सल्यानमा फष्टाउँदै जडिबुटी खेती : अधिकांश भारत निकासी

डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाबाट आर्थिक वर्ष २०७९/०८० मा नौ लाख ८७ हजार ९७ किलो जडिबुटी निकासी भएको छ । राष्ट्रिय वनबाट संकलन भएको चार लाख ४१ हजार एक सय पाँच किलो र निजी आवादीबाट संकलन भएको पाँच लाख ४५ हजार नौ सय ९२ किलो जडिबुटी जिल्लाबाट निकासी भएको हो ।

सल्यान, ३ भदौँ ।

सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषकहरु जडीबुटीबाट राम्रो आम्दानी हुने भएपछि अन्नबाली मासेर जडीबुटी खेतीतर्फ लागेका हुन् ।

टिमुर, रिठ्ठा, तेजपातलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले कृषकले यसको खेतीलाई थप विस्तार गर्दै लगेका छन् । प्राकृतिकरूपमा वनजंगलमा पाइने टिमुर, रिठा, तेजपात आदि कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जनको गतिलो माध्यम बनाएका छन् । जडीबुटीका विषयमा विभिन्न निकायबाट ज्ञान, प्राविधिक तथा आर्थिक सहयोग समेत गरेपछि कृषकहरु झन् जडिबुटी खेतीतर्फ उत्साहित भएका हुन् ।

शारदा नगरपालिका–७ कजेरी लेखका मदन रोकाले वर्षौंदेखि टिमुर खेती गर्दै आउनुभएको छ । उहाँसँग अहिले दुई सय ५० बढी टिमुरका बोट छन् । टिमुर र सुन्तला गरेर १३ रोपनी जग्गामा खेती गर्दै आएको र कान्ला तथा बारीका डिलको उपयोग गरेर टिमुर खेती गर्नुभएको छ । रोकाले गत वर्ष मात्रै एक लाख रुपैयाँको टिमुर बेचेर आम्दानी गर्नुभएको छ ।

‘टिमुर राम्रो उत्पादन हुन्छ, गएको वर्ष टिमुर फलेको थिएन, थोरै थियो, करिब दुई क्वीन्टल उत्पादन भयो, ५५ हजार रुपैयाँ प्रतिक्वीन्टल बिक्री गरेको हुँ, फल धेरै लागेको बेला आम्दानी धेरै हुन्छ’– उहाँले भन्नुभयो– ‘विदेश जानु परेको छैन, घरखर्च यसैबाट चलेको छ ।’ वनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाकी पविदेवी डाँगीले पनि दशकयता टिमुर खेती गर्दै आउनुभएको छ । बारीका डिल र कान्लामा गरेर एक सय ५० बोट टिमुर रोप्नुभएको छ । टिमुर बिक्रीबाट नै घर खर्च चलाउँदै आएको उहाँको भनाइ छ ।

तर बजार भाउ स्थिर नहँुदा समस्या भएको उहाँले बताउनुभयो । ‘४/५ वर्ष पहिले त टिमुर राम्रो फल्थ्यो, मैले आठ क्वीन्टल टिमुर एकै वर्ष बेचेकी हुँ‘ तर अहिले मौसममा परिवर्तन आयो, खडेरी धेरै हुन्छ, बोट सुक्न थालेका छन्’– डाँगीले भन्नुभयो– ‘पुराना बोटले कम उत्पादन दिन्छन्, गएको वर्ष डेढ क्वीन्टल टिमुर बिक्री भएको हो ।’ फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि टिमुरको फल संकलन शुरु हुन्छ । यहाँका स्थानीयले उत्पादन गरेको टिमुर स्थानीय व्यापारीले नै खरिद गर्दै आएका छन् ।

एकै वर्षमा नौ लाख किलो जडिबुटी निकासी

डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाबाट आर्थिक वर्ष २०७९/०८० मा नौ लाख ८७ हजार ९७ किलो जडिबुटी निकासी भएको छ । राष्ट्रिय वनबाट संकलन भएको चार लाख ४१ हजार एक सय पाँच किलो र निजी आवादीबाट संकलन भएको पाँच लाख ४५ हजार नौ सय ९२ किलो जडिबुटी जिल्लाबाट निकासी भएको हो ।

जिल्लाबाट सबैभन्दा बढी रिठा निकासी भएको छ । राष्ट्रिय वनबाट दुई लाख ५० हजार किलो र निजी आवादीबाट तीन लाख ६० हजार तीन सय किलो गरेर छ लाख १० हजार तीन सय किलो निर्यात भएको छ । यस्तै राष्ट्रिय वनबाट ९१ हजार किलो र निजी आवादीबाट एक लाख ५५ हजार २७ किलो टिमुर निकासी भएको छ भने तेजपात राष्ट्रिय वनबाट ८५ हजार किलो र निजी आवादीबाट ३० हजार छ सय ६५ किलो निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । सल्यानबाट घोडताप्रे, तिगेडी, अमला, चुथ्राको डाँठ र बोक्रा, काउलोको बोक्रा, गोकुलधुप, पाखनवेदलगायतका जडिबुटी संकलन र निकासी हुने गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाबाट छ लाख ७५ हजार ८९ किलो जडिबुटी निकासी भएको थियो भने २०७७/०७८ मा सात लाख ७५ हजार एक सय ७४ किलो जडिबुटी निकासी भएको छ । जिल्लाबाट ठूलो परिमाणमा जडिबुटी निकासी हुँदा २२ लाख ४८ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालयका प्रमुख जीतेन्द्र महतले जिल्लामा जडिबुटी खेतीको सम्भावना राम्रो भएको बताउनुभयो । उहाँले कृषकलाई जडिबुटी खेतीमा प्रोत्साहित गर्न कृषि वन कार्यक्रम र जडिबुटी विकास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

सल्यानको जडिबुटी भारत निकासी

सल्यानको शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिकासँगै छत्रेश्वरी गाउँपालिकालगायतका क्षेत्रमा सबैभन्दा बढी टिमुर उत्पादन हुन्छ । यस्तै त्रिवेणी र छत्रेश्वरी गाउँपालिका तथा बागचौर नगरपालिकाबाट बढी मात्रामा रिठा उत्पादन हुने गरेको छ भने वनगाड कुपिण्डे नगरपालिकासँगै कुमाख, दार्मालगायतका क्षेत्रबाट चुथ्राको बोक्रा र कालीमाटी, त्रिवेणी, कपुरकोट गाउँपालिकालगायतको क्षेत्रबाट तेजपात संकलन हुने गरेको छ ।

डिभिजन वन कार्यालयका सहायक विजय पुलामी मगरले जिल्लामा उत्पादन भएको अधिकांश जडिबुटी भारत निर्यात हुने गरेको बताउनुभयो । ‘केही मात्रामा काठमाडौं, वीरगञ्जलगायतका क्षेत्रमा जाने गर्दछ भने बाँकी सबै नेपालगञ्ज हुँदै भारत निकासी हुन्छ’– उहाँले भन्नुभयो । जसमा टिमुर मसलासँगै आयुर्वेदिक औषधिमा प्रयोग हुन्छ । यस्तै रिठा साबुन बनाउन, दालचिनी पुलाउ बनाउन, चोथ्राको बोक्रा रंग बनाउन तथा अन्य जडिबुटी मसलालगायतमा प्रयोग गरिन्छ ।

उहाँले जिल्लामा उत्पादन भइरहेको जडिबुटीको बबजारीकरणमा कुनै समस्या नभएको बताउनुभयो । जडिबुटी खेतीमा प्रोत्साहित गर्न निःशुल्करुपमा टिमुर, रिठा, तेजपातलगायत प्रजातिका विरुवा कृषकहरुलाई उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित