गाउँमा अझै खानेपानीको अभाव : खानेपानीकै लागि सधै ‘झगडा’ ?

‘पानी भर्ने पालो नै पाइदैन्, एक्लै भएकाले छिटो घरमा आएर खाना बनाई खुवाएर केटाकेटी स्कुल पठाउनुपर्छ, आफुलाई हतार हुन्छ, कयौँ पटक पानी भर्दाखेरी स्थानियसँग झगडा भएको छ’ उहाँले थप्नुभयो ‘यो हाम्रो बाध्यता हो, घर छिटो आउ पालो पाइदैन्, पालो पर्खिउ केटाकेटीको पढाइ छुट्छ ।’

सल्यान, १५ साउन ।

शारदा नगरपालिका–९ की लिला रेउलेको घरनजिकै पानी पाइँदैन् । उहाँ झण्डै ३ घण्टा तल हरलेखोलामा पुगेर उकालोमा पानी बोकेर आउनुहुन्छ । विहे गरेर आएदेखि डोकोमा पानी बोकेर शुरु भएको उहाँको दुःख अहिलेसम्म टुटेको छैन् । खानेपानीको अभावले बालबालिकाहरू समेत बोतल, जर्किन, गाग्री लगायतका भाँडा बोकेर पानी लिन हिँड्छन् ।

सबैले पानी बोक्न समय दिनुपर्छ । घरका केटाकेटीले त काम गर्नुपर्ने भएपछि लिलालाई पानी नबोकी सुखै हुने कुरा भएन । ‘म त घरमा एक्लै छु, केटाकेटी साना–साना छन्, छिमेकीहरु राती १/२ वजे उठेर पानी बोक्न जान्छन्, एक्लै जान म सक्दिन्, जो पहिले गयो, उसले कुवाको पानी ल्याउने हो, कुवामा ५/७ गाग्री हुन्छ, बाँकी सबै खोलामा नै पुग्नुपर्छ’ उहाँले भन्नुभयो ।

सबेरै पानी ल्याउन गएपनि अवेर मात्रै घर फर्किने गरेको उहाँको भनाइ छ । ‘पानी भर्ने पालो नै पाइदैन्, एक्लै भएकाले छिटो घरमा आएर खाना बनाई खुवाएर केटाकेटी स्कुल पठाउनुपर्छ, आफुलाई हतार हुन्छ, कयौँ पटक पानी भर्दाखेरी स्थानियसँग झगडा भएको छ’ उहाँले थप्नुभयो ‘यो हाम्रो बाध्यता हो, घर छिटो आउ पालो पाइदैन्, पालो पर्खिउ केटाकेटीको पढाइ छुट्छ ।’

उहाँकै छिमेकी मनकलि थापा सबै काम थाती राखेर पानीको जोहो गर्न विहानै खोला झर्नुहुन्छ । उहाँले पालो कुरी एक गाग्री पानी बोकेर घर फर्किदा अवेर भैसकेको हुन्छ । त्यति टाढाबाट बोकेर ल्याएको पानी खान र बस्तुभाउलाई खुवाउन सधैँ अपुग हुन्छ । अड्कली अड्कली पानी चलाउनुपर्ने अवस्था छ । कयौँ पटक त बेलुकाको खाना खाएर पानी ल्याउन खोला गएको उहाँको अनुभव छ ।

‘कहिले बेलुकाको खाना खाएर ९/१० वजे पानी ल्याउन जान्छौँ, कहिले राती उठेर १/२ वजे खोलामा जान्छौँ, तर जान वित्तिकै पनि पानी पाइदैन्, कुवामा जाने हो भने लाइन लाग्नुपर्छ, पालो कति बेला आउँछ, थाहा नै हुदैन्, यदी खोलामा जाने हो भने पानी त पाइन्छ तर जाने आउने गर्दा ३ घण्टा भन्दा बढी लाग्छ’ उहाँले भन्नुभयो ‘खानेपानीको समस्या सधैँ यस्तै हो, एउटाको काम नै पानी बोक्ने हुन्छ ।’

उहाँले खानेपानीको अभावमा सरसफाई गर्न समस्या हुने गरेको बताउनुभयो । ‘बोकेर ल्याएको पानी आफुले खाने र बस्तुभाउलाई खुवाउने ठिक्क हुन्छ, शौचालय प्रयोग गर्न गाह्रो हन्छ, कपडा लगाएर राख्यो, एकैपटकका एक÷दुई हप्तामा कपडा धुन खोलामा जाने हो’ उहाँले भन्नुभयो । विवाह, पुजा लगाएतका कार्यमा स्थानियलाई पैसा दिएर पानी बोकाउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

यस वडाको नयाँबस्ती, सानीगारे र ढिरुवाका ७१ घरमा खानेपानीको चरम अभाव छ । खानेपानीको अभावले बालबालिकाहरू समेत बोतल, जर्किन, गाग्री लगायतका भाँडा बोकेर पानी लिन हिँड्छन् । बर्खाको समयमा होस् या अरु समयमा सधैँ खानेपानीको निकै समस्या हुने गरेको छ । अहिले काकाकुल बस्तीमा खानेपानी पु¥याउन पहल थालिएको स्थानिय तजमल थापाले बताउनुभयो ।

तस्वीर : नयाँबस्ती, सानीगारे र ढिरुवामा खानेपानी पु¥याउने झण्डा हानेको डाँडामा निर्माणाधिन टंकी ।

मानवबस्ती देखी करिब २ किलोमिटर तल रहेको पानी लिफ्ट मार्फत झण्डा हानेको डाँडामा तानेर सबैका घरमा खानेपानी पु¥याउने लक्ष्य छ । कर्णाली प्रदेश सरकारको बहुबर्षिय योजनामार्फत अहिले २ करोड १५ लाखमा लिफ्ट खानेपानीको काम भैरहेको छ । अबको डेढ महिनाभित्रमा काकाकुल बस्तीका सबै घरमा खानेपानी पु¥याइने वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले बताउनुभयो ।

‘हामीले यहाँका बस्तीमा खानेपानी पु¥याउने भनेर ०७४ साल देखी नै पहल गरेका छौँ, खानेपानीको मुहानको विवादले ढिला भयो, अहिले हरलेखोलाबाट डाँडामा पानी पुगिसकेको छ, तीन वटै गाउँमा जाने पाइप लाइन तयार भएको छ, घर–घरमा जाने लाइन खन्न बाँकी छ’ उहाँले भन्नुभयो ‘जतिसक्दो छिटो सबैमा घरमा खानेपानी पु¥याउने गरेर काम अघि वढाएका छौँ ।’

तस्वीर : नयाँबस्ती, सानीगारे र ढिरुवामा खानेपानी पु¥याउने हरलेखोलामा निर्माणाधिन टंकी ।

०८१ साल कार्तिकमा सम्पन्न गर्ने गरी भूमि निर्माण सेवाले ०८० बैशाखमा सम्झौता गरेको थियो । सम्झौता गरेको झण्डै चार महिनामा नै बस्तीमाथि पानी पुगेको भन्दै स्थानिय खुसी भएका छन् । समाजसेवी तथा जिल्ला समन्वय समितीका सदस्य चेतन गिरीले गाउँमा आउन लागेको पानीलाई दिगो बनाउन स्तरीय संरचना निर्माण र भैपरी आउने समस्या समाधानका लागि विपद् कोष निर्माण गरिएको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित