदमा बोझोको महत्व ठूलो छ । बोझोलाई धेरै जसोले गाउँघरमा पेट दुख्दा फुल्दा, खोकी लाग्दा चुस्ने खाने गरेको पाइन्छ । बोझोलाई बाथ, दाँतको दुखाइ, कफदोष, स्वर बसेको, आउँ, झाडापखाला, ज्वरो आदिमा प्रयोग गरेको पाइन्छ । यस्तै मकैँ गहुँ जस्ता अन्नको भण्डारणमा किरा नलागोस् भनेर पनि यसको प्रयोग गर्ने गरिन्छ ।
कोरोनाकाल देखी बोझोको महत्व थप बढेको वनस्पती अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा. मित्र पाठकले बताउनुभयो । ‘अझै पनि गाउँघरमा पाकाउमेरका मान्छेका झोलामा बोझोका साना साना टुक्रा राखेको देखिन्छ, खोकी लाग्दा होस् या स्वर सफा गराउनको लागि पनि बोझोको प्रयोग गरिन्छ’ उहाँले भन्नुभयो ‘शारीरिक कमजोरी, पेट सम्बन्धी गडबडी, कलेजो तथा छातीको दुखाइ सम्बन्धी समस्या आदिमा पनि प्रयोग गरिएको पाइन्छ, कोरोनाको बेलामा यसको प्रयोग थप बढेको छ ।’
आफ्नै परम्परागत ज्ञान, सीप र अभ्यासमा भरोसा नगरेर परनिर्भर विदेशीले बनाएको औषधिमा मात्र विश्वास गरेकै कारण आज यस्ता औषधिजन्य गुण भएका वनस्पती लोपोन्मुख हुन पुगेको उहाँको भनाइ छ । बोझोलाई औषधि बनाउने कच्चा पदार्थको रुपमा निर्यात गर्नसके आम्दानीको गतिलो स्रोत बन्नसक्ने स्थानिय बताउँछन् ।