डोको बुनेरै बित्यो ४० वर्ष

बाँसबाट बनाइने वस्तुहरुलाई कलात्मकरुपमा निर्माण गर्न सकिए आफ्नो व्यवसायबाट धेरै नै कमाउन सकिने उहाँको अनुभव छ ।

सल्यान, ३ साउन ।

सीप र जाँगर भए देशमै कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ सिद्ध कुमाख गाउँपालिका–१ पटारेका लिलाधर बुढाथोकी । बाँसबाट निर्माण हुने डोकोलगायतका सामग्रीबाट उहाँले लाखौं रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

राप्ती राजमार्गअन्तर्गत पटारे बजारमा बस्दै आउनुभएका लिलाधर दिनभर डोको बुन्ने काममा व्यस्त हुनुहुन्छ । सानै उमेरदेखि नै डोको बुन्ने पेशा गर्दै आउनुभएका उहाँले घरायसी प्रयोगमा आउने सामग्रीहरु डोको, टोकरी, डालीलगायतका सामग्री बनाउँदै आउनुभएको छ । बाँसको चोया काटेर ४० वर्षदेखि डोको–डालो बुन्दै आउनुभएको छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

समुदायमा पुर्खाले गर्दै आएका पेशा व्यवसाय छोडेर अन्य काम थाल्नेको जमात धेरै भएको अवस्थामा बुढाथोकीको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । घरमा नै बाँस प्रशस्त भएकाले जीविकोपार्जनका लागि उहाँले यस पेशालाई रोज्नुभएको हो ।

पुख्र्यौली पेशालाई निरन्तरता दिदै उहाँले डोको–डालो बनाएर बिक्री गर्दै आउनुभएको छ । दुुःख गरेर डोको–डालो निर्माण गर्ने गरेको भए पनि परिश्रमअनुसारको उचित बजार मूल्य नपाउने गरेको उहाँको गुनासो छ । ‘डोको–डालो बुनेर यसको बिक्रीबाट आउने पैसाले नै परिवारको खर्च चल्ने गरेको छ’– उहाँ भन्नुहुन्छ– ‘हाम्रो घरखर्च चलाउने पैसा आउने बाटो नै यही हो । यो डोको–डालो कहिले दाल तरकारीमा बिक्छ त कहिले पैसामा ।’

उहाँले बाँसका चोया बनाएर नै दिनमा चारवटासम्म डोको बनाउन सक्नुहुन्छ । ‘घरका लागि आवश्यक सबै खाद्यान्न किनेर खानुपर्छ जसको भाउ हरेक दिन उकालो चढ्दैछ, आफूले बुन्ने डोका–डालाको भाउ भने कहिल्यै बढ्दैन’– उहाँले भन्नुभयो– ‘डोको–डालो बुन्न छाड्ने हो भने अरु व्यवसायतर्फ आँट आउँदैन, मैले जानेको यही हो । हिउँद होस् या बर्खा बाह्रै महिना बाँसका सामग्री बनाउँछु ।’

डोको–डालो बुनेर बेच्दा थोरै पैसा कमाइ हुने भए पनि यही काम गर्नुपर्ने उहाँको बाध्यता छ । ‘एउटा डोको दुई सय रुपैयाँदेखि माथि मूल्यमा बिक्री हुन्छ, तर माग कम आउँछ, श्रीनगर, थारमारे लगायतका बजारसँगै गाउँ–गाउँमा लगेर डोको बेच्नुपर्छ, यही पेशाबाट भएको आम्दानीले घर खर्च चल्ने गरेको छ’– उहाँ भन्नुहुन्छ । गाउँघरमा घाँसपात गर्न तथा धान, गहुँ, मकै ओसारपसारका लागि पुस्तौंदेखि डोको तथा डालोको प्रयोग हुँदै आएको छ ।

परम्परागत तथा मौलिक पेशा संरक्षणसँगै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न पनि बाँसका सामग्रीको बजारीकरण तथा उचित मूल्य निर्धारण हुनुपर्ने उहाँको माग छ । ‘आम्दानी कति हुन्छ, त्यो हिसाव म भन्न सक्दिन तर छ जनाको परिवार यसैबाट पालेको छु, छोराछोरीको पढाइदेखि घरखर्च सबै यसैबाट चलेको छ’– उहाँ भन्नुहुन्छ ।

बाँसबाट बनाइने वस्तुहरुलाई कलात्मकरुपमा निर्माण गर्न सकिए आफ्नो व्यवसायबाट धेरै नै कमाउन सकिने उहाँको अनुभव छ । पछिल्लो समय वैदेशिक रोजगारीमा देखिएको आकर्षणले घरायसीरुपमा उत्पादन गरी राम्रो आम्दानी गर्न सकिने यस्तो पेशा लोप हुँदै गएको छ । बाँसबाट निर्मित कलात्मक बस्तुको माग भएपनि नयाँ पुस्ताको चासो घटदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस